बैतडी, असोज । विसं २०१९ मा तत्कालीन राजा महेन्द्र भ्रमणमा आउँदा गुरुखोला–५ सतबाँजमा स्थापना गर्न लगाएको जिल्लाको एक मात्र सुक्खा फलफूल विकास केन्द्रमा संरक्षण नहँुदा स्याउका बोट हराउँदै गएका छन् ।
बागवानी केन्द्रको समेत संरक्षण नभएका कारण त्यहाँका स्याउका बोट हराउन थालेका हुन् । पाँच सय ७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्र्धनका लागि स्थापना भएको सुक्खा फलफूल केन्द्र अचेल उजाड बन्न थालेको छ ।
फलफूल केन्द्रमा स्थापनाको समयमा भारतको कास्मिर लगायतका ठाउँबाट ७२ जातका स्याउका बिरुवा ल्याएर लगाइएको थियो । हावापानी परिवर्तनसँगै हाल १७ जातका बोटमा मात्रै स्याउ फल्ने गरेको छ । हाल रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, जोनाथन डेलिसियस, मेकेन्टस, रेड जुन, क्क्स अरेन्ज, ब्युटी अफ बाथ, किङ अफ पिपिन, कास्मिरी एव्रा, स्टाक अर्ल ब्लेजलगायत जातका मात्रै स्याउ फल्ने गरेका छन् ।
सुरुमा राम्रो उत्पादन दिए पनि मौसममा आएको परिवर्तनले स्याउका बोट सुक्न थालेका छन् । बागवानीमा रहेका दुई हजार पाँच सय बोट स्याउ फल्न छाडेका छन् । स्याउ, आरु, नासपातीलगायत सुख्खा फलफूलको उत्पादन शून्य हुँदै गएको छ । पाँच वर्ष प्रतिबोट ५० किलो फल्ने स्याउ अहिले पाँच–१० किलोमा झरेको छ ।जुम्लापछि स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँजस्थित सुक्खा फलफूल विकास केन्द्रमा दशकयता देखि उत्पादनमा ठूलो गिरावट आएको छ । यसअघि साउन, भदौमा सतबाँजका स्याउ सुदूरपश्चिमका पहाडी जिल्लालगायत कैलाली र कञ्चनपुरसम्म पुग्थ्यो ।
अहिले यहाँको स्याउ उत्पादन भएको एकसातामै सिद्धिने गरेका कारण सर्वसाधारण महँगो मूल्यमा आयात गरिएको भारतीय र चिनियाँ स्याउ उपभोग गर्न बाध्य भएका छन् ।
महेन्द्रले स्थापना गरेको बागवानीबाट स्याउका प्रजाति हराए

Add Comment