बुधबार, बैशाख १२, २०८१

प्रांगारिक खेतीमा रमाउँदै विकास

काठमाडौँ, ६ भाद्र । ‘हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नो खाएको हुन्छ आनन्दी मनले’ लक्ष्मी प्रसाद देवकोटाका यी कविताका हरफले रोजगारीका लागि विदेश भौतारिनेहरुलाई केही सन्देश त दिन्छ नै  । तर त्यसलाई वेवास्ता गर्ने हो त्यसको कुनै अर्थ रहँदैन  । विदेशमा गर्ने दुखलाई स्वदेशमा नै गर्ने हो भने पनि खुशी र सुखी जीवन विताउन सकिन्छ भन्ने उदाहारण विदेशमा पाएको दुखलाई स्वदेशमा नै भुलाउने प्रयास गरेका छन विकास रानामगरले  । दाङ जिल्ला स्थायी घर भई नारायणथान बस्दै आउनुभएका विकास राना मगरले विदेशमा सिकेको सीपलाई उपयोग गर्दै सोही ठाउँमा पाँच रोपनी खाली जग्गा भाडामा लिएर गोलभेँडाको प्राङ्गारिकखेती गर्दै आएका छन् । तीन वर्षको विदेश बसाइँमा गरेको दुःखलाई सम्झँदै उनले नेपालमै आफ्नो काममा सन्तुष्ट लिने गरेको र विदेशमा जति दुःख गरे पनि सुखको अनुभूति नहुने स्वदेशमा दुःख गर्न परे पनि सुखको अनुभूति हुने र मेहनतको फल राम्रो हुने बताउँछन् ।
खेतीबाट मासिक रु ४० हजारभन्दा बढी कमाइ गर्ने उनलाई खेतीमा श्रीमती राधाले सघाउँदै आएकी छिन् । चार वर्ष पहिले रानालाई विदेश पठाई राम्रो काम लगाई दिन्छु भनी नाताले दाइ पर्ने उमेश रानाले दुबई पठाएका थिए  ।
उनले विदेशमा भनिएको काम र तलबसम्म नपाएपछि गोलभेँडाको प्राङ्गारिक खेतीमा काम गरेर तीन वर्षसम्म दुःख गरे । त्यही दुःखलाई सम्झेर रानाले अहिले स्वदेशमै प्राङ्गारिक खेती गरिरहेका छन् । विदेशमा दैनिक १२ घन्टा काम गर्दा बल्ल बल्ल मासिक रु २५ हजार मात्र कमाउने उनी आफ्नो घर परिवार चलाउनसमेत गाह्रो भएको थियो भने अहिले स्वदेशमै प्राङ्गारिकखेती गरेपछि आफ्ना घर परिवारसँगै बसी छ जनाको परिवार सजिलै पाल्दै आएका छन् । हुन त उनी जस्तै धेरै विदेशबाट फर्केका युवाहरु स्वदेशमा नै कृषिमा काम गरिरहेका छन् । कसैले तरकारी खेती त कसैले गाई, बाख्रा तथा बंगुर पालन गरेर आफूलाई स्वदेशमा नै सुखी बनाईरहेका छन् । अझ पछिल्लो समयमा बढ्दैगईरहेका प्रांगारिक खेतीले त झनै विदेशबाट फर्केकाहरुलाई आकर्षण नै गरेका छ । जसरी विकास राना मगर आकर्षित बनिरहेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ ६, २०७२