शुक्रबार, बैशाख ७, २०८१

कृषि सेवा केन्द्रका प्रमुखले लिए किसानबाट ‘घूस’

ओखलढुंगा,भाद्र । : ओखलढुंगाको खिजिफलाटेमा रहेको कृषि सेवा केन्द्रका प्रमुख सिंहेश्वर महतोले किसानहरुबाट ‘घूस’ लिएको खुलासा भएको छ । ‘युवालक्षित व्यवसायीक तरकारी खेती’ कार्यक्रमका लागि निःशुल्क पाइने फाराम रकम असुलेर स्वीकृत गरेकोे उजुरी परेपछि यस्तो खुलासा भएको हो ।Corruption-Pic

महतोले विभिन्न बहाना बनाएर किसानहरुबाट ‘घूस’ लिएको उजुरी जिल्ला कृषि विकास कार्यालय ओखलढुंगामा परेको थियो । कृषि कार्यालयले महतोको उजुरीमाथि छानबिन गरिरहेको जनाएको छ । ‘महतोले निःशुल्क पाइने फारामको पनि शुल्क लिएर स्वीकृत गरेको भन्दै उजुरी परेको हो,’ वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले भने, ‘कुरा केहो, सत्यतथ्य पत्ता लगाउनका लागि छानबिन समिति गठन गरिसकेका छौं ।’

महतोले सेवाका नाममा दुःख दिएका उजुरीहरु विगत देखि नै आउने गरेको भन्दै पछिल्लो समय आएका लिखित उजुरीसहित जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि सिफारिश गरिएपछि प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको निर्देशनमा छानबिन समिति गठन गरिएको कृषि कार्यालयले जनाएको छ । कृषि कार्यालयका नायब सुब्बा प्रकाशमान केसीको संयोजकत्वमा तीन सदस्यीय टोली छानबिन समितिमा रहेको छ । टोलीले चाँडै खिजिफलाटेमा पुगेर पाएको यथार्थ रिपोर्ट पेश गरेपछि कारबाही प्रक्रिया अगाडि बढाइने बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए ।

भर्खर मात्रै ‘युवालक्षित व्यवसायिक तरकारी खेती’ कार्यक्रमका लागि निःशुल्क स्वीकृत गर्नुपर्ने फारम स्वीकृत गर्दा २ हजारदेखि ४ हजारसम्म रकम लिएको र रकम नदिने किसानको फाराम महतोले स्वीकृत नगरेको किसानहरुको आरोप छ । फारम स्वीकृत गर्दा स्थानीय किसान सोमबहादुर तामाङबाट २ हजार, शान्तबहादुर तामाङबाट २ हजार, अर्जुन बस्नेतबाट २ हजार र मान बहादुर खड्काबाट ४ हजार रकम ‘घूस’ लिएको किसानहरुको दाबी छ । आवेदन दिँदा प्रतिव्यक्ति ७ हजारका दरले रकम नदिए स्वीकृत नगर्ने उनले अडान लिएपछि रकम दिएर फारम स्वीकृत गराउन बाध्य हुनुपरेको पीडित किसान मानबहादुर खड्काले बताए ।

सेवा केन्द्र प्रमुख महतोले महिला निवेदकहरुलाई भने ‘बेलुकीपख २ घण्टा बस्नेगरी एक्लै कोठमा आउनू, अन्यथा फारम स्वीकृत नगर्ने’ भन्दै अर्मयादित ढंगले प्रस्तुत भएको पनि निवेदनमा उल्लेख भएको कुरा कृषि कार्यालयले जनाएको छ । यसैबीच तालिम सञ्चालनका लागि भन्दै महतोले कृषी वन तथा वातावरण समिति रावादोलुबाट १० हजार समेत झ्वाम पारेको खुलासा भएको छ । रकम लिएपछि सम्पर्कमै नआएको समितिका सदस्यहरुले बताएका छन् । सरकारको युवालक्षित कार्यक्रमका लागि वास्तविक युवा किसानलाई छनोट नगरी कमिशन दिनेहरुको मात्रै फारम बुझेको किसानहरुको आरोप छ । स्थानीय किसानहरुले महतोमाथी कडा कारबाही गरी सेवा केन्द्रमा अर्को जिम्मेवार कर्मचारी पठाउन माग गरेका छन् ।

यस विषयमा सेवा केन्द्र प्रमुख महतोले भने आफूविरुद्ध किसानले उजुरी गरे÷नगरेको जानकारी नभएको तर कार्यालय भित्रकै साथीहरुले आफूलाई फसाउन चलखेल गरेको बताए । ‘मलाई ज्यान मार्ने धम्की समेत आएपछि म अहिले सम्पर्कमा छैन,’ पटक पटकको प्रयासपछि फोन सम्पर्कमा आएका महतोले भने, ‘मैले त्यस्तो काम गरेकै छैन, मैले ज्यान सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको छु ।’ – शुभकला राई

प्रकाशित मिति: बिहिबार, भदौ ३१, २०७२