शुक्रबार, बैशाख ७, २०८१

जुम्लाका पशुमा खोरेत

जुम्ला, १३ कात्तिक । चिसो बढ्दै गए पनि जुम्लाका अधिकांश गाविसका पशुमा खोरेत रोगको सङ्क्रमण बढ्दो अवस्थामा देखिन थालेको छ ।
खोरेत रोगको सङ्क्रमणबाट सदरमुकामको दक्षिण पश्चिममा पर्ने रारालिही, कुडारी, मालिकाठाँटा, घोडेमहादेव, ताम्ती, तातोपानीसहित पूर्वी चौधबीस भेगका छुमचौर, पातारासी, डिल्लीचौर पटमारा र गुठीचौर गाविसका करिब ५० प्रतिशत पशु थलिएका छन् । खेतका गह्रा जोत्ने गोरु नै थला परेपछि हिउँदे मौसमको जौ तथा गहुँ बाली लगाउन कठिनाइ हुनेमा किसान चिन्तित छन् ।
जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त वरिष्ठ पशु विकास अधिकृत गोविन्दबहादुर महतले पशुमा देखिएको खोरेत रोगमा चिन्ता नलिन किसानलाई सुझाव  दिएका छन् ।
अधिकृत महतका अनुसार पिकोर्ना भाइरस ग्रुपअन्तर्गत रिनो भाइरसका कारणले यो रोग लाग्ने गर्छ । मरेको पशुको हड्डीभित्र रिनो भाइरसले डेरा जमाएर बसेको खण्डमा बर्सेनि यो रोग देखापर्छ ।
वर्षैपिच्छे लाग्ने यो रोग अत्यन्तै जटिल नभएकाले पशुको खुट्टा र मुखको सरसफाइमा ध्यान दिन र पशु स्वास्थ्य प्राविधिकको सल्लाहअनुसार काम गर्न अधिकृत महतले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १३, २०७२