शुक्रबार, चैत्र १६, २०८०

फिदिम बजारमा विषादीयुक्त तरकारी

पाँचथर,७ भाद्र । तरकारीमा विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा हानिकारक रोग लाग्ने भएकाले विषादी प्रयोग नगर्न गरिएका विभिन्न पहलहरुलाई किसानहरु वास्तै नगरी तरकारीमा विषादी प्रयोग गरेपछि तत्कालै बजारमा विक्री गर्न थालेका छन् । जसका कारण किसानहरुल बिक्री वितरण तरकारीबाट जनस्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । विषादी प्रयोग गरेपछि पर्खिनुपर्ने समयको वास्ता नगरी तरकारी तथा फलफूल बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड भइरहेको उनीहरूको आरोप छ ।
विषादीको प्रयोग गरेपछि खानयोग्य हुँदामात्रै कृषकले बजारमा बिक्रीका लागि ल्याउनुपर्ने तर त्यस्तो नभएको फिदिम बजारमा उपभोक्ताहरुले बताउन थालेका छन् । यसबारे जिल्ला कृषि विकास कार्यालयले कृषकलाई सचेतना जगाउनुपर्ने उनीहरुको भनाई रहेको छ ।
तर जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले भने कृषकलाई कार्यालय र मातहतका सेवा केन्द्रले पटक–पटक विषादीको प्रयोग न्यूनीकरण गर्ने, यदि गरिए पनि सुरक्षित विषादीको प्रयोग गर्न र विषादी प्रयोग गरेपछि खानायोग्य हुने अवधिबारे जानकारी गराउँदै आएको जनाएका छन् ।
उनले बजारमा खानयोग्य तरकारी र फलफूल भए÷नभएको परीक्षण गर्न प्रयोगशाला नहुँदा समस्या भएको उल्लेख गरे ।

प्रकाशित मिति: सोमवार, भदौ ७, २०७२