बिहिबार, बैशाख १३, २०८१

नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डको आधारमा कोलिफर्मलाई राखिनु पर्दछ 

sumed kedeia 1
सुमित केडिया
प्रवन्ध निर्देशक
सीताराम गोकुल मिल्कस्

० नेपाली दुग्ध उद्योगको अवस्था दयनीय छ भन्छन् नि ?
पहिले भन्दा अहिले दुग्ध उद्योग दयनीय होइन यसको विकास भएको छ । पहिले दूधमा धेरै समस्या थियो । अहिले सरकारको सकारात्मक पहलका कारण उत्पादनमा बृद्धि भएको छ । कुनै पनि दूध उद्योग दूध नभएसम्म नचल्ने भएको हुनाले दूध उत्पादन बृद्धि भएपछि दूध उद्योग फस्टाउँछ । अहिले नेपालमा दूध उत्पादन तीव्र गतिमा भएको छ । त्यसकारण पनि उद्योगहरु फस्टाउँदै गएको छ भन्नु पर्दछ ।
० त्यसो भए सवै उद्योगहरु सहज रुपमा सञ्चालन भएका छन् त ?
हो पछिल्लो समयमा उद्योगहरु सहज रुपमा सञ्चालन भईरहेका छन् । तर जुन किसिमले दूध उत्पादन बृद्धि भएको छ त्यही अनुपातमा हामीले उपभोक्तालाई दूध तथा दुग्ध पदार्थको उपभोग बढाउनका लागि चेतना अभिबृद्धि गर्न सकेका छैनौं । जुन हिसावले दुग्ध पदार्थहरुको उपभोग बढ्नु पर्ने थियो त्यो भएको छैन ।
० दूध उत्पादन बृद्धि भयो खपत भएन भन्न खोज्नु भएको हो ?
उत्पादन धेरै भयो भनेर पनि हामी भन्दैनौं । पहिला उत्पादन धेरै कम थियो तर अहिले जुन हिसावले उत्पादन बृद्धि भएको छ त्यो ठिक मात्रामा हामीलाई पुग्ने छ । तर अव हामीले दूधको उपभोग बढाउन सकेनौ भने आउँदा दिनहरुमा समस्या आउँछ कि जस्तो लाग्छ ।
० विनासकारी भूकम्प पश्चात दूधको उत्पादन घट्यो होला नि त ?
हो विनासकारी भूकम्पका कारण मुलुकको आर्थिक क्षेत्रलाई ठूलो समस्या ल्याएको छ । यो समस्याबाट दुग्ध क्षेत्र पनि अछुतो छैन । पशु सेवा विभागको तथ्यांकलाई हेर्ने हो भने पनि ४० हजार गाइभैसीहरुको मृत्यु भएको छ । यो हाम्रा लागि दूर्भाग्य हो । दूधको पकेट क्षेत्र भनिएकै ठाउँमा भूकम्पले प्रभावित बनाएको छ । यही हिसावले पनि थोरैमा दैनिक ५० हजार लिटर दूध घटेको अवस्था छ । त्या बेला केही गाह्रो पनि भएको थियो । तर अहिले दूधको उपभोगका हिसावले फेरि उही अवस्थामा आईसकेको छ ।
० दूध उत्पादन बृद्धि भयो त्यही भएर मिल्क होलिडेको कुरा उठिरहेको छ नि ?
मलाई के लाग्छ भने दूध के साँच्चि कै बढी भएको हो या होइन भन्ने तथ्यांक सार्वजनिक नभएको अवस्थामा यो कुरा आउनु हुँदैनथ्यो । जवसम्म हामी तथ्यांकमा आधारित भएर अगाडि बढ्न सक्दैनौ त्यो बेलासम्म अप्ठेरो अवस्था हुन सक्छ । हामीले कृषि विकास मन्त्रालयमा पनि मिल्क होलिडे कै चर्चाका कारण तथ्यांक ल्याउनु पर्दछ भन्ने कुरा उठाएका छौं । दुध उत्पादनको तथ्यांक आईसकेपछि यदि बढी नै हो भने राज्यले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा बाटो निकाल्न सक्छ । नत्र दुध बढी भयो भन्ने हल्ला फिंजाएर गतल सन्देश दिने हो भने दूध उत्पादनका लागि गरिएको लगानीमा पनि असर पर्न सक्छ । मिल्क होलिडेको कुरा गर्नु भनेको दूध उत्पादनमा बढिरहेको आकर्षणलाई घटाउनु हो जस्तो लाग्छ ।
