शुक्रबार, चैत्र १६, २०८०

कालिकोटमा पस्टाउँदै सुन्तला खेती

कालिकोट,  २७ साउन । कालिकोट जिल्लाको सुकाटिया गाविसमा व्यावसायिक सुन्तला खेती पस्टाउँदै गएको छ । केही वर्षअघि स्थानीय कृषकले परीक्षणका रूपमा सुन्तलाका केही बिरुवा रोपेकोमा त्यो सफल भएपछि तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालले किसानलाई बिरुवा प्रदान गर्दै आएको छ । त्यसरी प्राप्त बिरुवाबाट मनग्य सुन्तला फल्न थालेपछि व्यावसायिक रूपमा सुन्तला खेती फस्टाउँदै गएको छ ।

कालिकोट जिल्लाका विभिन्न स्थानलाई विभिन्न खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले सुकाटिया गाविसमा सुन्तलाको राम्रो उत्पादन हुन थालेपछि यस गाविसलाई कालिकोट जिल्लाकै सुन्तलाको पकेट क्षेत्रका रूपमा लिएको छ ।
सुकाटिया गाविस–७ का मात्र डेड सयभन्दा बढी कृषकले सुन्तला खेती गर्दै आएका छन् । गाविसमा सामान्य कृषक समूहहरू गठन गरी त्यसैलाई जिल्ला कृषि विकास कार्यालयमा दर्ता गरी बिरुवाको माग गर्ने र सबै समूहका सदस्यहरूले खेती गर्ने गरेका छन् ।   पाँच वर्षयता सुन्तलाको व्यावसायिक खेती गर्दै आएका सुकाटिया–७ का स्थानीय कृषक रत्नप्रसाद आचार्यले विगतमा दुई बोरा गहुँ फल्ने खेतमा हाल सुन्तलाको व्यावसायिक खेती गरेर परिवारको खर्च चलाएर वार्षिक एक लाख ५० हजार रुपियाँ बचत गर्ने गरेको बताए । उनले तीन वर्षअघि फल्न थालेका २५० सुन्तलाका बोटबाट वार्षिक ४० क्विन्टलभन्दा बढी उत्पादन गरी दुई लाख पचास हजार रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेको बताए।
उहाँले विगत ६४ सालमा दर्ता गरेको एक कृषक समूहलाई हाल आएर मोडेल कृषि सहकारी संस्थाका रूपमा दर्ता गरी जिल्ला कृषि विकास कार्यालय मार्फत बिरुवाको माग गरी सहकारीका सबै सदस्यलाई सुन्तला खेतीमा अग्रसर गराए । उनको मात्र २५० फल्ने र एक हजार नफल्ने गरी एक हजार २५० बिरुवा भएको बगैँचा रहेको छ । -गोप

प्रकाशित मिति: बुधबार, साउन २७, २०७२