शुक्रबार, बैशाख ७, २०८१

दुग्ध विकास संस्थानलाई कार्वाही गर्दछु

uttam-bhattaria

उत्तमकुमार भट्टराई
सचिव
कृषि विकास मन्त्रालय

० मिल्क होलिडे भईरहेको छ भन्ने कुरा आईरहेको छ के हो ?
मिल्के होलिडे भएको चर्चा धेरै आईरहेको छ । त्यो बन्द भएको कारणले भएको हो । दूध संकलन गर्ने सवारी साधनहरुको असुरक्षाको कारणले गर्दा संस्थानले गाडी नपठाउँदो यो अवस्था देखिएको हो । हामीले दुग् ध सहकारीहरुसँग पनि छलफल गरेका छौं । दूध संकलन गर्ने ट्यांकर तोडफोड हुन सक्छ भनेर संस्थानले नपठाएको भन्ने कुरा हो । अहिलेको राजनीतिक अवस्थाका कारण मात्र यो समस्या देखिएको हो पछि सवै ठिक हुन्छ ।
० राजनीतिक परिस्थिति र गाडीको समस्या देखाएर दूध संकलन नहुने हो भने व्यवसायी त पलायन होलान् नि फेरि ?
हाम्रो चुनौती भनेको पनि त्यही हो । बन्द हड्ताल भन्ने कुरा राजनीतिक तहको कुरा भयो । मेरो तहबाट केही भन्न सक्दिन । तर अरु बेला मिल्क होलिडे हुन नदिन म सचिवको हैसियलत प्रतिवद्ध भएर लागेको छु । म किसान दाजुभाई तथा व्यवायिक पशुपालकलाई पनि त्यही अनुरोध गर्दछु ।
० तर दुग्ध विकास संस्थानले स्टक रहेका पुराना पाउडर दुध सक्नका लागि किसानसँग दूध नकिनेको र केही दिन यतादेखि दूधमा पनि गुणस्तर खस्कँदै गएको सुनिन्छ त ?
दूधको गुणस्तर खस्किन थाल्यो भने खाद्य तथा गुणस्तर विभागले हेर्छ नै । यदि त्यस्तो भएको रहेछ भने दुग्ध विकास संस्थानलाई पनि हामी छोड्ने वाला छैनौं । निजी दूध उद्योग र दुग्ध विकास संस्थानले उत्पादन गरेको दूधको गुणस्तरको मामिलामा बराबरीमा राखेका छौं । तर कहिले काँही तरल पदार्थ जस्तो कुरामा फरक पर्दछ । अहिले वितरण भएको दूध बाहिरबाट ल्याएको पाउडर दूध होइन देश भित्रै बनेको पाउडर दूध हो । मैले बुझे अनुसार अहिले बन्दको समय र भुकम्प गएको बेला धेरैदिन दूध बाहिर नगएको अवस्था संकलन भएका दुधलाई पाउडर बनाएर राखेका थियौं । क्रिम निकालेर, बटर बनाएर राखेका छौं । त्यही पाउडर दूध प्रयोग भएको हुन सक्छ । बरु दुग्ध विकास संस्थानले बाहिरबाट धूलो दूध खरिद गर्न खोजेको कुरालाई मैले रद्द गरिदिएको छु । किन की नेपालमा नै पर्याप्त मात्रामा तरल दूध उत्पादन भईरहेको छ । यस्तो अवस्थामा बाहिरबाट पाउडर दूध ल्याउन हुँदैन भन्ने कुरामा म लागेको छु । निजी क्षेत्रलाई पनि मैले आव्हान गरिसकेको छु । नेपाली किसानहरुले उत्पादन गरेको तरल दूधलाई पहिलो प्राथमिकतामा राखेर खरिद गर्न भनिसकेको छु ।
० तर दुग्ध विकास संस्थानले त किसानहरुसँग दुध किन्नु भन्दा धूलो दूध खरिद गर्दा बढी फाइदा हुने कुरा गरिरहेका छ त, यहाँले नै नरोक्नु भएको भए त पाउडर दूध भित्रिन्थ्यो नि त ?
हामीले फाइदाको कुरा मात्र हेरेर हुँदैन । राष्ट्रिय अर्थतन्त्रको कुरालाई पनि हेर्नु पर्दछ । किसानले पैसा पाउने भनेको एउटा शहरबाट गाउँमा रकम जाने सवै भन्दा राम्रो र व्यवसाय दुग्ध व्यवसाय नै हो । आम नेपाली किसानहरुको हितका लागि पनि मैले दुग्ध विकास संस्थानलाई किसानकै दूध किन्न भनेको छु । संस्थानलाई फाइदा हुन्छ भन्दैमा पाउडर दूध कुनै हालतमा पनि ल्याउने कुरा म मान्ने वाला छैन । अहिले अन्तर्राष्ट्रिय बजारमा पाउडर दूधको मूल्य धेरै नै घटेको छ । त्यो दूध ल्याएर तरल बनाउँदा अत्यन्तै धेरै फाइदा हुन्छ त्यो मैले पनि बुझेको छु । यद्यपी दुग्ध विका संस्थान सरकारको नियन्त्रणमा भएकोले त्यसलाई रोकेका छौं । निजी क्षेत्रलाई पनि आग्रह गरेको छु बाहिरबाट पाउडर दूध आयात नगरिदिनुस् । भविष्यमा पाउडर दुध आयात गर्ने कुरालाई निर्णय गराएरै रोक्ने हो ।
