सोमवार, जेष्ठ २२, २०८०

माटोमा प्राङ्गारिकको मात्रा घट्दो

बुटवल, १,कार्तिक । खेतमा उब्जनी घट्दै गएपछि दिक्क रूपन्देहीको तिलोत्तमा ४ का शम्भुप्रसाद चौधरी माटो परीक्षण गराउने निधोमा पुगे। उनी माटो बोकेर आफैं कृषि कार्यालय पनि पुगे। परीक्षणबाट उनको खेतको माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दै गएको पत्तो लाग्यो। २ देखि ५ प्रतिशतसम्म हुनुपर्ने प्रांगारिक पदार्थ घटेर १ दशमलव २ प्रतिशत पुगेछ। ३५ देखि ५५ किलो प्रतिहेक्टर हुनुपर्ने फस्फोरस ३१ भएछ। १ सय ११ देखि २ सय ८१ किलो प्रतिहेक्टर हुनुपर्ने पोटास ६० मा झरेछ। शम्भुप्रसादको जस्तै पछिल्लो समय यहाँका किसानको खेतको माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दै गएको छ। अम्लियपन बढ्दै गएको छ।

यसले गर्दा उर्वराशक्ति र उत्पादनशक्ति पनि घट्दै गएको छ। यही गतिमा उर्वर माटो बिग्रिँदै गए खाद्य उत्पादनमा धेरै प्रभाव बढ्दै जाने विज्ञ बताउँछन्। माटो बिग्रँदै गएपछि त्यसको परीक्षण र उपचारका लागि जिल्लामा परीक्षण केन्द्र खुलेको छ। जिल्ला कृषि कार्यालयमा रहेको केन्द्रमा गत माघदेखि प्रयोगशालासहितको परीक्षण सेवा सुरु भएको हो। नि:शुल्क माटो परीक्षण सेवा दिएर घट्दै गएको माटोको उर्वराशक्ति र उत्पादनशक्ति बढाउन सेवा सुरु गरिएको कार्यालय प्रमुख कृष्णभद्र अधिकारीले बताए। कार्यालयमा रहेको प्रयोगशालामा ‘कलर मेथड’ प्रविधिबाट माटो परीक्षण गरिन्छ। यस्तो प्रविधिको मेसिन किसानको खेतबारीसम्म समेत लैजान र परीक्षण गर्न सकिन्छ। मेसिनको सहायताले जिल्लाका विभिन्न ठाउँमा माटो परीक्षण शिविर सञ्चालन पनि गरिएको छ। अहिलेसम्म भगवानवुर, रायपुर, मझगावा, करहिया, देवदह, सूर्यपुरा, बुटवलको प्रांगारिक कृषि मेला लगायतका शिविरमा ७ सय किसानले माटोको नमुना परीक्षण गराएका छन्। २ सय ७० किसानले कार्यालयमा आएर माटो परीक्षण गराएका छन्। परीक्षणको काम गरिरहेका विज्ञ अश्विनीकुमार शर्माका अनुसार तयारी अवस्थाको माटो भएमा परीक्षण गरेर ३ दिनभित्र किसानलाई नतिजा दिन सकिन्छ। गिलो वा तयारी नभएको माटो भएमा भने ६ दिन लाग्न सक्छ। जिल्लाका ९ सय ७० किसानको माटो परीक्षणमा सबैजसोको माटोमा प्रांगारिक पदार्थको मात्रा घटेको देखिएको छ। ‘धेरैको माटोमा अम्लियपन बढ्दै गएको पाइएको छ। नाइट्रोजन र फस्फोरसको मात्रा घट्दै गएको भेटिएको छ।’ माटोविद अश्विनीकुरार भन्छन्, ‘यसले गर्दा माटोको उत्पादन शक्ति घट्दै गएको छ।’ माटोको प्रमुख खाद्यतत्त्व नाइट्रोजन, फस्फोरस र पोटास हुन्। यीबाहेक पनि अन्य १३ प्रकारका सूक्ष्म र सहायक तत्त्वहरू हुन्छन्।

यिनीहरूको सन्तुलनले माटोलाई उर्वर बनाइराख्दछ। उर्वर माटो बिग्रिँदै जानु र उर्वराशक्ति घट्दै जानुका कारण धेरै छन्। रासायनिक मल र बिषादीको अनियन्त्रित प्रयोग गर्ने र प्रांगारिक मलको प्रयोग नगर्ने प्रमुख तीन कारण हुन्। रासायनिक मल र विषादीको अधिक प्रयोगले माटोको जैविक गुण घट्छ। यसमाथि प्रांगारिक मलको प्रयोग नहुँदा जैविक गुण बढाउने कुनै विकल्प हुँदैन। तत्काल बढी उत्पादन लिने लोभले धेरै रासायनिक मल प्रयोग गर्ने होडले पनि माटोको आयु घटिरहेको छ। सट्टामा अम्लियपन बढ्दै गएको छ। बालीनालीका बोट खेतमा जलाउने प्रवृत्ति पनि माटोको उर्वराशक्ति घटाउँछ। तराईका अधिकांश भागहरूमा पराल, भुस, गहुँको नललाई थ्रेसिङ गरी खेतमै आगो लगाएर जलाउने चलन छ। यसले पनि माटोको गुणस्तर तथा उर्वरा सन्तुलन कायम गर्ने जीव र सूक्ष्म जीवहरू मर्ने गरेका छन्। एउटै किसिमका मात्र बाली पटकपटक लगाइरहने किसानको बानीले पनि माटो वञ्जर बन्दै गएको हो।

यसको विकल्प के त? माटोविद् अश्विनीकुरमा भन्छन्, ‘माटोको गुणस्तर र उर्वरा शक्ति बचाउन परीक्षण गरेर मात्रा हेरेर मात्रै रासायनिक मल र विषादीको प्रयोग गर्नुपर्छ। बाली चक्र अपनाएर फेरिफेरि खेत गर्नुपर्छ। कोशेबालीको खेती बढाउने, हरियो मल र गोबर तथा प्रांगारिक मलको प्रयोग बढाउनुपर्छ।’ तराईका करिब ७५ किसानले गोबर खेतबारीमा प्रयोग गर्नु साटो गुइँठा बनाएर खाना पकाउन प्रयोग गर्छन्। माटो बचाउन गोबरलाई मलकै रूपमा प्रयोग गर्नु पनि जरुरी रहेको उनले बताए। गुणस्तरीय माटोका लागि प्रांगारिक स्रोत २ देखि ५ प्रतिशतसम्म हुनुपर्दछ। माटो व्यवस्थापन निर्देशनालयका अनुसार देशका ९४ प्रतिशत भागका माटोमा त्यस्तो स्रोत १ प्रतिशतभन्दा कम भएको परीक्षण नतिजाहरूले देखाएका छन्। जम्मा ६ प्रतिशत भूमिमा मात्र आवश्यक मात्रामा प्रांगारिक स्रोत छ। राम्रो उत्पादनका लागि जैविक तथा भौतिक गुण आवश्यक हुन्छ। माटोको पैतृक पदार्थमा अति दोहनले यी सबै पक्षलाई कमजोर बनाइरहेको छ। अमृता अनमोल/कान्तिपुर

प्रकाशित मिति: आइतवार, कार्तिक १, २०७२