शनिबार, जेष्ठ १२, २०८१

भिषा त्यागेर होइन गाई गोठाले भएर चर्चित

‘यो छोरा बढला, पढाई गरला, जागिर खान जाला
बुढा बाबु आमालाई त्यसैले दूध भात खान देला’
यो उक्ति ग्रामिण भेगका बाबु आमाहरुले आफ्नो छोराहरुलाई धेरै पढेर सरकारी जागिर आओस् र आफू बुढेसकाल हुँदा दूध भात ख्वाएर पालोस् भन्ने सोच राखेर बनाएको हुनु पर्दछ । कति बाबु आमालाई यो कुरा लागू पनि भयो होला कतिपयलाई यो लागू पनि भएन होला । दूधको चर्चा गरिहँदा गाईबस्तु पाल्नु र गोठाले जीवन बिताउनु अनिवार्य छ । जुन परम्परागत रुपमा होस् वा आधुनिक गोठाले नै किन नहोस् । samman
आफूलाई गाईको गोठाले र सँधै गोठमा नै छु भन्न रुचाउने चर्चामा रहेका गाई गोठाले हुन् शशी पौडेल । पछिल्लो समयमा गाई फार्म सञ्चालन गर्नेहरुका लागि स्रोत व्यक्तिका रुपमा पनि पौडेल चिनिन थालेका छन् । रुपन्देहीको टिकुलीगढमा १० विगाहा जमिनमा करीव पौने पाँचसयको हाराहारीमा गाई पालन गरिरहेका पौडेलका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ उनी भित्रको यथार्थ चुरो ।
अमेरिकाको भिषा लगाईदिनोस् १० लाख खर्च गर्दछु भन्दै काठमाडौंका कल्सल्टेन्सी धाउने पढे लेखेका युवाहरुका लागि पौडेल अपवादका रुपमा पर्दछन् यतिखेर अमेरिका के का लागि र किन भन्ने धेरै प्रश्नहरु पनि उठ्न सक्छन् उनलाई भेटेर । पढेर भन्दा परेर जानिन्छ भन्ने उखान पौडेलेको जीवनमा पनि लागू हुन्छ । सरकारी शिक्षकमा जागिर खाई रहेका पौडेललाई १५ बर्ष अघि अमेरिका उठ्ने भूत मनमा सवार भएपछि सरकारी स्थायी शिक्षकको जागिरलाई तिलाञ्जली दिएर बुटवलमा रहेको पेट्रोल पम्प बेचेर अमेरिका होमिने तयारी गरे । सितिमिति नेपालीलाई भिसा दिनै नचाहने अमेरिकी दूतावासले उनलाई पाँच बर्षका लागि भिषा दियो । पौडेल ठूलो सपना बनाएरै अमेरिका पुगे । तर अमेरिका पुगेको साता दिन नवित्दै उनलाई राष्ट्रिय चिन्ताले सतायो । अमेरिकामा सातादिन बस्दा उनले देखेको सफा सडक, अग्ला र भव्य महल, चिल्ला गाडि, हरेक गल्लीको विकासले उनी जस्ता विदेशीहरुका लागि थिएनन् । ती अमेरिकी नागरिकहरुका लागि थियो भन्ने उनलाई धेरै नै गढ्यो ।
अमेरिकामा बसेर जति नै पसिना बगाए पनि त्यो आफ्ना लागि हुन्न भन्ने महसुस गरें उनले । सपरिवार अमेरिका लैजाने लोभले अमेरिका पुगेका उनी त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्न सकेनन् र नेपाल फर्किए । नेपाल कृषिप्रधान देश भएर पनि कृषिमा फड्को मार्न सकिरहेको छैन । परम्परावादी र निर्वाहमुखिबाट अगाडि बढ्न पनि सकेको छैन । त्यसलाई तोड्ने र आधुनिकीकरण गर्ने तर्फ आफूलाई केन्द्रित गरे । र २०६५ सालमा १० विगाहा जग्गा किनेर होलस्टन र जर्सी जातका दुई सयसय भन्दा बढी गाई पालन गर्न थाले अर्थात उनकै भाषामा गोठाले बने । त्यही गोठालेले आज धेरैलाई हजारौ गाई पालन गर्न उत्प्ररित गरेको छन् । आफ्नो गोठलाई स्रोत केन्द्रका रुपमा स्थापित गर्न सफल भएका छन् । २५ करोडको लगानीबाट शुरु गरेको उनको गोठमा अहिले ८० करोडको पुगेको छ । ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दैनिक १ हजार लिटर दूध उत्पादन गरिरहेका छन् । दूध उत्पादन मात्र होइन प्रांगारिक मल पनि त्यही गोठबाट उत्पादन गरिरहेका पौडेलले । कृषिका लाग मुख्य आवश्यक प्रांगारिक मलको अभाव छ । त्यसका लागि पशुपालनको विकल्प नै छैन । रासायनिक मलमा अबौं खर्च भईरहेको छ त्यसलाई जोगाउनु पर्दछ भन्छन् पौडेल । पौडेलको लुम्विनी एग्रो प्रडक्ट्स एण्ड रिसर्च सेण्टर प्रालि नाममा दर्ता भएको सो गोठ हेर्नका लागि दैनिक २ सय भन्दा बढी व्यक्तिहरुको भीड लाग्ने गरेको देखिन्छ । कृषि अध्ययन गरिरहेका विद्यार्थीहरुमात्र होइन, पशुपालन गर्न खोजिरहेका शिक्षित युवाहरु, सहकारीका पदाधिकारीहरु पनि पुग्ने गरेका छन् । पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई पनि उनको गोठमा पुगिसकेका छन् । sashi..paudel
अहिले मिल्क होलिडे भईरहेको छ । सरकारले अझै कृषि मैत्री नीति ल्याउन नसकेको भन्दै सरकारको कडा आलोचना गदै पौडेल भन्छन् भारतबाट ५५ रुपैयाँमा दूध किन्ने नेपाल सरकार नेपाली किसानहरुलाई ३५÷३६ रुपैयाँ मात्र दिन्छन् । कमिशन खानका लागि गरिने यस्तो राष्ट्रघाती व्यवहारको अन्त्य नभएसम्म नेपालमा दुग्ध उत्पादनमा सक्रिय किसानहरुले सहि मूल्य नपाउने दावी समेत गर्दछन् । पौडेलबाट पशुपालनमा आउन चाहनेले धेरै नै कुरा सिक्न सक्छन् भने । रोजगारीका लागि विदेशिने र अमेरिका जान दशौं लाख खर्चिन युवाहरुका लागि पनि प्रेरणाका स्रोत बन्न सक्छन । त्यसैले अमेरिकाभन्दा नेपालमा नै रमाएका छन् पौडेल । सरकारी जागिर अनि अमेरिकाको भिसा त्यागेर होइन गोठाले भएरै चर्चित बनेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७२