बिहिबार, चैत्र १५, २०८०

अनुदान माग्न आएनन् किसान

झापा, ५ मंसिर । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा आएका आयोजनाहरु भित्रको कमिशन खेलका कारण जिल्ला कृषि कार्यालहरुले प्रदान गर्दै आईरहेका सरकारी अनुदानप्रति पनि किसानहरु आकर्षित हुन सकेका छैनन् । जिल्ला जिल्लामा कृषि कार्यालयहरु माफर्तत विभिन्न कृषि खेतीगर्नका लागि अनुदान उपलब्ध गराउंदै आईरहेको भएपनि किसानलाई त्यसले आकर्षण गर्न नसक्नु भनेको राम्रो कुरा भने पटक्कै होइन ।
जिल्ला कृषि विकास कार्यालय झापाले पनि प्राङ्गारिक मल उत्पादन र बासनादार धानखेतीका लागि चालु आवमा लाखौँ रकमको अनुदान बजेट विनियोजन गरे पनि अनुदान माग्न अहिलेसम्म एक जना किसानको समेत निवेदन नपरेपछि सरकारी अनुदानप्रति किसानहरु आकर्षण हुन नसकेको कुरा पुष्टि भएको छ ।
जिल्ला कृषि कार्यालय झापाले प्राङ्गारिक मल उत्पादनमा रु ३० लाख ६० हजार र बासनादार धान तथा मकैखेतीमा रु ८७ लाख अनुदानको बजेट छुट्याएको छ । सो कार्यालयका अनुसार पहिलो चौमाकिस अर्थात साउनदेखि कात्तिकसम्मको समयमा अनुदान माग गर्न एउटा पनि निवेदन परको छैन । कार्यालयमा चालु आवमा खर्च हुने गरी किसानलाई रु दुई करोड २८ लाख १४ हजार अनुदानको कुल बजेट आएको छ ।
अन्य शीर्षकमा अनुदान लिन किसान आउने गरे पनि प्राङ्गारिक मल, धानखेतीलगायतका शीर्षकमा अनुदान लिन किसानले नै चासो नदेखाएको कार्यलयका एक कर्मचारीले बताए । सरकारले विशेष कृषि उत्पादनका लागि प्राङ्गरिक मल उत्पादन, बासनादार धान र मकैका बीउबिजनका लागि झापामा पहिलोपल्ट अनुदानको बजेट पठाएको हो । बासनादार धानअन्तर्गत बासमती धानको उत्पादन पर्दछ ।
सरकारले झापामा व्यावसायिक च्याउखेतीका लागि रु १६ लाख १८ हजार, सिँचाइका लागि रु ५१ लाख ३७ हजार र व्यावसायिक तरकारीखेतीका लागि रु ४३ लाख अनुदानको बजेट पठाएको छ ।
च्याउ, सिँचाइ, तरकारीलगायतका शीर्षकमा आएका अनुदान लिन किसान आउने गरेको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय झापामा आव २०७२÷७३ का लागि रु सात करोड १३ लाख बजेट आएको छ । कुल बजेटको लगभग एक तिहाइ बजेट अनुदानमा जाने गरेको जिल्ला कृषि कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०७२