मङ्लबार, बैशाख ११, २०८१

कोही डोहोर्याएर हिँड्छन्, कोही उचालेर मात्र फर्कन्छन्

काठमाडौं, कात्तिक । शहर बजार, गाउँघर जताततै दसैंले छोइसकेको छ । मिठो मसिनो खाने चाड भएकाले पनि दशैंमा मासु अनिवार्य जस्तै मानिन्छ । त्यसैले मासुका लागि खसीबोका, भेडा च्यांग्रा, हाँसकुखुराको जोहो गर्नुपर्छ ।khasi with chayngar

काठमाडौं थापाथलीमा रहेको खाद्य संस्थानको गोदाममा दशैंका लागि आवश्यक खसीबोका, भेडा च्यांग्राको किनबेच भैरहेको छ । खसीबोका र भेडाच्यांग्रा उचाल्दै, छाम्दै कोही भाउ सोध्दैछन् भने कोही रोज्दैछन् । खाद्य संस्थानका कर्मचारी जोख्न र बिल काट्न व्यस्त छन् ।

बजारमा व्यवसायीले मनलाग्दी रुपमा मूल्य लिन नपाउन् भन्ने उदेश्यले खाद्य संस्थानले २०३१ सालदेखि हरेक दशैंमा खसीबोका बेच्दै आएको छ । तर अहिले पोहोर परार भन्दा भाउ भने केहि महंगो छ ।

यसपाली मुस्ताङ्गबाट भेडाच्यांग्रा र हेटौडाबाट खसी बोका खरिद गरी ल्याएको भएपनि भेडा च्यांग्राको भाउ केहि महंगो छ भने खसी पर्याप्त छैन । रोजेजस्तो खसी नपाएपछि धेरैजना रित्तै फर्किन बाध्य छन् ।

संस्थानले २५ किलोसम्मको जिउँदो खसी बोका प्रतिकिलो ४ सय ३५ रुपैंया र २५ किलो भन्दा माथिको प्रतिकिलो ४ सय ४५ रुपैंया तोकेको छ । यस्तै च्यांग्रालाई प्रतिकिलो ६ सय ३० रुपैंया पर्छ । विगतका बर्षहरुमा ३ हजार भन्दा बढि खसीबोका भित्र्याउने गरेकोमा यसपटक तराई आन्दोलन र भारतको नाकाबन्दीले पर्याप्त ल्याउन समस्या परेको संस्थानका बाग्मती अञ्चल कार्यालय प्रमुख मोहन प्रकाश चन्दले बताए ।

खाद्य संस्थानले विगतमा घटस्थापनदेखि नै खसीबोका बिक्रि गर्ने गरेको भएपनि यसपटक भने दसैं सुरु भएको चौथो दिनदेखि मात्र विक्रि थालेको हो । बजार मुल्यभन्दा केहि सस्तो पाइएपनि सबैलाई पुग्ने खसीबोका र भेडाच्याँग्रा भने खाद्य संस्थानमा छैन ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३, २०७२