मङ्लबार, बैशाख ११, २०८१

धानखेती छोडेर वैकल्पिक खोज्दै

हेटौंडा,  २९ कार्तिक। मकवानपुर हाँडीखोला गाउँ विकास समिति वडा नम्बर ७, मसिनेका किसान परम्परागत धान खेतीबाट आम्दानी हुन नसकेपछि माछापालन र बंगुरपालनमा लागेका छन् ।

धान खेती गर्न ज्याला महँगो पर्ने, मजदुर पाउन गाह्रो हुने तर उत्पादित धान भने कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भएकाले उनीहरु अरु पेशामा लागेका हुन्। प्रशस्त पानी, अनुकूल हावापानी र राम्रो बजार भएकाले कृषकहरु माछापालनतर्फ लागेका हुन् ।

कृषि विकास कार्यालय मकवानपुरले पोखरी निर्माणको लागि नगद अनुदान, कृषि विश्व विद्यालय रामपुर चितवनबाट माछाको भुरा र दाना सहयोग उपलव्ध गराएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

यसबाट धानबाट भन्दा चार गुणा बढी फाइदा लिन सक्ने कृषि विकास कार्यालयले जनाएको छ । घरपरिवार कै सदस्यले गर्नसक्ने, मजदुर नचाहिने हुँदा माछा र बंगुर एक साथ पालन थालिएको हो ।

माछा खरिदका लागि व्यापारीहरु घरमै आउने भएपछि बजारको समस्या नरहेको कृषकले बताएका छन् । मसिनेमा २५ घरपरिबारले अहिले १५ बिगाह जमीनमा माछापालन गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक २९, २०७२