शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति पुरस्कारमा यसरी दुरुपयोग

पर्वत, कात्तिक। दलीय दवाव र कार्यालयका केहि कर्मचारीको बोलवालाका कारण राष्ट्रियस्तरका पुरस्कारहरु समेत यसरी दुरुपयोग छ । त्यतीमात्र होइन कार्यविधि, प्राविधिक मूल्यांकनसँगै व्यवसायले राष्ट्रियस्तरमा समेत योगदान पुर्‍याएको हुनुपर्ने मूल्यांकन कार्यविधिमा व्यवस्था छ । तर पर्वतमा भने व्यवसाय नै बन्द भएका फर्महरुलाई राष्ट्रपति पुरस्कार वितरण गरिएको छ ।

banda-farmसामान्यतया राष्ट्रपति पुरस्कार पाउन व्यवसायको स्थायीत्व, लगानीको सही सदुपयोग, प्राविधिक दक्षतासँगै व्यवासाय नाफामा गएको हुनुपर्छ । तीन वर्ष अघि सञ्चालनमा आएको कुश्मा नगरपालिका ९ स्थित गुप्तेश्वर गाई फर्मलाई गत वर्ष राष्ट्रपति पुरस्कार वितरण गरिएको हो । जिल्ला पशु सेवा कार्यालयले आर्थिक वर्ष ०७१ मा उक्त फर्मलाई राष्ट्रपति पुरस्कारले सम्मान गरेको थियो । चार जना युवाहरु मिलेर सञ्चालनमा ल्याएको गाई फर्मको मूल्यांकन नगरिकन छनोट गरिएको व्यवसायीहरु स्वयं स्वीकार्छन् ।

‘आफ्ना नजिकका चिनजान, कोशेली र उपहार पाएको आधारमा मूल्यांकन गरेपछि यस्तै हुन्छ,’ स्थानीय एक व्यक्तिले भने, ‘यो जत्तिको गाईजात्रे र गैर जिम्मेवारी अरु के हुनसक्छ ?’

सम्बन्धित कार्यालयले आवश्यक मूल्यांकन र प्राविधिक सुझाव नदिइकन आफ्नो फर्मलाई पुरस्कारको व्यवस्था गरेको व्यवसायी परशुराम भण्डारीले बताए । पुरस्कार दिएको निकायले पुरस्कारको महत्व नजानेको समेत कृषकहरुको भनाइ छ ।

मूल्यका हिसावले दश हजार भए पनि राज्यले गरेको सम्मानको समेत सही उपयोग हुन सकेको छैन ।  राष्ट्रपति पुरस्कार समिति पर्वतका संयोजक जिल्ला विकास समितिका कार्यक्रम अधिकृत तुलसी पौडेलले पशुसेवा कार्यालयले दिएको रिपोर्टको आधारमा पुरस्कार घोषणा गर्दा गलत व्यक्तिले पुरस्कार पाएको स्वीकार गरे ।

प्रकाशित मिति: बुधबार, कार्तिक २५, २०७२