शुक्रबार, चैत्र १६, २०८०

बन्दले किसान मारमा,मल हाहाकार

vartiya_mal_nepalma_bikrika_lagi_laijadai_gareka

समयमा वर्षा नहँुदा पम्पिङ्सेट प्रयोग गरेर भए पनि रौतहतटका सबैजसो खेतियोग्य जमिनमा धान रोपिएको छ। अहिले गोड्ने बेला भएको छ। तर, मधेसी राजनीतिक दलहरुले गरेको बन्दका कारण मधेसकै किसानले धान बालिमा हाल्ने रासायनिक मल नपाएर हाहाकार व्यहोर्नु परेको अवश्था छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न दलले राजनैतिक मागलाई अगाडि सारेर गरेको अनिश्चितकालीन आम हड्ताल बीसौँ दिनसम्म आइपुग्दा रौतहटमा रासायनिक मलको चरम अभाव देखिएको छ।
सरकारले कृषि सामग्री संस्थान र साल्ट टे«डिङ्गमार्फत् किसानलाई अनुदानमा उपलब्ध गराउने मल पाउन छोडेपछि जिल्लामा नक्कली भारतीय मलको तस्करी बढेको छ। विभिन्न सीमावर्ती नाका भएर भारतीय मल रौतहट भित्रिइरहेको देखिएको छ। ‘नेपाली मल प्रतिबोरा ९ सय २० रुपैयाँमा पाइन्थ्यो,’ संग्रामपुरका किसान रामएकवाल साह भन्छन्, ‘मलको अभावमा भारतीय मल प्रतिबोरा एक हजार दुई सय रुपैयाँमा किन्न किसानहरु बाध्य हुनुपरेको छ।’
सरकारी गोदाममा मल त्यसै थन्किएको भए पनि किसानले मल नपाएर हाहाकार भएको गरुडा चौकमा मलखादको व्यापार गर्ने योगेन्द्र साह बताउँछन् । नेपाली मलखादको आधिकारिक बिक्रेताहरुले मल बेच्न पाइरहेका छैनन्। तर, भारतबाट तस्करी गरेर ल्याएको नक्कली मल बेच्ने बेपारीहरु भने मालामाल भइरहेको व्यापारी साह बताउँछन्।
किसानले खेतमा लगाएको धानबालीलाई युरिया मल हाल्नुपर्ने बेलामा किसानले मल नपाएर छटपटिएका छन्। तस्करीको मल सबै सर्वसाधारण किसानको क्षमताभन्दा बाहिरको कुरा हुन पुगेको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रामनरेश यादवको भनाइ छ।
धानखेतिका लागि समयमा पानी नपर्दा बोरिङबाट महंगो पानी किनेर धान रोपेका थिए। पानीको अभावमा पटक–पटक पानी किनेर धान जोगाउनु परेको र आवश्यकताभन्दा दोब्बर गोडमेल गर्नुपरेकोले धानखेतीको लागत अन्य वर्षकोभन्दा करिब तीनगुना बढेको छ। झन् भारतमा ६ सय नेपालीमा पाउने मल दोब्बर मूल्यमा रासायनिक मल किनेर हाल्नुपर्दा किसानको ढाड सेकिएको किसान नेता यादव बताउँछन्। ‘मधेशीको समस्या तत्काल राजनीतिक रुपमा समाधान गरेर लामो समयदेखि बन्द भएर अस्तव्यस्त बनेको मधेशमा छटपटाइ रहेका सर्वसाधारण तथा किसानको समस्या सामाधान गर्न राज्य गम्भीर हुन जरुरी देखिन्छ।’
जिल्ला कृषि विकास कार्यालय रौतहटका बाली संरक्षण अधिकृत मोहन महतोले धान खेतीमा रासायनिक मल हाल्नुपर्ने बेलामा बन्द र हड्तालले कृषकलाई मात्र होइन धानखेतीलाई समेत ठूलो हानी पुगेको बताए। समयमा राम्रो मल खेतमा हाल्ने हो भने धानको उब्जनी राम्रो हुने उनको भनाइ छ। धानखेतीमा युरिया मलको अभावमा धान उत्पादनमा यसपाली ह्रास आउने बाली संरक्षण अधिकृत साह बताउँछन्।
संयुत्त मधेशी मोर्चाले आह्वान गरेको लामो समयको बन्दको कारण सडकमा यातायात चल्न नसकेपछि कृषि सामग्री संस्थानमा १ लाख ५० हजार र साल्ट ट्रेडिँग क्षेत्रिय कार्यालय वीरगन्जमा ६० हजार बोरा अनुदानको रासायनिक मल गोदाममै थन्केर बसेको साल्ट ट्रेडिङ्ग क्षेत्रिय कार्यालय वीरगन्जका प्रमुख आमोदप्रसाद उपाध्यायले बताएका छन्। बन्दले बारा, रौतहटलगायतका जिल्लामा पु–याउनु पर्ने मल गोदाममै थन्किएर बसेको छ। खुल्ने वित्तिकै पठाउने क्षेत्रीय प्रमुख उपाध्यायले बताए।
किसानहरु मल लिन आएपनि बन्दको कारण मलअभाव भएको त्रिनेत्र उपभोत्ता सहकारी संस्था दोस्तीया पिपरीयाका अध्यक्ष मुक्तिनारायण यादवले बताए। कमाउने बेलामा नै बन्द हड्ताल भएकोले किसानको मलसमेत दिन नसकेको र सीमावर्ती भारतीय बजारवाट ६ सय नेपालीमा पाउने युरिया मल दोब्बर मूल्यमा साइकल मोटरसाइकलमा तस्करी गरेर ल्याएका तस्करहरु धमाधम बेचिरहेका छन्। जिल्लाको बंकुल, औरैया, मठिया, रामपुरखाप, ब्रहम्पुरी, वेलविछवा, बाराको कर्चोवा, सिम्रौनगढलगायतका नाकाहरुवाट भारतीय रसायनिक मल धमाधम भित्रिरहेको उनले बताए। मधेश आन्दोलनको क्रममा सुरक्षाकर्मी खटिएपछि सीमाक्षेत्रमा तस्करी बढेको हो।
बजार पसललगायतका व्यापार व्यवसाय बन्दभएपछि यहाँका अधिकांश युवाहरु सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा गुणस्तरहित युरिया मल खरिद गरेर गाउँगाउँमा किसानलाई विक्री गरिरहेको देखिएको छ। – मदन ठाकुर

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७२