आइतवार, फाल्गुन २०, २०८०

उत्पादित बस्तुलाई जोगाउने कुरा प्राथमिकतामा परेन

sawanam siwakotii

० भूकम्प पछाडि खाद्य सुरक्षाको दृष्टिकोणले पोष्ट हार्भेष्टको अवस्था कस्तो रहेको छ ?
भूकम्प पछाडिको अवस्थामा धेरै जसो किसानहरुको खाद्यान्नका लागि भण्डारण गरिएका र आगामी बालीका लागि सुरक्षित गरिएका बीउहरु समेत नष्ट भएको अवस्था थियो । त्यसले गर्दा त्यो बेलामा मात्र होइन आगामी बालीलाई समेत असर पर्ने देखिएकाले त्यसो हुन नदिन भूकम्प पश्चात राहतको कार्यक्रमहरु प्रस्ताव गरियो । जसरी हुन्छ बीउ जोगाउने र अव उप्रान्त बीउ हार्भेष्ट हुने बालीहरुलाई पनि जोगाउने किसिमले कार्यक्रम प्रस्ताव गरिएको थियो । तर जुन कार्यक्रम प्रस्तावमा थिए ती कार्यक्रमहरु आउन सकेन । तर आगामी आर्थिक बर्षका लागि पनि त्यसलाई नै लक्षित गरेर कार्यक्रम तय गरिएको छ ।
० खाद्य सुरक्षा भन्दा पनि बीउ जोगाउने कार्यक्रम आएको हो ?
त्यो पनि केही मात्रामा हो । किनभने एउटा खाद्यान्नले तत्काललाई असर गर्ने कुरा भयो । यदि बीउको सुरक्षा गर्न सकिएन भने आगामी बालीलाई नै पूर्ण रुपमा असर पर्ने गर्दछ । बीउ भनेको तत्कालै जुटाउन सकिने कुरा होइन । त्यसको परिमाण र गुणस्तरको कुराको कारण पनि हो । तुरुन्तै हामीले अन्यत्रबाट बीउ उपलब्ध गराउन नसक्ने भएकाले किसानहरुलाई किसानहरुकै स्तरबाट बीउ सुरक्षित गर्न, किसानबाट किसानकै लागि जुन हाम्रो परम्परा पनि रहेको छ । यसले खाद्य सुरक्षाका दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पोष्ट हार्भेष्ट निर्देशनालय त्यसतर्फ सक्रिय भएर लागेको अवस्था छ ।
० तर किसानहरुलाई भण्डारणका लागि ठूलो चुनौति छ नि त ?
मुख्यतया किसानहरुले हार्भेष्टिङ्ग भन्दा अगाडिको अवस्थादेखि नै यसलाई हेर्नु पर्ने हुन्छ । हार्भेष्टिङ्गभन्दा अगाडि पनि कतिपय रोगहरु, किराहरुका कारणले समस्या आएको हुन सक्छ । त्यसले पनि गुणस्तरमा असर गर्ने भएकाले हार्भेष्टिङ्ग भन्दा अगाडि नै कसरी त्यसलाई व्यवस्थापन गरिएको छ भन्ने कुरालाई विचार गर्नु पर्ने हुन्छ । त्यसका लागि विभिन्न कार्यालयहरु छन् । जिल्ला कृषि कार्यालयहरुले पनि त्यसका लागि काम गरिरहेका छन् । कतिपय अवस्थामा तरीकाहरु नपुग्दा वा ढुवानी गर्ने साधनहरु नहुंदा पनि समस्या आएका हुन्छन् । किसानहरुले बीउ वा सुरक्षित गर्नका लागि विगतमा पनि मेटल विनहरु उपलब्ध गराइएको थियो । त्यो खाद्यान्नहरु लामो समयसम्म भण्डारण गर्नका लागि भनेर आएको थियो । अव खाद्यान्न मात्र नभएर बीउ पनि जोगाउनु पर्ने बेला आएको छ । त्यसका लागि सुकाउने प्रविधिहरु केही विकास भएका छन् । भने बीउ सुरक्षित गर्न मेटल वीन तथा हार्भेष्टिङ्ग व्यागहरुको प्रयोग यिकसानहरुले गर्न थालेको देखिन्छ । यस्ता उपकरणहरुको मद्दतले किराहरुको प्रकोप न्यूनिकरण गर्न सकिन्छ भने गुणस्तर बढाउन पनि मद्दत पुग्छ ।
० किसानहरुले उत्पादित कृषि उपजहरु लामोसमयसम्म भण्डारण गर्न नसक्दा नै उचित मूल्य पाउन नसकेको हो भन्छन् नि ?
त्यस कुरामा म सहमत छु । त्यसकारण नै हामीले किसानहरुका लागि लामो समयसम्म भण्डारण गर्न सक्ने गरी भण्डारणका लागि सामानहरु पनि उपलब्ध गराउंदै आएका छौं । यद्यपी त्यो काम हाम्रो निर्देशनालयले नगर्ने भएको भएपनि किसानहरुको घरदैलोमा पुगेर कसरी लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ, कस्ता खाले ामग्रीहरु चाहिन्छ भन्ने जानकारी गराउने काम गर्दै आएका छौं । तर मुख्य कुरा के हो भने किसानहरुले उत्पादित उपजहरु भण्डारण गरेर राख्ने भन्दा पनि उत्पादन हुनासाथ विक्री गर्ने गरेका कारण पनि उचित मूल्य पाउन सकेका छैनन् । कतिपय किसानहरुले वाध्यतामा पनि तत्काल बेच्नु पर्ने अवस्था पनि छ । भण्डारण गरेर लामो समय राख्ने र मूल्य धेरै आउदा बेच्नका लागि पनि गुणस्तरका कारणले किसानहरुले सक्ने देखिएको छैन ।
