बुधबार, बैशाख १२, २०८१

बन्दले कुखुरा व्यवसायी मर्कामा

मेलम्ची, २ मङ्सिर । नाकाबन्दीका कारण एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सिन्धुपाल्चोकको मेलम्चीका व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेका बताएका छन् ।
दाना नपाएको तथा बिक्रीका लागि बजारसम्म पु¥याउन इन्धन अभाव भएपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको उनीहरुको भनाइ छ । भूकम्पबाट प्रभावित भएको र थप खर्चपश्चात पुनःसञ्चालनमा ल्याएको भए पनि बन्द हड्तालसँगै नाकाबन्दीका कारण यो व्यवसाय झन् सङ्कटमा परेको कुखुरा व्यवसायी श्याम खड्काले बताए ।
जिल्लाभरका कुखुरा व्यवसायी धरापमा परेका छन् । जसमध्ये जिल्लाको पश्चिम क्षेत्रमा कुखुरा व्यवसाय गर्दै आएका खड्काले एक हजार कुखुरा बिक्रीका लागि तयारी अवस्थामा भएको तर, लगातारको बन्दले आहारा नपाएर खोरमै मर्न थालेको बताए । फार्ममा भएका एक हजार ५०० कुखुरामध्ये दानाको अभावमा पटक/पटक गरी ५०० भन्दा बढी मरिसकेको उनको भनाइ छ ।
“दैनिक रु आठ हजारदेखि रु १० हजारसम्म कुखुरालाई दाना, पानी र स्याहार सुसारमा खर्च लाग्छ” उनले भने– “अहिले दाना अभाव हुन थालेपछि दैनिक २० वटा कुखुरा मर्दै गएका छन् ।” लगातार भइरहेको बन्द, हड्तालले तयारी अवस्थाका कुखुरा जोगाउन नसक्दा रु पाँचदेखि रु छलाख डुब्ने अवस्थामा पुगेको खड्काले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०७२