शुक्रबार, बैशाख ७, २०८१

पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न पशु बिमा

krishilogoकावासोती, ९ असोज । नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१७२ मा रु दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् । पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको छ । गाई, बाख्रा र भैँसीलगायतका पशु बिमा गरिएको छ । पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालय नवलपरासीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शङ्कर साहले बताए ।

कुल पशु बिमामध्ये तीन हजार ५७५ गाईको रु एक अर्ब ६२ करोड पाँच लाख तथा एक हजार ३७५, भैँसीको रु छ करोड २५ लाख बिमा गरिएको जनाइएको छ । त्यस्तै २७५ बाख्राको रु एक करोड २५ लाख १७५ छ । एक सय बङ्गुरको रु ७५ लाख तथा ११० पाडाको रु ५० लाखको बिमा गरिएको थियो । पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशु बिमातर्फ आकर्षित भएका छन् ।
आव ०७१/७२ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको रु एक करोडभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् । जिल्ला पशुसेवा कार्यालय नवलपरासीका अनुसार गत आवमा बिमा गरिएका ७५ गाई, २८ भैँसी, पाँच बाख्रा, तीन बङ्गुर र चार पाडा मरेका थिए । ती पशु मरे पनि किसानले रु एक करोड २० लाख २८ हजार ४०० क्षतिपूर्ति पाएका छन् । वरिष्ठ पशु विकास अधिकृत साहले भने  – “बिमाले किसानलाई पशुपालनमा आकर्षित गरेको छ ।” पशु मरेपछि बिमाबापतको रकम पाएका अधिकांश किसानले पुनः सो रकम पशुपालनमा नै लगानी गर्ने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज ९, २०७२