शनिबार, बैशाख ८, २०८१

धान आयातमा भन्सार दर न्यून गर्न माग

वीरगन्ज, ३ असोज । आयातित भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । स्वदेशी चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्ने भन्सार दर न्यून गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी व्यवसायीको छ ।
स्वदेशी चामल उद्योगलाई संरक्षण गर्ने हो भने धान आयातमा लाग्दै आएको कृषि सेवा शुल्कलाई पाँच प्रतिशतबाट झारेर सकेसम्म शून्य दर कायम गर्नुपर्ने हुन्छ । यहाँका अधिकांश चामल उद्योग भारतीय धानमाथि निर्भर रहेका छन् ।
स्वदेशी धानको उत्पादनले यहाँका चामल उद्योगहरू मुस्किलले चार पाँच महिनामात्र सञ्चालनमा ल्याउन सकिन्छ । स्वदेशी धान अभावका कारण बाध्य भएर नेपाली चामल उद्योगहरूले भारतीय धानमाथि निर्भर रहनुपरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले बताएका छन् ।
भारतमा धान सस्तो मूल्यमा पाइने र त्यहाँ उत्पादन लागतसमेत सस्तो भएकाले आयातित भारतीय चामलसँग यहाँका चामल व्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैन । धानमा लिएको भन्सार दरबन्दीका कारण भारतीय बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ ।
उत्पादन लागत बढ्दा सस्तोमा आएका भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सकिदैन । त्यसैले धानको आयातमा लाग्ने भन्सार दर सके शून्यमा, नसके कम्तीमा दुईदेखि तीन प्रतिशत कायम गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
नेपाली चामल उद्योगलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पाँच प्रतिशत कृषि सेवा शुल्क लिइने गर्दछ ।
हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने आठ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने पाँच प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा दुई प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका तर सरकारले हाम्रो माग सुनेन, फलस्वरुप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग सङ्कटमा परेका छन् ।
पाँच वर्षअघिसम्म बारा र पर्सामा करिब साढे तीन सयको हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै तीन सयको हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा सङ्कटग्रस्त रहेको चामल उद्योग सञ्चालक बताउँछन् ।

प्रकाशित मिति: आइतवार, अशोज ३, २०७२