आइतवार, फाल्गुन २०, २०८०

सवैभन्दा ठूलो समस्या भनेको वैज्ञानिक जनशक्तिको हो

yamarj pandey

वाई आर पाण्डे
कार्यकारी निर्देशक
नेपाल कृषि अनुसन्धान परिषद्

० नेपाल कृषि अनुसन्धान परिषद्ले कस्ता बालीहरु अनुसन्धान गरिरहेको छ ?
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले व्यवसायिक कृषि भन्दा पनि बेमौसमी तरकारी खेती, पशुपालन यसमा विशेष गरी गाईपालन, बाख्रा, कुखुरापालनमा बढि लागिरहेका छन् । यो व्यवसाय अगाडि बढाउनको लागि प्रविधि विकास गरी किसानलाई उपलब्ध गराउनको लागि विशेष गरी तरकारीमा बढी हाईव्रिड लगाउने भएकोले हाइव्रिड जातहरु निकाल्नमा हामी लागेका छौं । अव तत्कालै नार्कबाट गोलभेंडाको जातहरु निस्कन्छ । श्रृजना हामीले निकाल्यौं सृजना भन्दा पछि अव २ ३ वटा जातहरु निकाल्दै छौं । यो गोलभेंडा सृजना भन्दा बढी फल्ने र रोग नलाग्ने किसिमको र उपभोक्ताको स्वादलाई उपयुक्त हुने किसिमको छ ।र अन्नवालीको रुपमा हाइव्रिड जातहरु विशेष गरी मकैमा राम्रो जातहरु आईरहेको छ । त्यो पनि निकाल्दै छौं । त्यस्तै गरी अहिले भर्खर धानको जात पनि उन्मोचन गरेका छौ त्यसमा मसिनो धान पनि छ । त्यस्तै पशुपालनमा विशेष गरी बयर जातका बाख्रा हामीले विदेशबाट ल्यायौं । त्यसलाई क्रस व्रिडिङ्ग गरेर क्रस निकाली राखेका छौं तयो किसानलाई वितरण गर्ने
० हाईव्रिड जातको सृजना जातको गोलभेंडाको कुरा गर्नु भो यसको उत्पादन कमी हुन थाल्यो भन्छन् नि ?
हामीले के बुझ्नु पर्ने हुन्छ भने एउटा मात्रै हाईव्रिडले सँधैभरी उत्पादन दिँदैन । त्यसले केही बर्ष राम्रो उत्पादन दिन्छ र त्यसपछि विस्तारै कम हुँदै जान्छ । प्रकृतिमा हरेक चीजले बाँच्ने कुरा खोजिरहेका हुन्छन् । यिनीहरुले पनि आफू बाँच्नकोलागि खोजिरहेका हुन्छन् यसले गर्दा नै नयाँ नयाँ जातहरु निस्कने र पुराना जातहरु विस्तारै कम हुँदै जाने हो । सृजना जात धेरै लामो समयसम्म चल्यो । यो जातमा पनि अव विस्तारै उत्पादकत्व कम हुँदै जाने हुन्छ । त्यसैले पनि नयाँ नयाँ निकाल्दै जाने हो । ताकी हामीले रोग किराहरुलाई छल्ने र उत्पादन पनि बढाउने हो । यो प्राकृतिक प्रक्रिया हो । अव भने गोलभेंडाका जात रोग कीराहरु कम लाग्ने निकाल्ने प्रयासमा छौं ।
० अहिले व्यवसायिक कृषिका लागि बढी अनुसन्धान गर्न थालेका छौं अर्कोतिर खाद्य संकटको कुरा उठिरहेको छ । खाद्य संकट र कृषिमा व्यवसायिकरण कसरी तालमेल मिलाउन सकिएला अनुसन्धानमा ?
यसको यथार्थ भूमिका हाम्रो मात्र हो भन्न हुँदैन । अहिले बर्षा नभएका कारण ७३ प्रतिशत मात्र धान खेती भएको छ । हाम्रो मुख्य खाद्यान्न बाली नै धान हो । धान नभए केही नभएको जस्तो हुन्छ । सिंचाई सुविधा भईदिएको भए खडेरीले पनि खासै असर गर्दैनथ्यो । सिंचाईमा जोड दिनका लागि सिंचाई हामीसँग छैन जुन मन्त्रालयभन्दा बाहिरको कुरा हो । महत्वपूर्ण कुरा के हो भने अहिले भर्खरै हामीले मसिनो जातको धान र खस्रो धान पनि सार्वजनिक गरेका छौं । जसको उत्पादकत्व बढि छ । अहिले करीव १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुन्छ । एक हेक्टरमा आधा टनमात्र उत्पादन बृद्धि गर्न सक्यौं भने हामी निर्यात गर्ने अवस्थामा पुग्छौं । त्यसका लागि सवैभन्दा महत्वपूर्ण सिंचाई नै भएकाले सिंचाईमा लगानी बढाउन आग्रह पनि गरिरहेका छौं । मल, बीउ सवै छ सिंचाई भयो भने उत्पादकत्व बढाउन सकिन्छ । त्यसले खाद्य संकटको कुरालाई सम्वोधन गर्दछ ।