ss० मूल्य नआउदासम्म भण्डारण गरेर राख्ने चेतनाको कमी पनि छ नि ?
त्यो केही हदसम्म छ । तर, अहिलेको प्राथमिकता जिल्लादेखि केन्द्रसम्म भनेको कसरी हुन्छ उत्पादनमा बृद्धि गर्ने र किसानहरुको आम्दानी बढाउने भन्ने नै हो । भण्डारण गरेर राख्दा पछि मूल्य बढी आउछ भन्ने कुरा किसानहरुमा जानकारी छ । उहांहरुको वाध्तया र तत्काल अर्को बालीका लागि लगानी गर्नु पर्ने भएकाले पनि तत्काल बेच्ने परिपाटी छ ।
० त्यसो भए पोष्ट हार्भेष्टले गर्ने प्राथमिकताका काम के हो ?
पोष्ट हार्भेष्ट निर्देशनालयको मुख्य काम भनेको प्रविधिको विकास गर्ने नै हो । नार्कसंग समन्वय गरेर प्रविधिको विकास गर्ने काम पनि गरिरहेका छौं । कुनै समस्या आयो त्यसलाई पोष्ट हार्भेष्ट लामो समयसम्म राख्न नसकिने अवस्था आयो भने त्यसलाई सुधार गर्ने पक्षमा काम गर्ने हो । नेपालमा हेर्दा खाद्य सुरक्षाको कुरा धेरै गर्दछौं, उत्पादन बृद्धि गर्ने कुरामा महत्व दिईरहेका छौं । तर उत्पादन भईसकेपछि त्यसलाई कसरी जोगाउने भन्ने कुरामा अझ पनि प्राथकिमतामा परेको छैन । त्यो प्राथमिकताका लागि किसानसम्म पु¥याउने काम पनि हामीले गरिरहेका छौं । उत्पादित बस्तुको क्षति कम कसरी गर्ने त्यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरालाई प्राथमिकताका दिएर हामी अगाडि बढिरहेका छौं ।
० कृषि मन्त्रालयदेखि सरोकारवाला निकायहरु समेत उत्पादन बृद्धिका कुरा गर्दछन् तर सुरक्षित गर्ने कुरा किन गर्दैन त ?
उत्पादन एउटा पाटो हो तर उत्पादित बस्तुको गुणस्तर सुरक्षित गर्ने र उचित भण्डारण गर्ने र खाद्यबस्तु खेर जान नदिने कार्यलाई कम गर्न सक्नु पर्दछ भन्ने कुरा आईरहेको छ । त्यो सन्देशलाई हामीले पनि त्यत्ति महत्व दिन नसकेका कारणले गर्दा यसले जति महत्व पाउनु पर्ने हो त्यो नपाएको हुन सक्छ । अहिले हामीले उत्पादनको कुरा गर्दा पोष्ट हार्भेष्ट तर्फ त्यत्ति अनुसन्धान गरिएको देखिंदैन । अनुसन्धान गर्ने जिम्मेवारी नार्कको भएपनि पोष्ट हार्भेष्टको काम छरिएको कारणले त्यसले सार्थकता पाउन सकेको छैन । हामीले केही प्रविधि विस्तार गर्ने र उपकरण सामग्री वितरण गर्ने काम सम्वन्धित बाली सम्वन्धित कार्यक्रमहरु पनि गरिरहेका छन् । छरिएर रहेका कारण पनि एकीकृत रुपमा सन्देश जान सकेको छैन ।
० त्यसो भए समस्या के हो त ?
वास्तवमा भन्ने हो भने पोष्ट हार्भेष्टको महत्व धेरै नै छ । पोष्ट हार्भेष्टलाई कुनै हालतमा पनि नकार्न सकिंदैन । त्यो कुरालाई नीतिगत रुपमा नै ल्याउने काम गर्नु पर्दछ । पोष्ट हार्भेष्टको क्षेत्र अलि कम महत्वमा परेका कारण पनि यसका समस्यालाई पनि ठूलो विषयबस्तु बनिरहेका छैनन् । तर उत्पादन र पोष्ट हार्भेष्टलाईसंगै लिएर जान सक्यो भने धेरै नै उपलब्धि हुन्छ । महत्वपूर्ण समस्या भनेको यो निर्देशनालयमा दरवन्दी नै पूरा छैन । यो विज्ञानमा आधारित कार्यक्रम भएको हुनाले पनि अलिकति विज्ञहरुको अभाव देखिन्छ । पोष्ट हार्भेष्टको अध्ययन र अनुसन्धानका लागि मान्छे नै छैन । पछिल्लो समयमा विभिन्न संस्थाहरुले पनि पोष्ट हार्भेष्टमा काम गर्न थालेका छन् ।
० आम किसानहरुलाई के भन्न चाहनु हुन्छ त ?
आफ्ना कृषि उपजहरुको सुरक्षा कसरी गर्न सकिन्छ । रोगकिराबाट न्यूनिकरण गर्न के गर्नु पर्दछ भन्ने कुराका लागि किसानहरु जिल्ला कृषि कार्यालयहरुमा गएर बुभ्mनु अनिवार्य छ । उत्पादित उपजको गुणस्तरता कायम गर्ने कुरामा अलि बढी चासो लिनु आवश्यक छ । हामीले केही प्रविधि विकास गरिसकेका छौं । त्यस्ता प्रविधिहरुलाई प्रयोग गर्ने र त्यसबाट बढी भन्दा बढी फाइदा किसानहरुलाई लिनु हुन अनुरोध गर्दछु । – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, कार्तिक २२, २०७२