शनिबार, बैशाख ८, २०८१

धनकुटाबाट २७ करोडको अलैंची निकासी

धनकुटा, २९ भाद्र । धनकुटाबाट गत आर्थिक वर्षमा २७ करोड ४० लाख रुपैयाँबराबरको अलैंची निकासी भएको छ । २३५ हेक्टर क्षेत्रफलमा गरिएको अलैंचीखेतीबाट १३७ टन अलैंची उत्पादन भएको र उत्पादित अलैंचीमध्ये ९५ प्रतिशतभन्दा बढी निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रविधिक सहायक टंक अधिकारीले जानकारी दिए ।

आव ०७०/०७१ मा भने २३० हेक्टरमा खेती भएको र १३५ टन निकासी भएको थियो । आव ०७१/०७२ मा धनकुटामा अलैंचीको मूल्य १ लाख १० हजार रुपैयाँ प्रतिमनसम्ममा कारोबार भएको थियो । धनकुटामा उत्पादित अलैंची मुख्यगरी भारत, बंगलादेशका साथै तेस्रो मुलुकसम्म निकासी हुने गरेको कार्यालयले जनाएको छ । धनकुटाको महाभारत, आहाले, भेडेटार, पाख्रीवास, डाँडाबजार, परेवादीनलगायत दर्जनभन्दा बढी गाविसमा अलैंचीको व्यावसायिक खेती हुँदै आएको छ ।

कृषकका लागि वैदेशिक मुद्रा आर्जनको गतिलो माध्यम बनेको अलैंचीमा फ्युजारेम र राइजोक्टोनियालगायत ११ प्रकारका भाइरसजन्य रोगका कारण अलैंचीका बगान मासिँदै गएपछि  अलैंची उत्पादनसमेत राम्रो हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।

बगान, रोगकीरा, नर्सरी व्यवस्थापन तथा खेती विस्तारको प्राविधिक ज्ञानको कमीका कारण नेपालको ४३ जिल्लाका करिब ७० हजार कृषकको आम्दानीको माध्यम बनेको अलैंची खेतीको हजारौं हेक्टर क्षेत्रफल नासिँदासमेत सरकारले कृषकलाई पर्याप्त प्राविधिक सेवा दिन नसक्नु कृषिप्रधान मुलुकको बिडम्वना भएको कृषकको दुखेसो छ । उत्पादन घटिरहेकाले उत्पादन बढाउनतर्फ पनि सरकारी ध्यान पुग्नुपर्ने कृषक बताउँछन् ।

व्यावसायिक रूपमा अलैंची खेती गरिँदै आएको धनकुटामा अलैंची सुकाउन १० वटा अलैंची सुकाउने डबल ड्रम ड्रायर भने यो वर्ष वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघको साझेदारी तथा धनकुटा उद्योग वाणिज्य संघको संयोजनमा वितरण गरिएको छ । यस्ता आधुनिक उपकरणले कृषकलाई राहत पुगेको अलैंची व्यवसायी इन्द्र तितुङले बताए ।

प्रकाशित मिति: मङ्लबार, भदौ २९, २०७२