० सिंचाई नभएका कारण उत्पादकत्व बृद्धि हुन सकेको छैनौ । सिंचाईको अधिकार कृषि मन्त्रालयमा पनि छैन तर, सिंचाईका लागि आएको रकम अन्तै खर्च हुन्छ भन्ने कुरा के हो त ?
हो त्यो सवैले देखिरहेकै कुरा हो । जहाँ करोडौं रुपैयाँ खर्च गरेर सिंचाई आयोजना बन्छ ती खेतहरु पछि घडेरीमा परिणत हुन्छ । सिचाईका अधिकारहरु कृषि मन्त्रालयभित्रै आउनु पर्दछ भन्ने कुरामा सरकारले जोड दिनु पर्दछ । सिंचाई मन्त्रालय र कृषि विकास मन्त्रालयको समन्वय नभएकै कारण पनि यो समस्या आएको छ । अर्को कुरा सिंचाईलाई मात्र दोष दिएर पनि हुँदैन किसानहरुलाइ बाली उत्पादन बृद्धि गर्नका लागि आवश्यक मलखाद तथा खाद्य तत्व दिनु पर्ने कुराहरु चेतना अभिबृद्धि गर्न सकेका छैनौं ।
० दुई मन्त्रालयको समन्वय अभाव हुँदा पनि उत्पादन त गर्नु प¥यो ? तपाईहरुको भूमिका के हुन्छ त ?
हामीले गर्न सक्ने भनेको पानी नभएको बेलामा पनि लगाउन सकिने उत्पादन हुन सक्ने जातहरुको विकास गर्ने हो । भर्खरै मात्र हामीले सुख्खा जातको धानको विकास गरेका छौं । अर्को जहाँ पानी जमिरहन्छ त्यस्तो ठाउँमा पनि धान नमर्ने जातको विकास गरेका छौं । सुख्खा धान १देखि ६ सम्मका मसिनो, खस्रो मोटो किसानस्तरमा पुगेको छ । अहिले भूकम्प प्रभावित क्षेत्रमा पनि लगाएका छौं । पहाडको टारबेशीमा हुने खालको जात पनि विकास गरिसकेका छौं ।
० कृषि अनुसन्धानका लागि भएको एउटै मात्र संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ कसरी उदेश्य प्राप्ति होला त ?
सवैभन्दा ठूलो समस्या भनेको वैज्ञानिक जनशक्तिको हो । हाम्रो सिस्टममा आएर काम गर्ने बैज्ञानिक नै छैनन् । सरकारी समय अनुसार जागिर खाएर कृषि अनुसन्धान हुनेवाला छैन । हामी कहाँ जुन सरकारी सिष्टम छ त्यसरी कुनै पनि बैज्ञानिक बस्न संसारमा सम्भव छैन । त्यसकारण जागिरे(१०–५) समय लाई कसरी मिलाउने भन्ने विषयमा मन्त्रालयसँग समन्वय गरिरहेका छौं ।
० त्यसो भए हामीसँग अनुसन्धानकर्ताहरुको कमी छ ?
हो अत्यन्तै न्यून छन् । बैज्ञानिकलाई जागिरे बनाएर हुँदै हुँदैन । बिहान, बेलुका रातीसम्म बसेर काम गर्नु पर्ने हुन्छ । अव तरकारीको प्रजनन गर्नु प¥यो भने विहान ८ बजे मात्र प्रजनन् हुन्छ दश बजे आएर त काम भएन । यस्ता कुराहरुले समस्या पारेको छ ।
० अनुसन्धान कार्यलाई प्रशासनिक कामसँग जोडिदिएकाले समस्या आएको भन्दा मिल्छ ?
हो । त्यसैले पनि अनुसन्धानमा जति विकास हुनु पर्ने थियो त्यो हुन सकेको छैन । अधिकांश व्यक्तिहरु जागिर खाने र रिटायर्ड भएपनि एनजिओ आइएनजिओतिर जाने गरेका छन् । तर हाम्रा राम्रा राम्रा बैज्ञानिकहरु विदेशीएका छन् ।
० नेपाली वैज्ञानिकहरुले उत्पादन गरेका बीउहरु नै हामीले विदेशबाट खरिद गरेर ल्याईरहेका छौ त्यस्ता वैज्ञानिकहरुलाई किन प्रयोग गर्न सकेनौ ?
हाम्रा नेपाली बैज्ञानिकहरु धेरे नै क्षमतावान् छन् । विदेशमा सजिलै विक्छने तर उनीहरुसँग भएको क्षमता नेपालमा देखाउ नसक्ने अवस्था छ जसले गर्दा उनीहरु वाध्य भएर विदेशिएका छन् । १० जना खरिदार सुब्वाको जागिर माग गर्दा यहाँ हजारौको निवेदन पर्दछ तर त्यही १० जना बैज्ञानिकको माग गर्ने हो भने ५ जनाको पनि निवेदन पर्दैन यसले गर्दा पनि स्पष्ट छ । हाम्रा भएका क्षमतावान् वैज्ञानिकहरु सवै विदेशिएका छन् भन्ने कुरा । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, भदौ ६, २०७२