शनिबार, जेष्ठ १२, २०८१

जता अनुदानको बीउ, त्यतै प्रकोप

महेन्द्रनगर, ५ असोज। कृषि विकास कार्यालय कञ्चनपुरले यस वर्ष वितरण गरेको धानको बीउमा रोग लागेपछि कृषकहरू आक्रोशित बनेका छन्। कार्यालयले बीज वृद्धि कार्यक्रमअन्तर्गत अनुदानमा वितरण गरेकै बीउमा रोगको प्रकोप बढी देखिएपछि कृषकहरू आक्रोशित बनेका हुन्।

अनुदानमा वितरण गरिएको लल्का बास्मती, हरदिनाथ, साँवा मन्सुलीलगायत मसिनो जातका धानमा खैरो थोप्ले रोग लागेपछि कृषकहरू क्षतिपूर्ति माग गर्दै कृषि विकास कार्यालय धाउन थालेका छन्। ‘करिब एक बिघामा लगाएको लल्का बास्मती धान रोग लागेर सुक्न थालेको छ,’ सुडा ४ नयाँगाउँका कृषक नरबहादुर साउदले भने, ‘मसिनो बास्नादार धान भनेर रोपें। रोग लागेर परालजस्तै भएको छ।’ कृषि कार्यालयले अनुदानमा वितरण गरेको बीउ बाहेकको जातमा रोग नदेखिएकाले कृषकहरू नक्कली बीउ वितरण गरिएको हो कि भन्ने आशंकामा पनि छन्। ‘अरू धानमा कतै रोग लागेको छैन,’ उनले भने, ‘कृषिबाटै ल्याएको बीउमा मात्रै रोग लागेको छ।’ कार्यालयले गलत बीउ वितरण गरेको भन्दै क्षतिपूर्ति दिनुपर्ने उनले बताए।

कृषि कार्यालयका अनुसार दैनिक ६/७ जना कृषकहरू रोग लागेको गुनासो लिएर आउन थालेका छन्। पूर्वी तराईका जिल्लाहरूमा अनुदानमा वितरण भएको बीउको मकैमा दाना नलागेको र धान नपसाएको लगायत घटनाहरू सुनेका यहाँका किसानहरूले यसपटक प्रत्यक्ष भोगेका छन्। ‘यस्तो त कहिल्यै भएको थिएन,’ साउदले भने, ‘योभन्दा त भारतबाट ल्याएको बीउ राम्रो फलेको थियो। रोग पनि लागेको थिएन।’ यहाँका कृषकहरू प्राय: सीमावर्ती भारतीय क्षेत्रबाटै धान तथा गहुँको बीउ ल्याउने गर्छन्।

कृषि कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीका अनुसार पनि अनुदानमा वितरण गरिएकै बीउको धानमा खैरो थोप्ले रोगको प्रकोप बढी देखिएको छ। खासगरी मसिनो र बास्नादार धानमा उक्त रोगको प्रकोप बढी देखिएको उनले बताए। ‘अनुदानकै बीउमा रोगको प्रकोप बढी देखिएको छ,’ उनले भने, ‘अन्य जातको धानमा पनि फाटफुट रोगहरू देखिएका छन्।’ उनले रोग लागेको जानकारी आएको ठाउँमा प्राविधिक सहितको टोली गइरहेको बताए।

लामो समयदेखि वर्षा भएको छैन। सिँचाइ सुविधा पनि नभएका ठाउँमा उक्त रोगको प्रकोप अझ बढी देखिएको कलौनीले बताए। ‘सिँचाइ सुविधा भएका ठाउँमा पनि नहरमा पानी नआएर सिँचाइ गर्न सकिएको छैन,’ उनले भने, ‘खैरो थोप्ले रोग नियन्त्रणका लागि खेतमा पानी भरेर विषादी हाल्नुपर्छ। तर, यहाँ सिँचाइको लागि पानी नै छैन।’ इन्डोफिलिम ४५ र प्लाटकस ५० नामक विषादी स्टिकरसँग प्रयोग गरेको रोग निको हुने उनले बताए। कृषि विकास कार्यालयले करिब एक दशकदेखि बीज वृद्धि कार्यक्रमअन्तर्गत उन्नत जातका बीउहरू अनुदानमा वितरण गर्दै आएको छ। यस वर्ष १७ मेट्रिक टन धानको बीउ अनुदानमा वितरण गरिएको कार्यालयका प्रविधिक सहायक कलकबहादुर सिंहले बताए। उनका अनुसार यस वर्ष वितरण गरिएको धानको बीउ जनकपुरको हरदिनाथ धानबाली अनुसन्धान केन्द्रबाट ल्याइएको हो। कार्यालयले लल्का बास्मतीसँगै, स्वर्ण १, साँवा मन्सुली १, सुख्खा १ र ३, राधा ४ तथा हरदिनाथ १ जातको बीउ अनुदानमा वितरण गरेको थियो। ‘मसिनो बास्नादार धानको जात ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो,’ सिंहले भने, ‘अन्य धान पनि ५० प्रतिशतभन्दा बढी अनुदानमा वितरण गरिएको हो।’ कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती गरिन्छ। यहाँ धानको उत्पादकत्व ३ टन प्रतिहेक्टर रहेको छ। -भवानी भट्ट कान्तिपुर

प्रकाशित मिति: मङ्लबार, अशोज ५, २०७२