शनिबार, फाल्गुन १२, २०८०

अनुदान रकम गलत ठाउँमा गएको छैन

lok natha
डा.लोक नाथ पौडेल
वरिष्ठ पशु विकास अधिकृत
पशु उत्पादन निर्देशनालय

0 यहाँहरुले युवालाई लक्षित गरी पशु उत्पादनमा जोड दिईरहनु भएको छ, कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
पशुपालनलाई हालको निर्वाहमुखीको अवस्थाबाट व्यवसायिकतामा नलगेसम्म यस पेशाबाट आशा गरेजस्तो आम्दानी प्राप्त गर्न सकिदैन । यस क्षेत्रमा लागेका र लाग्न चाहेका कृषकहरुलाई उनीहरुले अपेक्षा गरेजस्तो आम्दानीको सुनिश्चितता दिननसकेसम्म पशुपालन व्यवसायमा दीगो रुपमा लागि पर्ने व्यवसायीहरु पाउन कठिन हुन्छ । त्यसैमा पनि नेपालका युवाहरु जसमध्ये अधिकांश बेरोजगार वा अर्धबेरोजगार छन्, जसले वर्तमानमा विदेश पलायन भै आय आर्जन गर्न सकिन्छ भन्ने सोंच राखेका छन्, उनीहरुलाई पशुपालनको क्षेत्रमा ल्याउनु आजको एक आवश्यकता पनि होभने यो एक ठूलो चुनौती पनि हो । यसै यथार्थतालाई जोड दिएर कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालयले विगत केही वर्षदेखि र खास गरी विगत ३ वर्षदेखि युवालक्षित व्यवासायिक गाईभैंसीपालन, बंगुर र बाख्रा प्रवद्र्धन कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी सञ्चालनमा ल्याएको छ । व्यवासायिकताका हिसाबले सम्भाव्य जिल्लाहरु छानी यस आ.व.मा पनि ४५ जिल्लाहरुमा व्यावसायिक गाईभैंसीपालन, २० जिल्लामा बंगुर प्रवद्र्धन र ६३ जिल्लामा बाख्रा प्रवद्र्धन कार्यक्रमहरु १८ देखि ५० वर्षभित्रका युवाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको छ । विगतका दुई आर्थिक वर्ष (०७०/७१ र ०७१/७२) हरुमा सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक कृषकहरु निकै नै प्रोत्शाहित भएको, कार्यक्रमको मर्म अनुसार नै विभिन्न क्रियाकलापहरु सञ्चालन भै सम्पन्न भै रहेका र कार्यक्रमको उद्देश्य प्राप्तीको दिशामा पूर्ण सफलता प्राप्त भएकोले पशु उत्पादन निर्देशनालयले यो वर्ष पनि यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी कार्यक्रमहरु अगाडी बढाएको छ ।
0 युवाहरुलाई पशुपालनतर्फ आकर्षण गर्न त गाह्रो होला नि ?
हो, आजका युवाहरुको सोंच, उद्देश्य र कार्यशैली पहिलेको भन्दा फरक छ । अझ विदेश गएर सजिलै छोटो समयमा नै धेरै आम्दानी गर्न सकिन्छ भन्ने अपुष्ट सन्देश र सोंचका कारण कृषि तथा पशुपालनमा लाग्नुभन्दा विदेश जानुु नै ठिक हो भनी विदेशिनका लागि लामबद्ध युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्नु निश्चय नै चुनौतीपूर्ण कार्य हो । तथापी विगत ३/४ वर्षदेखि विदेश गै विदेशमै पनि कृषि तथा पशुपालनका पेशामा लागेर केही सिप सिकी आम्दानी समेत हात पारेका तर विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै देशको माटोमा पसिना बगाएमा स्वदेशमै पनि आम्दानी गर्न सकिने सोंचका साथ विदेशबाट नेपाल फर्केका युवाहरुलाई समेत आकर्षित गर्ने हिसाबले ल्याइएको “युवालक्षित व्यावसायिक गाईभैंसीपालन तथा बंगुर र बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०७१” अनुसार कृषकहरुको छनौट गर्दा यस्ता युवाहरु पनि छनौटमा परी सफल व्यवसायी भएका उदाहरणहरुले गर्दा र पशु उत्पादन निर्देशनालय लगायत सम्वद्ध निकायहरुबाट समेत व्यावसायिक पशुपालन कार्यक्रमका बारेमा व्यापक रुपमा प्रचार प्रसार भएकाले हाल आएर नेपालका युवा कृषकहरु पनि कृषि तथा पशुपालन पेशालाई अपनाउन आकर्षित भएको अवस्था विभिन्न तथ्याङ्कहरुले स्पष्ट पारेको छ । तसर्थ युवाहरुको चाहना, वर्तमानको आवश्यकता र चुनौतीलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्ने हो भने युवाहरुलाई पशुपालनको पेशामा ल्याउन त्यति कठिनाई चाहिं छैन् ।
0नेपालको राजनीतिक अस्थिरताका कारण पनि यो क्षेत्रमा आकर्षित भएका युवाहरु कृषि पेशाबाट पलायन हुन खोजिरहेका छन् भन्ने सुनिन्छ नि?
