शुक्रबार, बैशाख ७, २०८१

२८ हजार खसीबोका, च्यांग्रा बिक्री

काठमाडैं, ३ कार्तिक।  घटस्थापनायता उपत्यकामा २८ हजारभन्दा बढी खसीबोका/च्यांग्रा बिकेका छन् । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघले उक्त परिमाणमा खसीबोका/च्यंग्रा बिक्री गरेका हुन् । खाद्य संस्थाले शुक्रबारदेखि खसीबोका र च्यांग्रा बेच्न सुरु गरेको थियो । संघले भने घटस्थापनादेखि नैबिक्री सुरु गरेको थियो ।  cyangraखाद्य संस्थानका प्रवक्ता श्रीमणि खनालका अनुसार चार दिनमा ४ सय ९२ च्यांग्रा र ४ सय ४५ खसीबोका बिक्री भइसके । दसैंका लागि खाद्य संस्थानले २ हजार ५ सय खसीबोका भित्र्याउने लक्ष्य राखे पनि तराई बन्द र आन्दोलनले सीमित मात्रामा मात्रै आयात गरेको थियो । खसीबोका संकलनमा समस्या भएपछि संस्थानले ४ सय ८१ वटा मात्रै खसीबोका उपत्यका ल्याएको जनाएको छ ।

‘संकलनमा समस्या भएपछि लक्ष्यअनुसार आयात गर्न सकेनौं,’ खनालले भने । खसीबोका संकलनमा समस्या भएकाले पहिलो पटक च्यांग्रा आयात गरेको संस्थानले जनाएको छ । खनालका अनुसार मुस्ताङबाट ६ सय ९१ वटा च्यांग्रा उपत्यकामा ल्याइएको छ । चोथौ दिनसम्म ४ सय ९२ च्यांग्रा बिकिसकेका छन् । ‘तराईमा आन्दोलन र इन्धन समस्याले साचेजति ल्याउन सकेनौं,’ उनले भने, ‘तराईबाट संकलनमा समस्या भएपछि च्यांग्रामा जोड दियौं ।’ संस्थानले थापाथलीमा रहेको गोदामबाट बिक्री गर्न थालेका जिउँदा खसीको मूल्य २५ केजीसम्मको प्रतिकेजी ४ सय ३५ रुपैयाँ तोकेको छ । २५ केजीभन्दा माथिका प्रतिकेजी ४ सय ४५ रुपैयाँमा बिक्री गर्दै आएको प्रवक्ता खनालले बताए । संस्थानले अघिल्लो वर्ष ४ सय २५ रुपैयाँमा खसीबोका बिक्री गरेको थियो ।   काठमाडौंमा ल्याइएका खसीबोकाको ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण गरेको संस्थानले जनाएको छ । दसैंको बेलो खसीबोकाको माग बढ्ने हुँदा त्यसको मौका छोपी केही व्यवसायीहरूले कालोबजारी गर्ने गरेका छन् ।   व्यापारीले खसीबोका खरिद गरी मनपरी ढंगले बजारमा बिक्री गर्ने हुँदा बजार मूल्य अनियन्त्रित हुन नदिन धेरै सहयोग पुग्ने संस्थानले दाबी गरेको छ । तर, तराई क्षेत्रको आन्दोलनले समस्या भएको संस्थानको ठहर छ । खसीबोका बाँके, सुर्खेत, सिराहा, मकवानपुरलगायत जिल्लाबाट उपत्यका भित्रिन्छन् । संस्थानले खसीबोका बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने खनालको दाबी छ ।  ‘अहिलेको विशेष परिस्थितिका बाबजुद क्षमताअनुसार खसीबोका ल्याएका छौं,’ उनले भने, ‘संस्थानले बिक्रीमा राखेका खसीबोका व्यवसायीको भन्दा सस्तो छ ।’

संस्थानले अघिल्लो दसैंमा पनि ३ हजार ५ सय खसीबोका भित्र्याउने जनाएको थियो । तर, करिब ५ सय वटा मात्रै बिकेका थिए ।  स्वदेशी उत्पादनसँगै व्यवसायीहरूले भारतबाट पनि खसीबोका आयात गर्छन् । भारतको लखनउ, बहराइचलगायत स्थानबाट करिब ७५ प्रतिशत आयात हुन्छ । बाँकी भने स्थानयि जिल्लाबाट भित्राइन्छ । चौपाया संघका अनुसार घटस्थापनायता करिब २७ हजार खसीबोका बेचिएका छन् । ‘उपभोक्ताको मागअनुसार थप ल्याउने प्रयासमा छौं,’ सघका अध्यक्ष दीपक थापाले भने ।  अघिल्लो वर्ष संघले राजधानीमा ४५ हजार खसीबोका बेचेको थियो । थापाका अनुसार इन्धन अभावले गर्दा ढुवानीमा समस्या भयो । ‘भूकम्प र इन्धन अभावले गत वर्षको तुलनमा ल्याउन सकेनौं,’ उनले भने, ‘तर, मागअनुसार ल्याउने प्रयत्न गरिरहेका छौं ।’ खसीबोका किन्ने ग्राहकको चाप बढ्दै गएकाले थप बिक्री हुने उनले बताए । संघका अनुसार खसी मुख्यत: फुलपातीदेखि अष्टमीसम्म खरिद बिक्री हुन्छ । व्यवसायीहरूले किलोको ४ सय ६५ रुपैयाँ बिक्री गरेका छन् । च्यांग्रा ६ सय ५० मा बिक्री भएको छ । – राजु चौधरी

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३, २०७२