शनिबार, जेष्ठ २७, २०८०

कृषक बङ्गुरपालन व्यवसायप्रति आकर्षित

krishilogoखोटाङ, ११ असोज । जिल्लाका कृषक बङ्गुरपालन व्यवसायप्रति आकर्षित भएका छन् । जिल्लामा उत्पादित बङ्गुर बाहिरी जिल्लामा निकासी हुन थालेपछि कृषक बङ्गुरपालन व्यवसायप्रति आकर्षित भएका हुन् । तराईसँगको सिधा यातायात सम्पर्क भएलगत्तै जिल्लामा आधिकारिक रुपमा फार्म दर्ता गरेर १८ जनाले बङ्गुरपालन सुरु गरेका छन् । बङ्गुरको मासु सदरमुकाम दिक्तेलमा प्रतिकिलो रु २५० मा बिक्री हुने गरेको छ । गत चैतमा सम्पन्न खोटाङको २२औँ जिल्ला परिषद्ले बङ्गुरपालन व्यवसायलाई प्राथमिकता दिनुपर्ने निर्णय पारित गरेको छ । बङ्गुरका लागि जिल्लाको हावापानी अनुकूल भएको पाइएपछि परिषद्ले बङ्गुरपालन व्यवसायलाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको हो ।

जिल्लामा बङ्गुरपालन व्यवसायलाई प्रभावकारी बनाउन मणि राईको संयोजकत्वमा खोटाङ बङ्गुर उत्पादन सङ्घसमेत गठन गरिएको छ । बङ्गुर पाल्ने व्यवसायीलाई एक जुट बनाएर अझ प्रभावकारी रुपमा विकास गर्न सङ्घ गठन गरिएको हो । विभिन्न हाटबजारमा गरी जिल्लामा हप्तामा दुई हजार ५०० क्विन्टल बङ्गुरको मासु बिक्री हुने गरेको सङ्घले जनाएको छ । बङ्गुरको पाठा जिल्लाकै विभिन्न ठाउँमा उत्पादन गर्ने गरिएको छ । बङ्गुरको पाठा उत्पादन गर्न नुनथलामा चारवटा फार्म सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७२