मङ्लबार, बैशाख ४, २०८१

किसानलाई गिज्याउँदै पाँचतारे होटलमा कार्यक्रम : कृषि सचिव

news

काठमाडौं,६ भाद्र । कृषि क्षेत्रको विकास तथा किसानहरुको जिविकोपार्जनका लागि दातृ निकायहरुले प्रदान गर्ने गरेको रकम पाँच तारे होटलकै कार्यक्रमा खर्च हुने गरेको छ । त्योसँगै  दातृ निकायहरुले विज्ञका रुपमा विदेशबाट नै झिकाईएका कर्मचारीहरुको तलव भक्तामा नै बजेटको आधाभन्दा बढी खर्च हुने चर्चा पनि बेला बेलामा चल्ने गर्दछ ।
कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले किसानको जिविकोपार्जनका लागि आएको रकम  पाँच तारे होटलमा कार्यक्रम गरेर किसानहरुलाई गिज्याईरहेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् । काठमाडौंको एक पाँच तारे होटलमा  अमेरिकी सहयोग नियोग युएसएआईडिको सहयोगमा हेफर इन्टरनेशनल नेपालले नेपालका भूकम्प प्रभावित पाँच जिल्लाका ९० गाविसमा पशु सेवा प्रणाली पुनस्थापनाका लागि सञ्चालन गर्न लागिएको हिल नेपाल परियोजनाको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।  कृषि क्षेत्रमा काम गर्ने अधिकांश आयोजनाहरुले कार्यक्रम बनाउँदा मन्त्रालयको अनुसार बनाएको जस्तो देखाउने र कार्यान्वयन गर्दा मन्त्रालयले दिएको मापदण्ड विपरित हुने गरेको आरोप लगाउँदै हिल नेपाल आयोजना कृषि विकास मन्त्रालयले तोकेको मापदण्ड अनुरुप नै सञ्चालन हुनेमा आफू विश्वस्त रहेको बताए । हेफर नेपालद्धारा विनासकारी भूकम्प प्रभावित सिन्धुपाल्चोक, गोरखा, काभ्रे, नुवाकोट र धादिङ जिल्लाका ९० गाविसमा सञ्चालन गर्न लागिएको हिल नेपाल आयोजनाले भूकम्प प्रभावित किसानकै जिवीकोपार्जनका लागि मद्दत गरी नमूना काम गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय योजना आयोगका  सदस्य डा. भारतेन्दु मिश्रले पशु क्षेत्रको विकासका लागि जनशक्ति अभाव रहेको भन्दै पैसा दिएर मात्र किसानको सेवा नहुने भन्दै किसानका लागि दक्ष जनशक्ति सहितको सेवा पु¥याउनु पर्नेमा जोड दिएका थिए । नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने जनशक्तिको अभाव भएको मुलुकमा तीन महिनाको आयोजनाले किसानहरुमा परिवर्तन ल्याउन नसक्ने बताएका थिए ।
कार्यक्रम आयोजनाको साझेदारी संस्थाको रुपमा रहेको पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद
प्रेमीले यो आयोजनाको  अभिभावकत्व विभागले बोकेको बताए । उनले ९० गाविसका लागि करीव ९ करोड बजेट थोरै नभएको उल्लेख गर्दै किसानहरुको आवश्यकता अनुसार गोठ निर्माण गर्दा विभागले तयार गरेको मापदण्ड र सेट निर्माण डिजाइनलाई मध्यनजर गर्दै काम गर्नु पर्नेमा जोड दिएका थिए । साथै महानिर्देशक प्रेमीले भूकम्प पछाडि पशु सेवा तर्फ किसानहरुलाई राहत दिने आयोजना  हेफर नै भएको समेत बताए । सोही समारोहमा उनले सरकारी कार्यालय सहकार्य नगरी कुनै पनि संघसंस्थाले कृषि क्षेत्रको
काम गर्न नहुने बताएका छन् । भूकम्प पीडित किसानहरुका लागि गोठ निर्माण, पशु सम्वन्धि सामग्री सेवा, गोरु र प्रजनन्का लागि राँगो र साँढे उपलब्ध गराउने उदेश्य सो परियोजनाले लिएको भएपनि पछिल्लो समयमा आयोजना लागू हुन लागेका पाँच जिल्लामा दूध उत्पादन २० प्रतिशतले घटेको, पशुबस्तुहरु दुब्लाउँदै गएकोले त्यस तर्फ बढी ध्यान दिनु पर्ने विज्ञहरुले सुझाव समेत दिएका थिए ।
परियोजना शुभारम्भ कार्यक्रममा वक्ताहरुले सरकारले भूकम्पको बढी प्रभावित जिल्लाहरुमा बस्ती नै सार्न खोजिरहेकाले यो परियोजना त्यस तर्फ केन्द्रित हुनु पर्ने औंल्याउँदै बस्ती सरेसँगै पशुहरुका लागि चरन, गोठ तथा पशु स्वास्थ्योपचारका लागि कति सहज हुन सक्ला भन्ने विषयमा प्रश्न उठाएका थिए । हेफर नेपालले भने सो परियोजनाबाट पाँच जिल्लाका सवैभन्दा बढी प्रभावित ९० गाविसहरुमा काम गर्ने, सो क्षेत्रमा पशु सेवा प्रणालीको विस्तार र मूल्वान् पशुधनको सुरक्षा गरी ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलाप र बजारीकरणमा  शक्तिकरण गर्ने उदेश्य लिएको बताएको छ । साथै १२ हजार साना किसान परिवारहरुको पहुँच पुर्नस्थापित पशु सेवा प्रणालीसम्म पु¥याउन सहयोग गर्ने दाना, घाँस रोपाई र बी संकलन, प्रशोधन तथा छनौट सम्वन्धि तालिम दिने समेत जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ६, २०७२