शनिबार, बैशाख ८, २०८१

घारमा उत्पादित चिज बिक्री

म्याग्दी, २२ भाद्र । उत्तरी म्याग्दीको घार गाविसमा उत्पादन गरिएको झन्डै दुई सय केजीभन्दा बढी चिज बिक्री भएको छ । हिमालयन चिज उद्योग सहकारी संस्थामार्फत उत्पादित चिज हिमालपारिको जिल्ला मुस्ताङका विभिन्न ठाउँमा बिक्री वितरण गरिएको हो ।
भूकम्पका कारण ठप्प भएको चिज उद्योगको कारोबार हालै सञ्चालनमा आएपछि चिज बिक्री भएको उद्योगले जनाएको छ । लामो समयसम्म भूकम्पका कारण चिज उत्पादन र बिक्री हुन केही समय ठप्प भएको थियो भने हाल आएर चिज बिक्री भएपछि किसान उत्साहित भएका छन् ।
घारमा उत्पादन गरिएको चिज मुस्ताङको सदरमुकाम जोमसोमबजार, कागबेनी र विश्वकै पर्यटकीय गन्तव्य मानिने मुक्तिनाथ क्षेत्रलगायतका ठाउँमा बिक्री गरिएको संस्थाका उपाध्यक्ष एवम् युवा व्यवसायी नारायण बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङका ९५ प्रतिशत होटल तथा व्यवसायीले मन पराएको र माग उच्च रहेको बताइएको छ ।
प्रतिकेजी चिजको मूल्य रु ७७० रहेको र धमाधम बिक्री भइरहेको युवा व्यवसायी बरुवालको भनाइ छ । किसानबाट प्रतिलिटर रु ५० देखि ५५ मा दूध खरिद गरी चिज उत्पादन गर्दै आएको उद्योगमा दैनिक करिब २५ जनाभन्दा बढी कृषकले दूध बिक्री गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२