बिहिबार, चैत्र १५, २०८०

नियन्त्रण हुँदै तपेश्वरीमा सुखारिया रोग

उदयपुर । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गाविस तपेश्वरीमा भदौ महिनादेखि घरपालुवा पशुहरुमा फैलिएको सुखोरिया रोग नियन्त्रणमा आएको छ । जिल्ला पशु सेवा कार्यालय उदयपुर र पुर्वाञ्चल क्षेत्रीय पशु निर्देशानलयले रोग पत्ता लगाई उपचार गरेपछि रोग नियन्त्रणमा आएको राष्टिय कृषक समूह महासंघ तपेश्वरीका अध्यक्ष महेशप्रसाद चौधरीले बताए । rogi pasu
रोग नियन्त्रणमा आएपछि अहिले पशु मर्न छाडेको अध्यक्ष चौधरीले बताए । महामारीको रुपमा गाविसभरी नै फैलिएको रोगले दैनिक जसो पशु मर्ने गरेको थियो । करिब चार दर्जनको हाराहारीमा पशु मरेको थियो । कृषकहरुका अनुसार सरुवा किसिमको सो रोगको लक्षणमा सुरुमा पशुमा ज्वरो आउने, निमोनिया जस्तो हुने, अत्याधिक चिलाउने, खान अमन हुने, जिम्ल्याउने र विस्तारै शरीरको पुरै छाडा डढेर पटपट चिरिने र मर्ने गरेको थियो । सो रोग खसीबाख्रा र राँगाभैसीमा त्यति नदेखिको र गाईगोरु, त्यसमा पनि साना बाछाबाछिमा बढि असर देखिएको थियो ।
स्थानीय सहजकर्ता गोमा बास्तोलाका अनुसार गाविसको वडा नं.९ मा सुरुमा देखिएको सो रोग फैलिदै गएर सबै वडामा फैलिएको हो । गााविसमा हरेकजसो घरमा पशुपालन गरिएको छ । प्रतिघरमा पालिएका गाईगो ? तीनवटासम्म मरेका थिए भने दोब्बर संख्यामा विमारले ग्रस्त थिए । तर, अव रोग नियन्त्रणमा आएपछि कृषकहरुमा आशा पलाएको कृषक रमजन चौधरीले बताए । सहजकर्ता बास्तोलाका अनुसार जिल्ला पशु सेवा कार्यालयबाट एकजना प्राविधिक एकहप्तासम्म गाविसमै बसेर नियमित रुपले पशुको उपचार गरेपछि पशुको रोगमा सुधार आएको थियो । भ्याक्सिन र औषधि खुवाई उपचार गरिएको थियो । कृषक समूह महासंघ उदयपुरका अधिकृत देवि थापा मगरले गाविसमा फैलिएको रोगको बारेमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन निकै गाह्रो भएपनि अहिले रोगको पहिचान गरी उपचार गरिएपछि कृषकहरुको थप क्षती जोगिएको बताए । – बिदुर कटुवाल

प्रकाशित मिति: शनिबार, अशोज २३, २०७२