बुधबार, बैशाख १२, २०८१

मुस्ताङ माछापालन सफल

मुस्ताङ, २९ असोज । सरकारी अनुदान तथा युवा लक्षित कार्यक्रमहरु एवं विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगका कारण हिमाली जिल्ला मुस्ताङको घाँसामा रेन्बो ट्राउट माछापालन सफल भएको छ । स्थानीय पाँच जना पर्यटन व्यवसायीले १८ महिना अघि ट्राउट माछापालन व्यवसाय सुरु गरेका हुन् । माछाको वृद्धि राम्रो भएकोले व्यवसायी थप उत्साहित भएका छन् ।
समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाईमा अवस्थित घाँसामा १६ वटा पोखरी बनाएर रु ८० लाखको लगानीमा स्थानीय होटल व्यवसायी नवीन भट्टचन, विक्रम गौचन, राजन गौचन, विशाल शेरचन र पुनिट गौचन मिलेर माछापालन व्यवसाय सुरु गरिएको हो ।
घाँसा रेन्बोट्राउट माछापालन व्यवसाय समितिका अध्यक्ष नवीन भट्टचनका अनुसार माछापालन व्यवसायका लागि हिमाली क्षेत्र विशेष कार्यक्रमले रु ५० लाख ३३ हजार अनुदान उपलब्ध गराएको छ ।
घाँसामा ट्राउट माछाको उत्पादन राम्रो रहेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज २९, २०७२