बिहिबार, बैशाख ६, २०८१

दसैंलाई ६ सय टन अष्ट्रिचको मासु

भैरहवा,२७ असोज : यस पटकको दसैंका लागि खसीबोका खरीद गर्न पाउनु भएन या आयात नभएको भन्दै अत्याधिक महगो पर्ने भयो भनेर तपाईहरु नआत्तिनु होला । खसीबोकाको बिकल्पका रुपमा यस पटक अष्ट्रिच नेपाल प्रालि रुपन्देहीले खसी बोकाको मोल भन्दा खासै महगो नपर्ने गरी अष्ट्रिच एबं इमु (दोस्रो ठूलो चरा)को मासु बजारमा ल्याएको छ ।

देशका मुख्य शहरहरु काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, बिराटनगर, इटहरी, झापा, धरानलगायतका स्थानका आम सर्बसाधारणले अष्ट्रिच तथा इमुको मासु खरिद गर्न सक्ने व्यवस्था मिलाएको अष्ट्रिच नेपाल प्रालिका सञ्चालक एबं प्रवन्ध निर्देशक सीपी शर्माले कारोबारलाई बताए । यस वर्ष ५० हजार खसीबोका बराबरको अष्ट्रिच तथा इमुको मासु आम उपभोक्ता माझ पठाउने लक्ष्य छ र पठाउन सुरु पनि गरीसकेका छौं, प्रबन्ध निर्देशक शर्माले भने ।

भारत अथवा नेपालकै अन्य स्थानबाट खसीबोका आएन भनेर आत्तिनु पर्ने अवस्था अब रहेन, बढी भन्दा बढी मासुहरु हामी उपभोक्ता माझ पठाउन सुरु गरीसकेका छौं, शर्माले भने । अहिले आफुहरु बजारको माग भए अनुसारको कम्तिमा पनि ४ सय देखि ६ सय टन सम्म मासु उपलब्ध गराउन सक्षम रहेको उनले जनाए । खसीबोकाको मूल्य बढीरहेको भन्दै उनले उपभोक्तालाई महगो नपर्ने गरी बजार मूल्य समेत कायम गरिएको जनाउदै जिउदै अष्ट्रिच अथवा इमु समेत खरिद गरी खसीबोका घरमै काटेझै गरी काटन सकिने शर्माको भनाई छ । जिउदो इमु भने स्थानिय उपभोक्तालाई उपलब्ध हुने कम्पनिको भनाई छ ।

कम्पनिले यसपटकका लागि अष्ट्रिचको मासुको मूल्य गत वर्षको भन्दा घटाएको छ । यस पटक हाड सहितको अष्ट्रिचको मासुलाई १ हजार, हाड नभएको सुद्ध मासु १५ सय रुपैयाँ र रेसा नभएको अझ सुद्ध मासुलाई प्रतिकेजी २२ सय रुपैयाँमा आफ्नो आउटलेटबाट बिक्री भइरहेको र अन्य बिक्रेताहरुले पनि सोही मूल्यकै सेरोफेरोमा उपलब्ध गराउने शर्माको भनाई छ । जिउदो इमु प्रति किलो ६ सय रुपैयाँमा र इमुको काटेको मासु (फ्रोजन मिट) लाई फर्मबाट ८ सय रुपैयाँमा र अन्य आउलेट तथा मिटसपहरुबाट १ हजार रुपैयाँ भन्दा कम मूल्यमै प्राप्त गर्न सकिने बताइएको छ ।

काठमाडौं उपत्यकामा कम्पनिको आउटलेट महाराजगञ्ज, बानेश्वर, गंगबु र चाबहिलका साथै प्राय सबै डिपार्टमेन्टल स्टोर, मिटसप गरी १ सय भन्दा बढी स्थानमा सर्बसुलभ हुने उनले बताए । त्यस्तै गरी अघिल्लो हप्ताबाट पोखराका बिभिन्न ३० स्थानमा यसको बिक्री बितरण सुरु भइसकेको कम्पनिले जनाएको छ । भारतबाट कम आयात र उत्तर नाका चिनबाट समेत भेडा च्यांग्रा न्यून रुपमा आउदा अहिले देशमा सबैको मूल्य बढेको र सर्बसुलभ उपलब्ध हुनेमा संका बढिरहेको बेला अष्ट्रिच नेपालले कम्तिमा पनि ६ सय टन मासु उपलब्ध गराउन सकिने जनाएको हो ।

अष्ट्रिचको मासु अत्यन्त स्वस्थकर रहेको बताउँदै चिकित्सकहरुले परिक्षण गरिसके पछि मात्र फ्रोजन गरिएको र भ्याकुम प्याकमा उपलब्ध हुने गर्दछ । ग्लोबल स्टयान्डर्डको यो मासु आधा र एक केजिको प्याकेटमा उपलब्ध छ ।

मानव शरिरको लागि निकै स्वस्थकर मानिएको अष्ट्रिचको मासु कोलस्टर फ्रि हुने गरेको छ । रेड मिटका रुपमा रहे पनि यो मासु सेबनले शरिरलाई कुनै नराम्रो नगर्ने कम्पनीको भनाइ छ । यो दशैका लागि कम्पनिले ‘फेस्टिभ विथ अष्ट्रिच, सर्बत्र अष्ट्रिच’ नारा समेत अघि ल्याएको छ ।

७ वर्ष अघि रुपन्देहीको गंगोलिया गाविसमा २२ विगाहा जमिनमा स्थापना भएको अष्ट्रिच नेपाल प्रालिले पछिल्ला वर्षमा दाङमा समेत अष्ट्रिच फार्म संचालनमा ल्याएको छ भने रुपन्देहीकै सुर्यपुरामा कन्ट्रयाक फार्मिंग गरेको छ । त्यस्तैगरी पूर्वी नेपालमा पनि कृषकहरुले कन्ट्रयाकमा अष्ट्रिच पालन सुरु गरिसकेका छन् । – मनोरञ्जन शर्मा

प्रकाशित मिति: बुधबार, अशोज २७, २०७२