शुक्रबार, बैशाख ७, २०८१

अलैंचीको मूल्य घट्यो

संखुवासभा, ७ असोज ।  कालो सुन भनेर चिनिने अलैंचीको नयाँ कारोबार सुरु भएसँगै दुई महिनाको अन्तरालमा प्रतिकिलो आठ सय ५० रुपैयाँ मूल्य घटेको छ । नयाँ अलैंची बजारमा आउन थालेपछि व्यापारीले ह्वात्तै मूल्य घटाएको किसानको गुनासो छ।

असारमा प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य हाल ८६ हजार रुपैयाँ कायम भएको छ। ‘मूल्य कसरी बढ्छ, कसरी घट्छ, सैलाई जानकारी हुँदैन। एक लाख २० हजार रुपैयाँमा खरिद गरेको अलैंची गोदाममा छ तर मूल्य ८६ हजार भनेपछि छक्क परेको छु’, मकालुका व्यापारी मनोज गुरुङले भने।

अलैंची उत्पादन हुने तल्लो क्षेत्रमा तयार गरी बजार ल्याउन थालेपछि खाँदबारी, चैनपुर, नुम, बाह्रबिसे, सिद्धपोखरी बजारमा ८६ हजार प्रतिमन (४० किलोग्राम) मा खरिदबिक्री सुरु भएको हो। आफूहरूले बिक्री गर्ने समयमा अलैंचीको मूल्य घटाउने काँकडभित्ताका व्यापारीलाई राज्यले कहिल्यै कुनै निगरानी गर्न नसकेको किसानको आरोप छ।
किसान र अलैंची खेतीप्रति राज्यले बेवास्ता गरेर राजस्वमात्रै लिन नहुने उनीहरूको माग छ। अघिल्लो दिन खरिद गरेको अलैंची पछिल्लो दिन प्रतिमन १० हजार रुपैयाँ मूल्य घटेको भन्दै ठूला व्यापारीले खरिद नगरेपछि धेरै साना खुद्रे व्यापारी घरबारविहीन बनेको उदाहरण छ। सामानको गुणस्तर र परिमाणसँग सरोकार नराखी काँकडभित्ताका ठूला व्यापारीले अलैंचीको मूल्यमा सिन्डिकेट गरेको किसानको आरोप छ।

सामानको गुणस्तर र परिमाणसँग सरोकार नराखी काँकडभित्ताका ठूला व्यापारीले अलैंचीको मूल्यमा सिन्डिकेट गरेको किसानको आरोप छ। नेपाल अलैंची व्यवसायी महासंघ पनि ठूला व्यापारीकै पक्षमा भएकाले मूल्य निर्धारणमा कुनै पहल नगरेको उद्योग वाणिज्य महासंघका सदस्य लेखनाथ बुढाथोकीले बताए।

अलैंचीको मूल्य निर्धारण र निर्यातमा राज्यले कानुनी प्रावधान तोकिदिनुपर्ने उनले माग गरे। एभरेस्ट कार्डिममको नामबाट अलैंची निर्यात गर्ने भनी महासंघले बोरा खरिद गर्न बाध्य बनाएपछि अन्य व्यापारीले भारत, बंगलादेश र अरब मुलुकमा अलैंची निकासी गर्न रोक लगाएको एक व्यापारीले बताए।

संकलित पुराना अलैंचीको मूल्य उच्च हुँदा किसानले नयाँ अलैंची बजारमा ल्याउन नपाउँदै मूल्य ह्वात्तै घटेपछि आफू निराश बनेको जलजलाका अलैंची किसान पासाङ शेर्पाले बताए। गत वर्षको तुलनामा यस वर्ष अलैंची उत्पादन घट्ने देखिए पनि मूल्यसमेत घट्ने भएको छ।
प्रकाशित मिति: बिहिबार, अशोज ७, २०७२