बिहिबार, फाल्गुन १०, २०८०

दक्ष चिया प्राविधिक स्वदेशमै तयार

इलाम,२६ भाद्र ।अर्बौं लगानी भएर फराकिलो रुप लिँदासमेत ‘दार्जिलिङे जनशक्ति’मा निर्भर नेपाली चिया उद्योगले अब स्वदेशमै तयार दक्ष जनशक्ति पाउने भएको छ।
 बारीमा चिया रोप्ने, काट्ने, छाँट्नेदेखि हरियो पत्ती टिप्ने मात्रै होइन कारखानामा ओइलाउने, पेल्ने, सुकाउने र प्याकेजिङ गर्नेसम्मका प्राविधिक काममा दार्जिलिङे जनशक्तिको प्रत्यक्ष अप्रत्यक्ष बर्चश्व रहँदै आएको उद्योगलाई स्वदेशी जनशक्तिले राहत दिनेछ। स्वदेशकै कलेजमा ‘चिया व्यवस्थापन’ पढेका २० विद्यार्थी चिया उद्योगलाई भरपर्दा जनशक्ति हुनेछन्।
मुलुकमै पहिलोपल्ट भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसले सुरु गरेको चिया व्यवस्थापनको चार बर्षे कोर्स पूरा गर्नेक्रममा ६ छात्रा र १४ छात्रा इलाम र झापाका चिया बगान तथा कारखानामा अभ्यासरत छन्। छ महिनाको अभ्यास सकिएपछि अर्थात् माघभित्रै उनीहरुको ‘बिएस्सी इन टि एण्ड म्यानेजमेन्ट’ कोर्स पूरा हुँदैछ। विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरेर त्यहाँ भर्ना भएका उनीहरु स्वदेशी उद्योगका लागि ‘थोरै खर्चमा धेरै उपयोगी हुने’ चिया उद्यमीको अपेक्षा छ। पढाई सक्नेक्रममा रहेका विद्यार्थीसमेत काम पाइहाल्नेमा विश्वस्त देखिन्छन्।
पूर्वमा नगद आर्जनको प्रमुख बाली बनेको चियालाई स्वदेशी जनशक्तिको खाँचो देखेर क्याम्पसले ‘बिएस्सी इन टि एण्ड म्यानेजमेन्ट’ नामक ४ बर्षे कोर्स सुरु गरेको थियो। जसमा, झापा, भोजपुर, चितवन, गोरखा, म्याग्दी र काठमाडौंसम्मका विद्यार्थी ‘स्कुप छ’ भन्दै भर्ना भएका थिए। भर्ना भएका २४ मध्ये चार पहिल्यै बाहिरिइसकेका छन् भने २० जना पढाईको अन्तिम चरणमा छन्। ‘प्राक्टिकल पिरियड’अन्तर्गत अहिले फिल्डमा रहेका उनीहरु इलाम र झापाका बगान तथा कारखानामा चिया–कर्म गर्दै पढाईका आखिरी दिन बिताउँदैछन्।
कोर्स संयोजक गीता श्रेष्ठका अनुसार, चारमध्ये सुरुवाती दुई सेमेष्टरमा विज्ञान विषयअन्तर्गत फिजिक्स, केमेष्ट्री, जुलोजी, वायोलोजी आदि पढाई भएको थियो। तेस्रो र चौथो सेमेष्टरमा चिया व्यवस्थापन पढाई भएको हो। त्यसअन्तर्गत चियाको माइक्रो वायोलोजी, फुड टेक्नोलोजी, व्यवस्थापन विधि, पेष्ट म्यानेज्मेन्ट, उत्पादन र प्रशोधन विधि पढाइएको श्रेष्ठ बताउँछिन्। कक्षा कोठामा सैद्धान्तिक ज्ञान आर्जन गरेका विद्यार्थीलाई क्याम्पसले चिया बगान र कारखाना धनीसँग समन्वय गरेर मैदान पठाएको उनले बताइन्।