राजनैतिक अस्थिरता पनि विकासको एक बाधक हो भन्ने कुरामा सायदै दुईमत होला । कृषि तथा पशुपालन पेशामा समेत राजनैतिक अस्थिरताले गर्दा असर पारेका कुरालाई लुकाइराख्नु आवश्यक छैन् । अस्थिर नीति, सरकारको कार्यक्रममा निरन्तर परिवर्तन, प्राथमिकता क्षेत्र पहिचानमा असमानता, कृषकहरुलाई दिने सेवा, सुविधा, आदिका बारेमा पनि पटक पटक फेरबदल आउनेजस्ता कुराहरुले निश्चय नै यस पेशामा लाग्ने कृषकहरु ढुक्क भएर लाग्न सकेका छैनन् । तथापी विगत ४/५ वर्षदेखि यस क्षेत्रसँग सम्बन्धित नीतिहरु, निर्देशिकाहरु, कार्यविधिहरु र कार्यक्रमहरुका क्षेत्रमा त्यति ठूलो उतारचढाव नभएको कारणले अन्य क्षेत्रका तुलनामा कृषि क्षेत्रमा राजनैतिक अस्थिरताले खासै ठूलो प्रभाव पारेको छैन् ।
0 युवा लक्षित कार्यक्रम मन्त्रीहरुको कार्यकर्ता पोस्ने क्रियाकलाप मात्र हो भन्ने आरोप लाग्दै आएको छ नि त ? यसमा तपाइको के भनाइ छ ?
यो आरोप प्रथमतः युवालक्षित पशुपालनको कार्यक्रममा लागेको जस्तो मलाई लाग्दैन । यदि कसैले कहिंकतै यस्तो चर्चा गरेका छन् भने त्यो सरासर झुठो आरोप हो । मानवीय प्रकृति अनुसार नेपालको परिप्रेक्षमा विभिन्न क्षेत्रबाट सिफारिश भै आउनु, कुनै अमुक फार्मलाई भन्दा अर्को फार्मलाई पारिदिन भनी बेलाबखतमा फोन बज्नुलाई हामीले त्यति चर्चा नै गर्नुपर्ने विषय ठान्दैनौं । तर ती सिफारिशहरु कति लागे÷लागेनन्, छनौटमा परेका फार्महरु/युवाहरु कस्ता थिए भनेर अनुसन्धान र विश्लेषण गर्ने हो भने यी सबै आरोप र चर्चाहरु झुठा सावित हुन्छन् । विशेषगरी युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन कार्यविधि नेपाल सरकारबाट स्वीकृत भएको र यो कार्यविधि आफैमा सरल र स्पष्ट भएकोले यसमा कुनै भनसुन, सिफारिश र गुनासाका गुञ्जायस नै रहँदैनन् । कम्तिमा १ महिनाको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने, प्रमुख एफ.एम. तथा अन्य सञ्चारका माध्यमबाट प्रचार प्रसार गरी तोकिएका जिल्लामा युवाहरुबाट सम्बन्धित जिल्लामै सिलबन्दी निवेदन संकलन गरिनु, निवेदनहरु विभिन्न सरकारी निकायका प्रतिनिधिका रोहवरमा खोली प्रथम चरणको छानविन गरिनु, जिल्लामा तोकिएको समिति विशेष गरी जिल्ला पशु विकास कार्यदलबाट फार्महरुको निरिक्षण गरिनु, मूल्याङ्कन समिति (जसमा केन्द्रस्तरको प्रतिनिधि समेत रहन्छ) ले स्पष्ट रुपमा बनाएका मापदण्डलाई आधार मानी मूल्याङ्कन गर्नु, छनौट भएका कृषकका जनावरहरुको अनिवार्य विमा गर्न लगाउनु, विमित पशुहरुको संख्यालाई आधार मानी अनुदानको रकमको एकिन गरी स्वीकृत रकम कृषकहरुले खोलेको स्थानीय बैंकमा ट्रान्सफर गरिनु, रकमको सदुपयोग भए नभएको