सोमवार, जेष्ठ २२, २०८०

प्राङ्गारिक तरकारीमा उपभोक्ता आकर्षित

पाल्पा, १५ भाद्र । तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गरेका छन् । प्राङ्गारिक तरकारी उत्पादन गरेका किसान गुरुङको घरमा दिनहुँ तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । तानसेन नगरपालिका– ११ लामडाँडा निवासी ५२ वर्षीय गुरुङले उत्पादन गरेको तरकारी किन्न उपभोक्ता, व्यापारी मात्र नभई चिकित्सक र नर्सहरू समेत पुग्ने गरेका छन् ।
प्राङ्गारिक रूपमा तरकारी उत्पादन गरेकै कारण अहिले उनको व्यवसाय फस्टाउँदै गएको छ । बजारमा पाइने तरकारीमा रासायनिक मल, विषादीको अत्यधिक प्रयोग भएका कारण लुम्बिनी मेडिकल कलेजका चिकित्सक, नर्सहरूले गुरुङको बारीमा आफैँ टिपेर तरकारी किन्ने गरेका छन् ।
“रासायनिक मल र विषादीको प्रयोग नभएकै कारण आजसम्म लुम्बिनी मेडिकल कलेजका डाक्टर, नर्स लगायतका उपभोक्ताहरूको मन जितेको छु” उनले बताए ।
छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले रासायनिक मल र विषादीको प्रयोग गरेर स्वास्थ्य बिगार्नुभन्दा विषादीरहित तरकारी लगाएर स्वास्थय सुधार गर्ने सोचमा प्रांगारिक खेती गरिरहेका गुरुङले रासायनिक मलको सट्टा गाउँ घरमै उत्पादन गरिएको गाईभैँसी, बाख्रा, कुखुराको मल विभिन्न स्थानबाट खरिद गरेर तरकारीमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ १५, २०७२