बिहिबार, बैशाख १३, २०८१

अखण्ड राप्तीको बन्दले तरकारी बारीमै कुहियो

सल्यान ७ भाद्र  । पछिल्लो समयमा संविधान निर्माणका लागि तय गरिएको प्रदेशको सिमांकनको विषयलाई लिएर मुलुकभर ठाउँ ठाउँमा बन्द हुँदा तरकारी उत्पादन गर्ने किसानहरु मर्कामा पर्न थालेका छन् ।  बेमौसमी तरकारी उत्पादन हुने सल्यानको कपुरकोटमा बन्दका कारण हाटबजार सञ्चालन नभएपछि त्यहा विक्रीका लागि ल्याउनु पर्ने करोडभन्दा बढीको तरकारी बारीमै कुहिन थालेको छ । मुख्य मौसमकै बेलामा आएर बन्द गरिएपछि धनबाङ, रिम, गर्पा र त्रिवेणी गाविसमा लगाइएको तरकारी कुहिन थालेपछि किसानहरु मर्कामा परेका हुन् ।
कपुरकोटमा हप्तामा दुई दिन हाटबजार लाग्दै आएकामा अनिश्चितकालीन बन्दपछि हाटबजार सञ्चालन हुन नसकेकाले तरकारी बारीमै कुहिन थालेको किसानको भनाइ रहेको छ । कपुरकोटको तरकारी सङ्कलन केन्द्रका साथै गर्पा, रिम र त्रिवेणीमा रहेका सङ्कलन केन्द्रबाट तरकारी निर्यात हुने गरेको भए पनि बन्दका कारण कृषक चिन्तित हुन थालेका छन् ।
तरकारी नै मुख्य आम्दानीको स्रोत भएकाले जिल्ला बन्दका कारण आफू समस्यामा परेको गर्पा–६ की कमला पुनले गुनासो गरिन् । “बारीमा दुई हप्ताअघि नै तयार भएको टमाटर कुहिन थालेको छ ।”, उनले भनिन् । तरकारीको मुख्य मौसममा नै बन्द भएपछि आफूजस्तै सयाँै कृषक समस्यामा परेको उनको भनाइ छ ।
वैशाख, जेठ महिनाको गर्मीमा पानी बोकेर तरकारीमा सिँचाइ गरेका कृषक यतिबेला बारीमै तरकारी कुहिन थालेपछि कृषकमा चिन्ता थपिन थालेको हो । “पानी नहुँदा बोकेर सिँचाइ गरियो बिक्री गर्ने बेलामा अहिले बारीमै कुहिन थालेको छ । त्रिवेणी–६ का किसान दामोदर बोहराले भने ।  अनिश्चितकालीन बन्दले कृषकमा अझै चिन्ता थपेको बोहराको भनाइ छ ।
बेमौसमी तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रबाट प्रतिहप्ता ८० लाखभन्दा बढीको तरकारी निर्यात हुने गर्दछ । तर अखण्ड राप्तीको माग राख्दै सल्यानमा अनिश्चितकालीन बन्द गरेपछि विगत दुई हप्तादेखि तरकारी हाटबजार सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति: सोमवार, भदौ ७, २०७२