शनिबार, बैशाख ८, २०८१

लुम्विनीमा धान उत्पादन घट्ने

लुम्बिनी, २६ असोज । धान उत्पादन हुने प्रमुख जिल्लामध्येको रुपन्देहीमा यो वर्ष धान बालीको उत्पादनमा कमि आउने अनुमान गरिएको छ । धान बाली उत्पादनका लागि अनुकुल मौसम र प्रयाप्त पानी नपरेका कारण यस वर्ष धान उत्पादनमा कमी आउने कृषि विज्ञहरुले जनाएका छन् ।
तराईका जिल्लामा परेको लामो समयसम्मको खडेरी र दोस्रो पटक राख्नुपर्ने रसाईनिक मल राख्न नपाएका कारण यसवर्ष जिल्लामा धान उत्पादनमा गिरावट आउने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पहिला रोपिएको धानमा खासै असर नपरेपनि पछौटे धानमा खडेरीको पूर्णअसर परेको कार्यालयको भनाइ छ । पछौटे धानमा पातमा लाग्ने किरा लागेको, गँवारो किरा, पातको थोप्ले रोगको समस्यालगायतका कारणले विगतका वर्षको तुलनामा १२ देखि १५ प्रतिशत उत्पादनमा ह्रास आउने संकेत देखिएको हो ।
जिल्लामा धान उत्पादनको पकड क्षेत्र मानिएका लुम्बिनी, मझगावा, धकधही, बोधवार, मानपकडी, मानमटेरीया, हर्नैया लगायतका क्षेत्रमा लगातारको तराई बन्दले गर्दा दोस्रो पटक राख्नुपर्ने मल राख्न नपाइएकाले त्यती राम्रो धान नफलेको कृषकको भनाइ छ ।
यसवर्ष रुपन्देहीमा ६९ हजार चार सय हेक्टर जमिनमा धान खेती लगाइएको छ । यसअघि आव २०६९÷७० मा ७० हजार पाँच सय हेक्टरमा लगाइएको धान तीन लाख २४ हजार तीन सय मेट्रिकटन उत्पादन भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७२