गोरखा,कार्तिक । मानो रोपेर मुरी फलाउने आशामा रहेका किसानहरुको खेतमा धान काट्ने बेला आएप्छि धानका बोटमा बाला नलाग्दा किसानहरु चिन्तामा परेका छन् । भूकम्प प्रभावित जिल्ला मध्ये सवैभन्दा बढी प्रभावित जिल्लाका रुपमा रहेको गोरखा जिल्लाका भूकम्प पीडित किसानहरुलाई विभिन्न संस्थाहरुले जिल्ला कृषि विकास कार्यालय गोरखासँग समन्वय गरी धानको वीउ बाँडेको थियो । धानको बीउ वितरण गर्दा नै गुणस्तरहीन धानको बीउ वितरण गरेको विषयमा कृषि अनलाईनले खवरदारी गरिरहँदा समेत किसानहरुलाई धानको बीउको नाममा चामलका लागि प्रयोग गर्न लागिएका एवं गुणस्तरहीन धानको बीउ बाँडिएका कारण यतिखेर धान भित्र्याउने धानमा बाला नलागेपनि किसानले धान काटेर पशुचौपायालाई खुवाएका छन् ।
भूकम्पले घर भत्कँदा किसानसँग धानको बीउ नभएको भन्दै जिल्ला कृषि विकास कार्यालयलाई साक्षी राखेर एफएओ लगायत विभिन्न संघसंस्थाहरुले राम धान, सुखानी, सावित्रीलगायत जातको बीउ निःशुल्क बाँडेको थियो । त्यसबेला थोरै खेत भएका किसानले एक पाथीका दरले र धेरै खेत भएका किसानले नौ पाथीसम्म धानको बीउ लिएका थिए ।
कृषिले सिट्टैमा दिएको धानमा एउटै बाला नलागेको सिम्जुङ्ग गाविस–४ की किसान कमला दवाडीले गुनासो गरिन् । कर्मचारीले धानको बीउ राम्रो हो, धेरै फल्छ भनेका थिए तर फलेन । धानमा बाला लाग्ने आश मरेपछि धानको बोट काटेर पशुचौपायालाई घाँस खुवाएको उनले बताइन् ।
धानमा बाला नलागेपछि किसानहरुले छ महिना लगाएर गरिएको मेहनत बालुवामा पानी जस्तै भएको छ । भूकम्प पीडितहरुलाई गुणस्तरयुक्त धानको बीउ भन्दै गुणस्तरहीन बीउ बाँड्ने संघसंसस्थालाई कृषि विकास मन्त्रालयले कार्वाही गर्ला हेर्न वाँकी छ । त्यत्तिमात्र होइन छ महिनासम्म किसानहरुले गरेको मेहनतको क्षतिपूर्तिसमेत ती संस्थाहरुलाई तिर्न मन्त्रालयले वाध्य पार्नु आवश्यक छ ।
राहतको बीउले धान फलेन, किसानलाई क्षतिपूर्ति कसले दिने

Add Comment