समय समयमा विभिन्न निकायहरुबाट अनुगमन निरिक्षण गरी केन्द्रमा प्रतिवेदन दिइनु, प्रस्ताव गरेअनुसारको कार्य गरेको नपाइएमा कृषकले प्राप्त गरेको रकम सरकारी बाँकीसरह असूल गरिने जस्ता प्रावधान राखिएको सम्झौता पत्रमा सम्बन्धित कार्यालय र कृषकका बिचमा द्धिपक्षिय सम्झौता हुन, अनुदान प्राप्त गरेका कृषकहरुको नाम, ठेगाना तथा सम्पर्क मोवाइल नं.समेत सबैको जानकारीका लागि सार्वजनिक गरिनु जस्ता प्रावधानहरुले गर्दा यो अनुदान रकम गलत प्रवृतिले वा गलत नियतले गलत ठाउँमा जान्छ भन्न सकिने अवस्था नै रहदैन । त्यसै गरी स्वीकृत कार्यक्रम र वजेटको अख्तियारी पशु उत्पादन निर्देशनालयले सम्बन्धित जिल्ला पशु सेवा कार्यालयहरुलाई पठाउने भएकोले निर्देशनालयको जिम्मेवारी कार्यक्रममा समन्वय गर्ने, अनुगमन र निरिक्षण गरी जिल्लाहरुलाई पृष्ठपोषण गर्ने भएकोले यो कार्यक्रम एक उदाहरणीय कार्यक्रमको रुपमा रहेको छ ।

pasuv 1pasu 2

0 तपाईहरु नेपाल दूध तथा मासुजन्य उत्पादनमा आत्मनिर्भरता हुनु पर्दछ भन्नु हुन्छ, के त्यो सम्भव छ ?
नेपालको हालको पशुजन्य उत्पादनको अवस्था, माग र आपूर्तिको अवस्था, देशको भौगोलिक अवस्थिति, उत्पादनको सम्भावना, आदिलाई मध्यनजर गरी व्यावसायिक उत्पादनमा जोड दिने होभने र उत्पादित पशुजन्य उपजहरुको बजारको निश्चितता हुने हो भने निश्चय पनि हामी दूध र मासुमा पनि (कुखुराको मासु र अण्डामा जस्तैै गरी) आत्मनिर्भर हुन सक्दछौं । हामी नेपाललाई चाहिनेजति दूध उत्पादन गर्न सक्छौं भन्ने कुरा त विगतका वर्षहरुमा सञ्चालित विशेष गरी गाई तथा भैंसीको जातीय सुधार कार्यक्रम (Dairy Cattle and Buffalo Genetic Improvement Program), पशु नश्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम (A.I. Mission), पशु आहारा विकास राष्ट्रिय अभियान कार्यक्रम (Forage Mission), खोरेत रोग विरुद्धको भ्याक्सिन कार्यक्रम (FMD Vaccination), स्थानीय स्तरमा डेरीको सञ्चालन आदिका प्रभावबाट दूधको उत्पादन बढ्न गै दूधको विदा (Milk Holiday) को चर्चा चल्नु, हालैको भारतीय अघोषित नाकाबन्दीका कारणले भारतबाट खसीबोका आयात नभएतापनि नेपालमै उत्पादित खसीबोकाहरुले दशंै तिहारमा आपूर्ति सम्भव हुनुजस्ता विषयहरुले पनि हामी दूध, फुल र मासुमा आत्मनिर्भर हुन सक्छौं भनी ढुक्कसँग भन्न सक्ने अवस्था छ । यतिमात्र हो कि हामीले उत्पादनको परिमाण (Product Quantity) मामात्र नभएर उत्पादनको गुणस्तर(Product Quality) मा पनि विशेष ध्यान दिनुपर्ने नै हुन्छ ।
वास्तव मै पशु उत्पादनलाई व्यवसायिक र आत्मनिर्भर बनाउनका लागि राज्यका तर्फबाट गरिएका कार्यहरु के के छन् ?