‘पहिलो ब्याचबाटै उत्कृष्ठ ज्ञान दिउँ भन्ने योजनाअनुसार चिया क्षेत्रमा राम्रो जानकारी भएका नेपाल भारतका विज्ञबाट कक्षा सञ्चालन गरिएको थियो, जसले गर्दा चियाबारे अन्जान विद्यार्थीलाई समेत कोर्स पूरा गर्दा धेरै कुरामा दक्ष बनाउन मद्दत गर्यो’ श्रेष्ठले सुनाइन्, ‘चियाले उद्योगको रुप लिएर हजारौंलाई रोजगारीसमेत दिइसकेको अवस्थामा दक्ष स्वदेशी जनशक्ति नभएको मध्यनजर गर्दै कोर्स थालेका हौं, पहिलो ब्याचले नै हाम्रो लक्ष्य पूरा गर्दै उद्योगमा अवसर पाउनेमा आशावादी छौं, उनीहरुमा चियाको राम्रो ज्ञान छ।’
विद्यार्थीबाट प्रतिसेमेष्टर ८५ हजार रुपैयाँ लिएर चार बर्षे कोर्स पूरा गरिएको उल्लेख गर्दै क्याम्पस प्रमुख उमानाथ ओलीले एक विद्यार्थीले लगभग चार लाख रुपैयाँ खर्च गरेको जनाए। भर्ना भएका विद्यार्थीमध्ये कतिपयले चियाका बुट्यान नै नदेखे पनि कोर्स सक्दा चिया–कर्मबारे दक्ष भएको ओलीको दावी छ। उनी भन्छन्, ‘पूर्वमा हरेकका घरमा चियावारी फैलिइसक्दा पनि स्वदेशमा चियाको पढाईं हुँदैनथ्यो, फलस्वरुप उद्योगमा सीमापारीबाट जनशक्ति ल्याउनुपर्थ्यो। त्यो अवस्था अन्त्य गर्न हामी जुर्मुरायौं र एक हदसम्म सफल भयौं।’
चिया व्यवस्थापन पढाई सक्नेक्रममा रहेका २० आफूजस्ता विद्यार्थीमध्ये ७ इलाम र १३ झापाका बगान र कारखानामा अभ्यासरत रहेको सुष्मा बाँस्तोला बताउँछिन्। झापा काँकरभिट्टा घर भएकी उनी ‘घर नजिकै चिया भए पनि यसको उत्पादन, प्रशोधन र बजारीकरणबारे पहिले अन्जान रहेको’ स्वीकार्दै ‘अहिले धेरै कुरा जान्ने भएको’ बताउँछिन्। ‘धेरै पैसा खर्च भए पनि घर नजिकैको क्याम्पसमा चिया व्यवस्थापन पढ्न पायौं’ सुन्दरपानीस्थित गोर्खा टी स्टेटमा अभ्यासरत बाँस्तोलाले नागरिकस”ग भनिन्, ‘चियामै काम गर्ने आत्मविश्वास छ।’
स्वदेशमा चिया खेतीको लहर चले पनि उद्योगका रुपमा भरखरै विकसित भएकाले दक्ष जनशक्ति अभाव हुनु स्वभाविक उल्लेख गर्दै गोर्खा टि स्टेट सञ्चालक उदय चापागाईं पहिलो ब्याचको जनशक्ति ‘आशलाग्दो’ भएको बताए। इलाम र झापामा कारखाना स्थापित हुँदै गर्दा टि टेष्टरदेखि म्यानेजरसम्म दार्जिलिङबाट ल्याउनुपरेको स्मरण गर्दै चापागाईंले अब त्यस्तो अवस्था नरहने र राम्रो काम देखाउनेले अवसर खोज्न टाढा जान नपर्ने जनाए। ‘स्वदेशी चिया उद्योगमा स्वदेशी जनशक्तिकै खाँचो छ’ उनले भने, ‘पहिलो ब्याचले केही राहत दिनेछ।’ -बेनुपराज भट्टराई
प्रकाशित मिति: आइतवार, भदौ २७, २०७२