मङ्लबार, बैशाख ११, २०८१

किसानले मल पाएनन्

गोरखा, २४ भाद्र।- लगातारको तराई बन्दको असर तनहुँ र गोरखाका किसानसम्म आइपुगेको छ। किसानले बाला लाग्ने बेलाको धानमा मल राख्न पाएका छैनन्। वीरगन्ज, भैरहवा हुँदै आयात हुने मल नआएपछि किसान चिन्तित छन्।
कृषि कार्यालयले जिल्लामा क्रियाशील कृषक सहकारीलाई रसायनिक मल किन्न सिफारिस गरेको हुन्छ। कृषि कार्यालयबाट सिफारिस लिएर किसानले मागअनुसार किन्छन्। तीन सातादेखि जारी तराई बन्दका कृषि सहकारी र मल व्यापारीले मल ल्याउन नपाएको घ्याल्चोक कृषि सहकारीका अध्यक्ष भूमि रेग्मीले बताए।
तनहुँका कुनै पनि पसल र सहकारीसँग रासायनिक मल नभएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्रकुमार मल्लले बताए।
‘अहिले तनहुँमा रासायनिक मल छैन, बाला लाग्ने बेलाको धानमा किसानले मल हाल्न पाएनन्,’ उनले भने।
धानमा बाला लाग्ने क्रम सुरु भइसकेकाले मल राख्ने समय घर्कंदै गएको कृषि विकास अधिकृत मल्ल बताउँछन्। एक साताभित्र मल आएन भने त्यसपछि राखेको मलले खेतीमा खासै प्रभाव नपार्ने उनले बताए। तनहुँका किसानलाई धान खेतीमा राख्न तत्कालै ७० टन मल आवश्यक छ। अघिल्लो वर्ष १३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको तनहुँमा अहिले यो वर्ष ५ प्रतिशत कम खेतमा रोपाइँ भएको छ।
गोरखामा २५ सय मेटि्रक टन मल चाहिनेमा दुई हजार टन मात्रै आपूर्ति भएको वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताए। ‘रासायनिकमा पनि युरिया मल किसानसँग भएन। बन्दले मल नपाएको गुनासो आउन थालेको छ,’ श्रेष्ठले भने।
बाला लाग्ने बेला भएको बेला धानमा रासायनिक मल हाल्ने गरिन्छ। समयमा मल नपाएपछि यस वर्ष धान उत्पादन घट्ने अनुमान कृषि कार्यालयको छ। १२ वैशाखको भूकम्पको असरले २५ प्रतिशतभन्दा बढी खेत बाँझै रहेको गोरखामा समयमै किसानले मल नपाउँदा उत्पादन थप घट्ने भएको हो। बन्द खुलेपछि मात्रै मल ढुवानी सहज हुने तर बन्द कहिले खुल्ने टुंगो नहुँदा किसान निराश छन्।
सबै वस्तुको अभाव
प्रदेश विभाजनको विषयलाई लिएर तीन सातादेखि तराईमा आन्दोलन जारी रहँदा पहाडी जिल्लामा खाद्यान्न अभाव भएको छ। तराईको बाटो हुँदै भारतबाट भित्रने दैनिक उपभोग्य सामग्री सकिएको छ भने व्यापारीले ढुवानी गर्न पाएका छैनन्। उपभोग्य सामग्रीको अभाव हुँदा मूल्य समेत बढेको छ।
गोरखा सदरमुकामका पसलमा दैनिक उपभोग्य सामग्री तेल, दाल, चामल, चिउरा, चिनीको अभाव छ। एक साताअघि १३ सय ५० मा बिक्री हुँदै आएका चामलको भाउ अहिले १५ सय पुगेको व्यापारी अर्जुनलाल श्रेष्ठले बताए। माग अनुसार ढुवानी गर्न नसकेको र किन्दा नै बढी परेको व्यापारीले बताए। ‘लगातार बन्द भएको धेरै दिन भयो, पसलमै सामग्री ल्याइदिने डिलर समेत आएका छैनन्,’ श्रेष्ठले भने ‘अर्डर गरेको सामान समेत आएको छैन।’
गोरखामा दैनिक उपभोग्यदेखि निर्माण सामग्री सबै भारतबाट भैरहवा, चितवन मुग्लिन हुँदै आउँछ। फाट्टफुट्ट स्कर्टिङमा हप्तौं लगाएर दुई, चार गाडी सामान आए पछि त्यसले नपुग्ने उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केले बताए। ‘सिमेन्ट, जस्तापाता, इँट्टा आएको छैन,’ हार्डवेयर व्यवसायी समेत रहेका मास्केले भने, ‘भूकम्पपछि घर निर्माण गर्ने बढेको छन् तर बन्दले निर्माण सामग्री आउनै ठप्प जस्तो भो।’ भएको स्टकले निर्माण सुरु गरिसकेकालाई पुर्या उनै हम्मे परेको गुनासो उनले गरे।
नारायणगढबाट ल्याइने चिउरा र भुजा पनि सहज रुपमा आयात गर्न नसकिएको व्यवसायीले बताएका छन्। ‘केही स्टक थियो त्यही बेचिरहेका छौं, ल्याउन मुक्सिल छ,’ उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ‘लगातार बन्द भयो भने हप्ता दिनमा खाद्यान्न हाहाकार हुन सक्छ।’ अहिले फाट्टफुट्ट आएका गाडी रातको समयमा स्कर्टिङ गराएर ल्याइएको व्यवसायीले बताएका छन्। अहिले जिरा मसिनो चामल, प्याच, आलु, चना, दाल पहिलेको तुलनामा केही महँगो भएको छ।
सदरमुकामबाहिरका ग्रामिण बजारमा समेत उपभोग्य सामग्रीको हाहाकार हुन थालेको गुनासो सर्वसाधारणले गरेका छन्। गोरखाको आरुघाट, भच्चेक लगायत ठाउँमा सबैखाले उपभोग्य समाग्री पाइँदैन। लगातार बन्द हुँदा उपभोग्य सामग्रीको मूल्य बढ्ने, व्यापारीले कालोबजारी गर्न सक्ने भएकाले सरकारले नियमित आयात निर्यातको व्यवस्था मिलाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापा बताउँछन्। ‘कसैले अभावलाई मौकाको रुपमा लिन सक्छन्,’ सरकार र स्थानीय स्तरमा प्रशासन समेत कडा हुनुपर्छ।’ –
प्रकाशित मिति: बिहिबार, भदौ २४, २०७२