विगत ५/६ वर्षभित्रमै राज्यका तर्फबाट गरिएका प्रयासहरु विशेषगरी कृषि नीति, २०६१ लाई आधारमानी ल्याइएका पोल्ट्री नीति, खर्क नीति, दूध नीति, कृषि यान्त्रीकरण नीति लगायतका नीतिहरुका साथै व्यावसायिक पशुपालनका लागि पशु नश्ल सुधार कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशु विमा कार्यक्रम, श्रोत केन्द्र स्थापना कार्यक्रम, युवालक्षित कार्यक्रम, पशु खोपका अभियान कार्यक्रम, पशु आनुवाँशिकी श्रोतको संरक्षण र सदुपयोग कार्यक्रम, व्यावसायिक बाख्रा प्रवद्र्धन अभियान कार्यक्रम, बंगुर प्रवद्र्धन अभियान कार्यक्रम, घरेलुस्तरका डेरी सञ्चालन कार्यक्रम, विभिन्न अन्तरक्रियाका माध्यमबाट कृषकहरुलाई अभिमुखीकरण गरी पशुपालनका क्षेत्रमा व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने खालका कार्यक्रमहरु नै कृषि विकास मन्त्रालय, पशु सेवा विभागबाट पशुपालनलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सञ्चालित कार्यक्रमहरु हुन ।
0 अन्त्यमा, आम कृषकहरुलाई के भन्न चाहनु हुन्छ ?
आजको तपाईको जिज्ञाशा विशेष गरी युवालक्षित पशुपालन कार्यक्रममा रहेकोले यसैमा रहेर भन्नुपर्दा आम कृषक दिदीबहिनी तथा दाजुभाईहरुलाई व्यावसायिक रुपमा पशुपालनमा लाग्नुहुन अनुरोध गर्दछु । काम गर्दै जाँदा धेरै सकारात्मक कुराहरु भएतापनि केही नकारात्मक चर्चा चलेतापनि यी चर्चाहरु सही होइनन् भन्ने प्रमाण गत २ आर्थिक वर्षमा युवालक्षित कार्यक्रमबाट लाभान्वित करिब १५०० कृषक परिवारहरु नै यसका साक्षी हुनुहुन्छ । यस कार्यक्रममा कतैको भनसुन हुन्छ कि ? भनी त्यतातर्फ लाग्नुभन्दा आफैले पहिले आफैलाई एक सच्चा कृषकको रुपमा प्रस्तुत गर्नुहुन पनि अनुरोध गर्दछु । कार्यक्रमबाट अनुदान प्राप्त गरिसकेका कृषकहरुले अनुदान रकमको पूर्ण सदुपयोग (कम्तिमा तोकिएको अवधिसम्मलाई)गर्ने, व्यवसायमा प्राप्त भएको अनुदान के का लागि, कति, कहिले र कोबाट (कार्यालयको नाम) प्राप्त भएको हो सो स्पष्ट देखिने गरी फ्लेक्स वा बोर्ड बनाई आफ्नो फार्ममा राखिदिनुहुनका साथै अनुगमन र निरिक्षणमा आउनुहुने सम्वद्ध पदाधिकारीहरुलाई यथार्थ विवरण उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०७२