बिहिबार, चैत्र १५, २०८०

बीउ विजन कम्पनीको धान फलेन

बाँके, २२ कार्तिक । कृषि विकास मन्त्रालयको स्वामित्वमा रहेको राष्ट्रिय बीउबिजन कम्पनीले वितरण गरेको धानमा समेत समस्या आएको छ । भूकम्प पीडितहरुलाई राहतको धानको बीउ वितरण गर्दा एफएओका कर्मचारीहरुसंग मिलेर गुणस्तरहीन धान वितरण गरेको आरोप लागेपछि त्यस बेला नै कृषि विकास मन्त्रालयले केही कर्मचारीहरुलाई कार्वाहीको लागि सिफारिस गरेको थियो । धान मन्त्रीका रुपमा चर्चामा आएका पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीको पालामा नियुक्त भएका कम्पनीका प्रवन्ध निर्देशक धर्मराज अधिकारीले कमाउने मेलो थालेपछि कम्पनीले वितरण गर्न थालेका बीउमा पनि समस्या आउन थालेको र त्यसको ज्वलन्त उदाहरणका रुपमा राम जातको धान भएको किसानहरुको आरोप छ । त्यसैका कारण नेपालगन्जले विभिन्न सहकारीमार्फत वितरण गरेको रामधान लगाएका बाँकेका कृषक अहिले ठूलो समस्यामा परेका छन् ।
नेपालगञ्जका किसानहरुल्े खेतमा लगाएको रामधान जातको धान केही पाकेको तथा केही हरियो र अनि कतै भरर्खर पसाउन थालेको देखिन्छ । धान काटेर हिउँदे बाली लगाउने बेलामा कताको काट्ने, कताको राख्ने भएको किसान दुर्गाप्रसाद थारुले बताए ।
किसानको खेतबारीमा अनुगमन गर्न पुगेका कृषि सेवा केन्द्र कोहलपुरका प्रमुख शसेन्द्र शाहीले धान कतै पसाएको कतै नपसाएको र कतै धानका बाला निस्केको पाइएको समेत बताएका छन् । उनले बाँकेको खजुरा, विनौना, फत्तेपुर, कोहलपुर, कचनापुर, खजुरा खुर्दलगायत स्थानमा रामधानमा यस्तो समस्या देखा परेको बताए ।

प्रकाशित मिति: आइतवार, कार्तिक २२, २०७२