शुक्रबार, बैशाख ७, २०८१

रेविज मानिसमा सर्न प्रमुख ९५ प्रतिशत स्रोत कुकुर नै हो

bijaya chandar jha
डा. विजयचन्द्र झा
कार्यक्रम निर्देशक
पशु स्वास्थ्य निर्देशनाल

रेविजको रोगको चर्चा धेरै नै हुन थालेको छ नि ?
० नेपालमा परापूर्वकालदेखि नै रेविज रोगको प्रकोप छ । बर्षेनी नेपालमा ५० भन्दा बढी मानिसहरु रेविज रोगका कारण मर्ने गरेका छन् । दुई सयभन्दा बढी पशुहरु पनि रेविजकै कारणले मर्ने गरेका छन् । रेविज रोग विषाणुबाट लाग्ने एक किसिमको प्राणघातक रोग हो । मानिस होस् वा पशुबस्तु यो रोग लागिसकेपछि बचाउन सकिंदैन । त्यसले गर्दा पनि चर्चा हुनु स्वभाविकै हो । यो रोग नलागोस् भनेर कुकुर÷बिरालोहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाउनु पर्दछ । कुकुर मात्र नभएर स्याल, न्याउरी मुसा बाट पनि यो रोग सर्ने हु“दा त्यस्ता जनावरले मानिसलाई टोकेको खण्डमा तत्कालै मानिसले रेविज विरुद्धको भ्याक्सिन लगाईहाल्नु पर्दछ । पशुहरुमा बहुला जनावरले टोकेको भएमा नजिकको पशु सेवा कार्यालयमा गएर सम्पर्क गर्नु अनुरोध हामीले गरिरहेका छौं ।
नेपालमा रेविजको अवस्था के छ त ?
केहि वर्ष यता नेपालका मध्यपश्चिम र पूर्वी पहाडी जिल्लाहरुमा पटक पटक यो रोगको संक्रमण भएको खवर प्राप्त हुनासाथ त्यसलाई तत्कालै नियन्त्रणमा लिएका छौं । त्यत्ति भयावह अवस्था छैन । हामी निरन्तर रेविज रोग न्यूनिकरण गर्ने कार्यमा लागि रहेका छौं । नेपालमा हामीले रेविज रोग बिरुद्धको खोप उत्पादन गछौं । रेविज भ्याक्सिन उत्पादन प्रयोगशालाबाट बर्षेनी २५ हजार डोज भन्दा बढी उत्पादन गरेको भएपनि मांग अनुसार उत्पादन हुन सकिरहेको छैन । कुकुरका रेविज भ्याक्सिनको माग बढ्दो छ । त्यो मागलाई मध्य नजर गरि आगामी बर्ष ५० हजार डोज उत्पादन गर्न तर्फ हामी लागेका छौं । साथै निजि स्तरबाट पनि रेविज भ्याक्सिन नेपालमा आयात हुने गर्दछ ।
० रेविज रोग न्यूनिकरण गर्नका लागि खासै काम गरेको देखिँदैन भन्ने गुनासो छ त ?
रेविज रोग न्यूनिकरण गर्नु भनेको रोग लाग्नै नदिने हो । त्यस तर्फ हामी लागिरहेका छौं । रोग लागेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिने अभियानमा हामी सक्रिय छौं । मानिस वा पशुमा रेविज रोगको लक्षण देखा परि सकेपछि बचाउन सकिदैन । त्यसकारण घरमा पालेका कुकुर, विरालोलाई नियमित भ्याक्सिन लगाईराख्नु पर्दछ भनेर सचेतना गराउने हो । रेविज रोग मानिसमा सार्ने श्रोतहरु मध्ये ९५ प्रतिशत श्रोत भनेको कुकुर नै हो । तसर्थ श्रोतमा नै हामीले नियन्त्रणको काम गर्न सकयौं भने यो रोगलाई न्यूनिकरण तथा निर्मूल गर्न सकिन्छ । हाम्रो देशमा छाडा कुकुरहरु कति के छन् त्यसको यर्थात संख्या कति छ भन्ने तथ्यांक अहिलेसम्म छैन । त्यसले गर्दा यसलाई न्यूनिकरण गर्नका लागि हामीले सामुदायिक कुकुरहरुमा भ्याक्सिनेशन तथा बन्ध्याकरणको कार्यक्रम सञ्चालन गरिरहेका छौं । केन्द्रिय पशु चिकित्सालय तथा जिल्ला पशु सेवा कार्यालयहरुले पनि यस क्षेत्रमा गैर सरकारी संस्थाहरु तथा नगरपालिकाहरुसंग समन्बय गरि कार्य गरि रहेको छ । हाम्रा यिनै प्रयासहरुले गर्दा विगतमा भन्दा अहिले रेविजको प्रकोप घट्दै आईरहेको छ ।
० रेविज प्राण घातक रोग पनि भनिरहनु भएको छ यो नियन्त्रण गर्ने जिल्लाका पशु सेवा कार्यालयलाई जिम्मा दिएर मात्र पुग्छ ?
