शुक्रबार, बैशाख ७, २०८१

नश्ल सुधारका नाममा गलत नहोस

sex seminकाठमाडौं। नेपालमा पशु पालनलाई व्यवस्थित व्यवसायका रुपमा विकास गर्नका लागि किसानहरुले मात्र होइन राज्यले पनि महत्वपूर्ण ढंगले हेर्नु आवश्यक छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भरतातिर उन्मूख भईरहेको अवस्थामा पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहित गर्ने तर्फ सरोकारवाला निकाय अग्रसर हुनु अनिवार्य छ । तर, पछिल्ला समयमा पशुपालनलाई महत्व दिए जस्तो गरी नश्लसुधारका नाममा विदेशबाट करोडौं रुपैयाको सेक्स सिमेन आयात गरिन लागिएको खवरसंगै त्यसबाट दूरगामी रुपमा पर्ने सकारात्मक एवं नकारात्मक दुवै कुरालाई हेर्नु आवश्यक पनि छ ।
विशेष गरी दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने सोचमा कृषि विकास मन्त्रालय लागेको र उन्नत नश्लका गाईहरु भित्र्याउनेदेखि सेक्स सिमेन खरिद गर्ने कुरामा पनि विशेष ध्यान दिनु आवश्यक छ । गाई पालन गरिरहेका किसानहरुका गाईले बाच्छी मात्र उत्पादन गरोस् भन्ने हेतुले सो कार्य गरिन लागिएको बताउने गरिन्छ । आम किसानहरुमा पनि सेक्स समेनका कारण बाच्छीमात्र जन्मन्छ भन्ने गलत सन्देश प्रवाह भईरहेको देखिन्छ । विगत चारबर्ष अगाडिमात्र एक गैरसरकारी संस्थाले खरिद गरेर ल्याएको सेक्स सिमेन केवल किसानहरु प्रयोगका रुपमा मात्र स्थापित भएको देखिन्छ । सो सेक्स सिमेनले किसानहरुको हितका लागि काम गर्न सकेन । अर्थात जसरी बाच्छी मात्र जन्मन्छ भन्ने भ्रममा किसानलाई पारिएको थियो त्यो गलत सावित भयो १० महिनासम्म गाईलाई स्याहार सुधार गरेका किसानहरुले बाच्छा मात्र पाएपछि किसान रुष्ट बने । करीव १ हजारको संख्यामा कृत्रिम गर्भाधान गराईएका ती गाईहरुले बाच्छा जन्माएपछि यो केवल प्रयोग मात्र गरिएको हो भन्ने सन्देश किसानमा रहेको छ । सेक्स सिमेन यतिखेर फेरि खरिद गर्ने तयारी गरिएको छ । त्यो कति उचित छ कति प्रतिशत ग्यारेण्टी हुन्छ भन्ने कुराको यकिन गरी किसानहरुलाई सत्यतथ्य बुझाएर मात्र कृत्रिम गर्भाधानका लागि पहल गर्नु पर्ने पशु विज्ञहरुको जोड हुनु पर्दछ ।
उन्नत नश्लको प्रयोग भन्ने र किसानहरुले भविष्यमा दुख पाउने किसिमले र खरिदकर्ताहरुलाई आर्थिक फाइदा हुने हेतुले यदि त्यसो गरिन खोजिएको हो भने त्यसले पशु विकासका क्षेत्रमा ठूलो असर गर्ने देखिन्छ । त्यसकारण विदेशबाट १० हजार डोज सेक्स सिमेन ल्याउने चर्चासंगै आर्थिक पारदर्शिता र किसानका हितका कुरा पनि जोडिनु आवश्यक छ । त्यस तर्फ सम्पूर्ण सरोकारवालाको ध्यान जाओस् ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२