बिहिबार, चैत्र १५, २०८०

दूधको मूल्य घटाए आन्दोलन गर्ने चेतावनी

चितवन, २१ भाद्र । दूधको मूल्य घटाए मिल्क होली डे हुँदैन भन्ने डेरी उद्योगीहरुको भनाईका विरुद्ध चितवनका दुग्ध उत्पादनमा लागेका किसानहरुले आपत्ति जनाएका छन् । डेरी व्यवसायीहरुले किसानहरुलाई मारमा पर्ने गरी दूधको मूल्य घटाउने तयारी गरिरहेको उनीहरुको आरोप छ । किसानहरुले हाल पाईरहेको मूल्य घटाइए त्यसका विरुद्ध संघर्षमा उत्रिने चितवनमा व्यवसायिक पशु पालनमा सक्रिय भएका किसानहरुको संस्था राष्टिूय व्यवसायिक पशुपालन उत्पादक कृषक समाज नेपालका अध्यक्ष आनन्द न्यूरेले चेतावनी दिएका छन् ।
केही दिनयता देशभर नै मिल्क होलिडे शुरु भएको बहानामा सरकारी दुग्ध विकास संस्थानले दूध किन्न छाडेपछि किसानहरु चिन्तित देखिएका हुन् । विगतमा जति दूध उत्पादन भएको भएपनि चितवनमा रहेको चितवन मिल्कले खरिद गर्ने गरेको थियो । जसका कारण किसानहरु पशुपालन
तर्फ बढी आकर्षित भएका थिए । गत भाद्र १ गतेदेखि चितवन मिल्क बन्द भएपछि किसानहरुले उत्पादन गरेको दूध विक्रीका लागि समस्या परेको छ । चितवनमा पछिल्लो समयमा दूध उत्पादन अत्यधिक हुन थालेको छ । विगतमा दूध भारतबाट ल्याउनु पर्ने अवस्थाको न्यूनिकरण गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि मिल्क होलिडे भएपछि किसानहरु तनाव खेप्न वाध्य भएका छन् ।
सरकारले चितवन मिल्क सञ्चालनमा ल्याउने प्रयत्न गरेपनि मिल्क होलिडेबाट बच्न सकिने दूध उत्पादनमा लागेका किसान तथा दुग्ध सहकारी संस्थाका पदाधिकारीहरु बताउँछन् । तर किसानलाई उपलब्ध गराउने मूल्य कम गरे मिल्क होलिडेको अन्त्य हुने केही उद्योगीहरुले अभिव्यक्ति दिएको भन्दै चितवनका किसानहरुले आक्रोश व्यक्त गरेका छन् ।
किसानहरुले पाउने दूधको मूल्य घटाउनु भनेको किसानलाई मारमा पार्नु हो भन्दै यदि मूल्य घटाउने प्रयास गरिए त्यसले त्यसबाट व्यवसायिक रुपमा दूध उत्पादन गरिरहेका किसानहरु पलायन हुने मात्र होइन त्यसका विरुद्ध आफूहरु जस्तोसुकै संघर्ष गर्न पनि तयार भएको न्यूरेले बताए ।

प्रकाशित मिति: सोमवार, भदौ २१, २०७२