जिल्लाबाट नै गाउ“सम्म पुग्ने गरी जनचेतना अभिबृद्धि गर्नका लागि जिल्लाका पशु सेवा कार्यालयहरुले रेविज रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । केन्द्रमा पशु स्वास्थ्य निर्देशनालय र भेटेरिनरी जनस्वास्थ्य कार्यालयबाट जिल्लासंग समन्बय गरि रेविज रोग नियन्त्रणका कार्यहरु भईराखेको छ । गाउं स्तरसम्म पुगेर जनचेतना अभिबृद्धि गर्नु नै रेविज रोग न्यूनिकरण गर्ने प्रमुख उपाय पनि हो । हामीले २०७० सालदेखि हालसम्म दूई लाख डोज रेविज विरुद्धको भ्याक्सिन पशु स्वास्थ्य निर्देशनालयबाट जिल्ला पशु सेवा कार्यालयहरुमा वितरण गरेका छौं । हामी २०७२ असोज ११ गते विश्व रेविज दिवस मनाउन गईरहेका छौं । विश्व पशु स्वास्थ्य संगठनको अगुवाईमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि रेविज रोग नियन्त्रणको कार्यले प्राथमिकता पाएको छ । हरेक बर्ष सप्ताहव्यापी रुपमा यो रेविज दिवस जनचेतना अभिबृद्धि गर्नका लागि गरिरहेका छौं र यो प्रभावकारी पनि बन्दै गईरहेको छ ।
० रेविज दिवस केवल दिवसमा मात्र सिमित हुन्छ भन्ने आरोप पनि छ नि होइन ?
त्यसो होइन, रेविज विरुद्धका विभिन्न कार्यक्रमहरु सरकारी तथा गैर सरकारी निकायहरुबाट भई नै राखेको छ । रेविज नियन्त्रणबारे समीक्षा पनि यो दिवसका दिन गरिन्छ । त्यत्ति मात्र होइन हरेक नागरिकलाई रेविजको बारेमा जानकारी गराएर चर्चा र जनचेतना अभिबृद्धि गराउनका लागि पनि यस्ता दिवस महत्वपूर्ण बनिरहेको छ ।
० रेविज लागेका व्यक्तिलाई भ्याक्सिन लगाउन कम्तिमा कति खर्च लाग्छ ?
बहुला कुकुरले मानिसलाई टाउको नजिक टोक्यो र कुकुर मरेको थाहा पाएपछि तत्काल भ्याक्सिन लगाउन गयौं भने एनटी रेविज भ्याक्सिनको संगसंगै हाईपर इम्युन सिरम पनि दिनु पर्ने हुन्छ तसर्थ हाईपर इम्यून सिरम महंगो पर्दछ । त्यसकारण हामीले जनचेतना अभिबृद्धिको कुरा गर्दछौं त्यो भनेको के हो भने कुकुरले टोक्यो भने तत्कालै गएर उपचार गराईहाल्ने हो । कतिपय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन निःशुल्क पनि दिई राखेको छ । त्यसकारण सामुदायिक कुकुरहरुको वन्ध्याकरण मार्फत छाडा कुकुरहरुको संख्या न्यूनिकरण गर्दै जाने । घरपालुवा कुकुरहरुलाई नियमति भ्याक्सिन दिने र आफ्ना कुकुरहरुलाई घरभित्र राख्ने, बाहिर खुल्ला छोड्दै नछोड्ने । त्यसो गर्दा यो समस्या आउंदैन जस्तोलाग्छ ।
० प्राण घातक रोग रेविज भनिरहँदा पनि यसलाई न्यूनिकरण गर्न राज्यले अहिले सम्म नीति बनाउन सकेको छैन किन होला ?
