आइतवार, फाल्गुन २०, २०८०

नेपालमा भित्रियो ‘भाइटाभेक्स–२००’ नामक विषादी

काठमाडौंँ । रासायनिक विषादी प्रयोगलाई न्यूनिकरण गर्दै लैजाने भन्ने कृषि विकास मन्त्रालयको नीति रहेको छ । तैपनि नेपालमा रासायनिक विषादी भित्रन भने छाडेको छैन । नेपालमा भित्रन लागेको रासायनिक विषादी भारतले गरेको अघोषित नाकावन्दीका कारण लामो समयदेखि वीरगन्ज सुख्खा बन्दरगाहमा थन्किएर बसेको थियो । त्यही थन्किएर बसेको गहुँका लागि प्रयोग हुने भाइटाभेक्स–२००’ नामक विषादी नेपाल भित्रिएको छ । प्रमुख खाद्यन्न बाली गहुँको बीउमा प्रयोग गरिने विषादी भाइटाभेक्स–२०० भारतको अघोषित नाकाबन्दीका कारण वीरगन्ज नाकामा ५० दिनदेखि थन्किएको थियो ।VITAVAX-200-FS
गहुँबाली लगाउने मुख्य समय लागिसक्दा पनि मल अभावका कारण किसानहरुले गहुँ लगाउन सकिरहेका छैनन् । यही मेलो मेसोमा सुख्खा बन्दरगाहमा रोकिएको रासायनिक मल १२० मेट्रिक टन र भाइटाभेक्स विषादी १६ मेट्रिक टन नेपाल भित्रिएको कृषि विकास मन्त्रालयका सह सचिव डा सुरोज पोखरेलले जानकारी दिएका छन् । नेपालमा गहुँ तथा जौ लगाउने याममा सरकारले १६ मेट्रिक टन भाइटाभेक्स भारतबाट आयात गर्ने गरेको थियो ।
गहँु तथा जौ बालीका लागि ९२ हजार मेट्रिक टन रासायनिक मल र सात हजार ५०० मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । सरकारले यस वर्ष प्रायः किसानलाई पुग्ने गरी अनुदानको बीउ वितरणको व्यवस्था मिलाएको पोखरेलले जनाए । नेपाली माटोमा मिल्दोजुल्दो २० थरी जातका गहुँको बीउ कृषि अनुसन्धान परिषद् (नार्क)ले खेती गर्नहुने गरी सिफारिस गरेको समेत उनले जनाए ।

प्रकाशित मिति: सोमवार, मंसिर ७, २०७२