बिहिबार, चैत्र १५, २०८०

प्याक्टमा सम्झौता अनुरुपको रकम नपाएपछि किसान आन्दोलित

images

इलाम,  भाद्र । सम्झौता अनुरुपको रकम व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)मार्फत उपलव्ध नभएपछि इलामका किसानहरू आन्दोलित भएका छन् ।
प्याक्टमार्फत आवेदन माग गरिएकोमा छनौट भई सम्झौता गरेका किसानले इलाममा भेला गरी छनौट भएका कृषि आयोजना तुरुन्त सञ्चालन गर्न र अनुदान उपलब्ध गराउन माग गरेका छन् । व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कृषक समूह सहकारी र लघु उद्यमीहरूका लागि लघु अनुदान आयोजनामार्फत प्रत्येक उद्यमीलाई दश हजार अमेरिकी डलरबराबरको अनुदान उपलब्ध गराउन २०७१ असार ९ मा प्रस्ताव आह्वान गरेको थियो । प्रस्तावउपर विभिन्न चरणको फिल्ड भेरि फिकेशनमार्फत आयोजना छनौट भएको उक्त आयोजनाले जनाएको थियो ।
हाल आएर किसानहरूले आयोजनाबाट पाउने अनुदान बिना जानकारी कटौती भएको सूचना पाएको बताएका छन् । इलाममा जिल्ला कृषि विकास कार्यालयमार्फत अदुवा, अलैंची र किवी फलका १२० किसानको प्रस्ताव आयोजनाअन्तर्गत स्वीकृत भएका थिए । यस्तै जिल्ला पशु सेवा कार्यालयमार्फत दुग्ध उत्पादक किसानका ३५ आयोजना स्वीकृत गरिएको थियो ।
पूर्वका ६ जिल्लामा यस्तो प्रस्ताव आह्वान गरिएकोमा इलाम र भोजपुरबाहेकका जिल्लामा आयोजना सम्भौता भई कार्य सम्पन्न गरिसकेको जानकारी भएको तर इलाममा सम्झौता भएको एक वर्ष बित्न लाग्दासमेत कुनै सूचना नआएको बरबोटे–५ का किवी कृषक महानन्द ओझाले बताए ।
उनले सम्झौता स्वीकृत भएर अनुदान पाउने भएपछि किसानहरूले अलैंची नर्सरी र विस्तार, किवीको ट्रस्ट र थाङ्ग्रा निर्माणमा व्यापक लगानी गरेको र उक्त लगानी डुब्ने अवस्थामा पुगको बताए । त्यस्तै सुलुबुङका विनोद खतिवडाले पैसा पाउने आशमा बस्दाबस्दै एक वर्ष बितेको बताए ।
दुग्ध उत्पादक किसानले पनि दुग्ध प्रशोधनका लागि आयोजना स्वीकृत भएको भनेर ऋण लगानी गरि भवनसमेत बनाइसकेको अवस्था छ । यस्तो अवस्थामा अनुदानको कुनै पनि प्रक्रिया अगाडि नबढाउनु आश्चर्य भएको साँखेजुङका अर्का कृषक गंगा विष्टले बताए । –टीका खतिवडा

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७२