० नेपालमा नै दूध बढी उत्पादन भएकाले घिउ पनि प्रशस्तै स्टक छ तर पनि भारतबाट घिउ किन आयात भईरहेको छ ?
स्टकको कुरा गर्ने हो भने आजसम्म १ हजार २ सय मेट्रिक टन पाउडर दूध र १ हजार ४ सय मेट्रिक टन घिउ स्टक छ । यो परिणामा नेपालका लागि धेरै नै ठूलो हो । कृषिमा हाम्रो उत्पादन लागत नै बढी छ । दूधमा मात्र होइन अरु बस्तुहरुमा पनि त्यस्तै छ । चाईना, भारत लगायत हाम्रा छिमेकी मुलुकमा लागत मूल्य कम छ । यही कारण पनि आयात भित्रिएको छ । यसका लागि सरकारले मात्र होइन निजी क्षेत्रले पनि योगदान गर्नु पर्ने देखिन्छ । सवैले आ आफ्नो ठाउँबाट गर्नु आवश्यक छ । यो काम सरकारको मात्र हो भन्ने हो भने भोलीका दिनमा अप्ठेरो परिस्थ्तिि आउन सक्छ । त्यसैले हामीले भनिरहेका छौं तीन खम्बे नीति लिनु पर्दछ । सरकारी सहकारी र निजी क्षेत्र । यी सवैले आआफ्नो ठाउँबाट इमान्दारपूर्वक काम गर्ने हो भने समस्या समाधान हुन्छ । यसलाई मैले ठूलो समस्याका रुपमा लिएको छैन ।
० सरकारी नियन्त्रणमा रहेको दुग्ध विकास संस्थानले नै किसानको दूध खरिद गरेको छैन अनि कसरी समस्या समाधान होला त ?
त्यस्तो पनि होइन । दुग्ध विकास संस्थानले पहिले कुन कुन ठाउँबाट कति परिणाम दूध संकलन गर्ने भन्ने कुरा निर्धारित भएको हुन्छ । भाद्र, असोज बढी दूध उत्पादन हुने सिजनमा बढी दूध खरिद गर भन्छन् । त्यसले गर्दा संस्थानको आफ्नो हिसाव अनुरुप समस्या होलान् । हाम्रा किसानहरु पनि दूध अभाव हुने सिजनमा निजी क्षेत्रले अलि बढी पैसा दियो भने दुग्ध विकास संस्थानलाई पनि दूध नदिने गर्दछन् । अनि फेरिनिजी क्ष्ोत्रलाई बढी भएको बेला दुग्ध विकास संस्थानलाई किनेन भन्छन् । संस्थानले पनि आफ्नो सन्तुलन मिलाउनु पर्दछ । त्यही भएर संस्थानले दूध लिएन भन्ने कुरा बाहिर आएको हो ।
० त्यसो भए निजी उद्योग र संस्थानको प्रतिष्पर्धाले यो अवस्था आयो ?
निजी क्षेत्र आफ्नै तरीकाले चलिरहेको छ । उनीहरुले दूध उत्पादन कम हुने सिजनमा बढी रकम दिएर संस्थानलाई दूृध उपलब्ध गराईरहेका किसानहरुलाई तानिदिएका हुन्छन् । बढी भएको बेला दुग्ध विसका संस्थानलाई जिम्म लगाईदिन्छन् । यो पनि ठूलो समस्या होइन ।
० मिल्क होलिडेको अवस्था आयो भने कसरी रोक्ने विकल्प के छ ?
मिल्क होलिडे हुनु भनेको किसानहरु जुन जोशले पशुपालनमा आउनु भएको छ । उहाँहरुलाई त्यसबाट विमुख गर्नु हो । यो कुनै हालतमा पनि गर्न दिनु हुँदैन । नत्र अहिले आकर्षित बनेका युवाहरु पलायन हुने अवस्था हुन्छ । हामीले अहिले कै अवस्थामा आईपुग्न अर्को वीस बर्ष कुर्नु पर्दछ । बरु दुग्ध जन्य खाद्यबस्तु उत्पादन गर्ने उद्योगहरु स्थापना गर्नु पर्दछ । जस्तै बाल आहारहरु ल्याक्टोजिन, सेरेल्याक्स लगायत जुन दूधमै आधारित छन् ती सवै विदेशबाट नेपालमा आयात भईरहेका छन् । त्यसलाई प्रतिष्धापन गर्न सक्नु पर्दछ । त्यसका लागि हामीले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गर्न लगाईसकिएको छ ।
० घिउ के गर्नु हुन्छ ?
घिउका लागि हामीले आयातित घिउका लागि भन्सार शुल्क बढाउने र हामीले उत्पादन गरेको घिउको मुल्य घटाएर स्टक घिउको व्यवस्थापन गर्दै छौं । हामी कहाँ प्रशस्त घिउ उत्पादन हुने हुनाले सस्तोमा घिउ विक्री गर्नु पर्दछ भन्ने सोचका साथ हामीले कार्ययोजना तयार पारेका छौं । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, भदौ १३, २०७२