मङ्लबार, बैशाख ११, २०८१

नेपालमा आत्मनिर्भर छ कटुस

काठमाडौं, २७ कात्तिक ।  पूर्वदेखि पश्चिमका मध्य पहाडी क्षेत्रका जंगलमा कटुस फल्ने गरेकाले आयात गर्न नपर्ने केन्द्रीय बागवनी केन्द्र कीर्तिपुरका वरिष्ठ फलफूल विकास अधिकृत द्रोणराज काफ्लेले बताए । तिहारमा अरु सामग्री आयात हुने गरेपनि कटुसमा भने नेपाल आत्मनिर्भर बनेको उनको भनाई छ ।  ।

भाइटीकाको समयमा कटुसको आवश्यकता पर्ने धार्मिक मान्यताअनुसार पनि यसको खेती गर्नुपर्ने उनको भनाई छ । कटुसको बाहिर काँडाले भरिएको भए पनि भित्र भएको फललाई भुटेर वा काँचै पनि खाने गरिन्छ । काँचो कटुसलाई बजारमा ४५ देखि ५५ रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, पर्वत बाग्लुङलगायत जिल्लामा कटुसको उच्च घनत्वको जङ्गल रहेको निर्देशनालयले जनाएको छ ।तिहारमा प्रयोग हुने धेरै कटुस वनजङ्गलबाटै ल्याइन्छ ।

मध्यपहाडी क्षेत्रका जङ्गलमा कटुस प्रशस्त मात्रामा पाइन्छ । निर्देशनालयले काठमाडौंको कीर्तिपुर, मकवानपुरको दामन र बैतडीको फार्मबाट कटुसको बेर्ना उत्पादनको काम गरिरहेको छ ।

चीन र जापानबाट ल्याइएका उन्नत जातको बिरुवा उत्पादन र वितरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय जातभन्दा पनि चीन र जापानबाट ल्याइएका आधुनिक प्रजातिका कटुसका दाना ठूला हुने भएकाले किसानको आकर्षण बढ्ने उनको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २७, २०७२