महत्वपूर्ण विषय उठाउनु भएको छ । रेविज रोगको नीति बनाउने भन्ने हाम्रो सोच भएपनि त्यो अहिलेसम्म बन्न सकेको छैन । रेविज रोग न्यूनिकरण तथा नियन्त्रणका लागि एउटा नीति बन्दिएको भए सायद राम्रो हुन्थ्यो । तर, यसलाई कसरी अगाडि बढाउने भन्ने रणनीति तयार गरिरहेका छौ  । सर्वप्रथम कुकुर, विरालो लगायत रेविजको स्रोत भनिएका जनावरहरुको तथ्यांक संकलन गर्ने । दोस्रो अहिले भईरहेका भ्यासिनेशनहरु प्रक्रियागत रुपमा हुन सकिरहेका छैनन् त्यसलाई एउटा मापदण्ड भित्र राख्ने, अर्को माग अनुरुप भ्याक्सिन उत्पादन गर्ने, सामुदायिक कुकुरहरु नियन्त्रण गर्ने र प्रचार प्रसार गर्ने भन्ने हामीले रणनीति तयार गरेका छौं । जसले गर्दा रेविज न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरामा हामी ढुक्क छौं ।
० रेजिवको अन्त्य गर्ने कुरा सम्भव छ नेपालमा ?
गर्न सकिन्छ । विगतमा भन्दा अहिले यो रोगको प्रकोप घटदो क्रममा छ । यो भन्दा अगाडिको विश्व रेविज दिवसमा एउटा नारा नै थियो कि, ‘रेविजलाई इतिहासमा सिमित गरौ’ । यसलाई इतिहासमा सिमित गर्ने भन्ने कुरामा हामी पनि पछि पर्नु हुँदैन । रणनीतिक किमिसले रेविज रोग नियन्त्रण तथा निर्मुलीकरणमा हामी पनि जानु पर्दछ । जुन स्रोतबाट रेविज फैलिन्छ त्यही बाटै रोक्ने किसिमले हामी अगाडि बढ्यौ भने रेविज रोग अन्त्य गर्न सम्भव छ ।
० अन्त्यमा रेविज दिवसको सन्दर्भमा के भन्नु हुन्छ ?
एकजुट होऔं, रेविज अन्त्य गरौं भन्ने नाराका साथ विश्व रेविज दिवस सप्ताहव्यापी रुपमा सञ्चालन भईरहेको छ । यदि कसैले घरमा कुकुर विरालो पाल्नु भएको छ भने त्यसलाई अनिवार्य रुपमा भ्याक्सिन लगाएर राख्ने दायित्व तपाईहरुकै हो । कुनै कुकुर बहुलाएको जस्तो शंका देखिएमा तुरुन्त पशु सेवा कार्यालयमा सम्पर्क गरौ वा जानकारी दिऔं । सामुदायिक कुकुरको संख्या बढ्दै गईरहेको छ त्यसलाई नियन्त्रण गर्ने भनेको पशु कल्याणको कुरालाई समेत मध्यनजर गरेर कुकुरमा रेविजको भ्याक्सिनेशन तथा छाडा कुकुरको संख्या न्यूनिकरण गर्न बन्ध्याकरण मार्पmत नै त्यो सम्भव भएकाले यसलाई सक्रिय बनाउन तर्फ लागौं, त्यसो भयो भने रेविजलाई इतिहासमा नै सिमित गर्न सक्छौं । –प्रस्तुति वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, अशोज १०, २०७२