बिहिबार, बैशाख १३, २०८१

दाङ्गका किसानलाई धान काट्ने चटारो

दाङ, १८ कात्तिक । तिहार नजिकिदै गर्दा दाङका किसानलाई यतिखेर धान काट्ने चटारो परेको छ ।
अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानैदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् । जिल्लाका केही स्थानमा किसानले दसैंै अगाडि धान काट्न सुरु गरे पनि अहिले भने जिल्लाका प्रायः सबै ठाउँमा धान काट्न थालेका छन् ।
यतिखेर बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न त कतै धान दाइँ गर्न लागेका देखिन्छन् । बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ५ बजे मात्र घर फर्कने गरेको तुलसीपुर नगरपालिका–१२ टरिगाउँमा धान काट्दै गरेकी सवित्रा भण्डारीको भनाई रहेको छ ।

केहिदिन अगाडि परेको पानीले धेरै ठाउँमा काटेको धानमा नोक्सानी पु¥यायो त्यसैले अहिले चाँडै घरमा धान भित्र्याउनको लागि धान काट्न व्यस्त छौँ उनले भनिन् ।
जिल्लाको ३९ हजार हेक्टर जग्गामा धानखेती हुने गरेकामा यसपालि भने ३८ हजार हेक्टर जग्गामा मात्र धानखेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बढ्दो सहरिकरणका कारण खेतीयोग्य जमीन प्लटिङ गरेर घडेरीमा बिक्री गर्नु र केही आकासेखेतीका भरमा खेती हुने ठाउँमा पानी नभएका कारण धानखेती गर्न नसक्दा कम क्षेत्रफल जग्गामा धानखेती गरिएको हो ।

प्रकाशित मिति: बुधबार, कार्तिक १८, २०७२