शुक्रबार, चैत्र १६, २०८०

सरकारी अनुदान प्राप्त जैविक मल उद्योग बन्द

janakpur

काठमाडौं, १३ भाद्र ।  मोरङको झोराहाटमा खोलिएको जैविक मल उद्योग सरकारी अनुदानको रकम सकिएलगत्तै बन्द भएको छ । तीन वर्षपहिले कृषि मन्त्रालयका तत्कालीन सचिव जयमुकुन्द खनाल आफैँ आएर सुरु गरेको उद्योग उद्घाटनलगत्तै बन्द भएको हो । सरकारले प्रांगारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न जैविक मल उद्योगलाई ५० प्रतिशत अनुदान दिएको थियो । सोही अनुदानसहित साढे चार करोड रुपैयाँ लगानीमा जनकपुरको झोराहाट गाविसमा जनकपुर फर्टिलाइजरका नामबाट पुरानो चिउरा उद्योगलाई जैविक मल उद्योगको नाम दिएर खोलिएको थियो ।

कम्पनीले जैविक मल उद्योग सञ्चालन गर्दै आएको भने पनि मल उत्पादनका लागि आवश्यक मेसिन खरिद गरेको थिएन । जैविक मल उत्पादन गर्न जनकपुर फर्टिलाइजरले माटो व्यवस्थापन निर्देशनालयबाट ५० प्रतिशत अनुदान लिएको थियो । उद्घाटनका क्रममा तत्कालीन कृषिसचिव जयमुकुन्द खनाल, माटो व्यवस्थापन निर्देशनालयका निर्देशक दुर्गाप्रसाद दवाडीलगायतले उद्योगले उखुको खोस्टा, केराको बोट, झारपात आदिबाट गुणस्तरीय जैविक मल उत्पादन गर्ने बताएका थिए । तर, उत्पादन नगरी उद्योग बन्द भएको छ । उद्योगले सुरुमा साना जैविक मल उद्योगले उत्पादन गरेका जैविक मल खरिद गरी आफ्नो उत्पादन भनी भण्डारण गर्दै आएको फेला परेको छ । दैनिक ७० टन जैविक मल उत्पादन गर्ने भनिए पनि अहिलेसम्म उद्योगमा जैविक मल उत्पादन गर्ने मेसिन जडान भएको छैन । कृषि विकास मन्त्रालय स्रोतका अनुसार अनुदानको रकम पचाउन देखावटी रूपमा मात्र उद्योग खोलिएको हो । उद्योगी गोविन्द झुुनझुनवाला र विजय तोदी सञ्चालक रहेको उद्योग उद्घाटनपछि नै बन्द गरिए पनि प्रक्रियामार्फत बन्द गराउन विभिन्न बहाना बनाइएको स्रोतको दाबी छ । तत्कालीन सरकारले बढ्दो विषादी र रासायनिक मल प्रयोग नियन्त्रण गरी माटाको उर्वराशक्ति बढाउन प्रांगारिक मल उत्पादनका लागि अनुदान दिएको थियो । -गणेश लम्साल

प्रकाशित मिति: आइतवार, भदौ १३, २०७२