बिहिबार, बैशाख ६, २०८१

भूकम्प प्रभावित जिल्लामा बीउ भण्डारण

काठमाडौं, २ असोज । भूकम्प प्रभावित क्षेत्रका कृषकलाई खाद्यान्न, तरकारीलगायत कृषिजन्य वस्तुका बीउबिजन निःशुल्क उपलब्ध गराउन कृषि विकास मन्त्रालयले अति भूकम्प प्रभावित जिल्लालाई प्राथमिकतामा राखेर ५० सामुदायिक बीउ भण्डारण केन्द्र स्थापना गर्ने भएको छ । भूकम्पका कारण प्रभावित क्षेत्रमा अधिकांश किसानलाई समस्या परेकाले उनीहरूलाई कृषि उत्पादनमा आकर्षण गरी जीवन स्तरमा सुधार ल्याउन यस किसिमको सहयोग गर्न लागिएको छ ।
केन्द्रमा खाद्य तथा तरकारीका बीउबिजन सुरक्षित गरी किसानालाई उपलब्ध गराइने छ । कृषकलाई बीउबिजनका अतिरिक्त समयमै मलको व्यवस्था मिलाउने तथा सर्वसुलभ मूल्यमा सक्दो अनुदानसमेत उपलब्ध गराउने गृहकार्य भइरहेको सह–सचिव उदयचन्द्र ठाकुरले जानकारी बताए ।
प्रभावित १४ जिल्ला तथा त्यस वरपरका १० जिल्ला गरी २४ जिल्लामा स्थापना हुने ती केन्द्रबाट ठूलो सङ्ख्यामा कृषक लाभान्वित हुने छन् । उनीहरूका उत्पादनलाई समुदायमा लगेर बजारीकरण गर्न जिल्ला कृषि विकास कार्यालयले समेत सहयोग गर्ने छ । गत वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारणले कृषि क्षेत्रमा करिब रु २८ अर्बको क्षति भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज २, २०७२