० नेपालका लागि आवश्यक दूध कति हो भन्ने कुरा राज्यले तथ्यांक सार्वजनिक गर्नु प¥यो ?
हो, अहिलेसम्म दूध उत्पादन बढाउनका लागि राज्यले अनुदान दिईरहेको अवस्था छ । पछिल्लो समयमा दूध उत्पादन गर्ने व्यवसायी पनि बढ्दै गईरहेका छन् । उद्योगहरु पनि फस्टाउँदै गईरहेको छ । यो अवस्थामा राज्यले जति सक्दो चाँडो तथ्यांक बाहिर ल्याउनु पर्दछ । यो ल्याउनका लागि ठूलो समस्या छ जस्तो मलाई लाग्दैन । विगतमा तथ्यांकका लागि हामीले पनि सहयोग गरेका थियौं किन अहिलेसम्म आउन सकेन भन्न सकिएको छैनौं ।
० दुग्ध उद्योगहरुको पनि संगठन छ तपाईहरुले पनि त गर्न सक्नु हुन्थ्यो होला नि किन नगरको ?
नेपालमा अहिले दुग्ध उद्योगका दुई संस्था छन् त्यस मध्ये एउटा संस्थाको अध्यक्ष म पनि हुँ । एउटा संस्था मात्र अघि सरेर यो आउन सक्दैन । सहि तथ्यांकका लागि राज्य नै अघि सर्नु पर्दछ जस्तो मलाई लाग्छ । त्यसका लागि हामीले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छौं सहयोगी बन्न सक्छौं । सरकारले यो कुरामा अघि बढ्ने हो भने हामी सहयोग गर्न तयार छौं ।
० अहिले भारतबाट प्रशस्त मात्रामा घिउ आयात भईरहेको छ भन्ने सुनिन्छ नि, हामीसँग घिउ छैन ?
हो पहिले दूध आयात हुन्थ्यो त्यो अहिले छैन । तर घिउको ठूलो समस्या हामीलाई आईपरेको छ । नेपाली दुग्ध उद्योगीहरुले उत्पादन गरेको ढेड अर्वको घिउ अहिले थन्किएर बसेको छ । आउँदो एक महिना पछाडि दूध उत्पादन बढ्ने सिजन हुन्छ । त्यसलाई हामीले फ्लस सिजन भन्ने गर्दछौं । त्यसबेला दूधसँगै घिउको उत्पादन पनि बढ्ने गर्दछ  । अहिले दुग्ध उद्योगहरुले उत्पादन गरेको घिउ श्रावण महिना भित्र वा केही साताभित्र विक्री गर्न सकेनौं भने त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । यो विषयमा हामीले सरोकार राख्ने सवै निकायमा अनुरोध पनि गरिसकेका छौं । अहिलेसम्म ठोस निर्णय आएको छैन । यसका लागि हामीले उपाय पनि दिएका छौं । राज्यले आयातित घिउलाई १५ देखि २० प्रतिशतसम्म त्यसको मूल्य बृद्धि हुने अवस्था सृजना गरिदिने हो भने नेपाली घिउको भन्दा त्यसको मूल्य बढी हुन्छ जसका कारण आन्तरिक उत्पादन कै खपत बढ्छ । र दूध जति नै उत्पादन भएपनि समस्या पर्दैन ।
० यसको मतलव भारतीय घिउ सस्तो भईदिनाले नेपाली उद्योगलाई समस्या परेको छ ?
हो यसले गर्दा ठूलो समस्या परेको छ । हेर्दा घिउ मात्र देखिन्छ तर, घिउकै कारण सम्पूर्ण दूध क्षेत्र मै उथलपुथल आउन सक्ने सम्भावना हामीले देखिरहेका छौं । किनकी घिउ भनेको दूधसँग जोडिएर आउने कुरा हो । दूधलाई छुट्टै र घिउलाई छुट्टै हेर्न सकिँदैन । यो कुरालाई जति सक्दो चाँडो समाधान गर्न तर्फ लाग्नु पर्दछ ।
० सरकारले दूधमा आत्मनिर्भर बनाउने भनेर भनिरहेको छ । उद्योगीहरुको कुरा सुन्ने हो भने दूधमा करीव आत्मनिर्भर नै देखिन्छ त ?
सहि कुरा गर्नु भो पछिल्ला बर्षहरुमा नेपालमा दूध आयात गर्नु परेको छैन । त्यस हिसावले हामी आत्मनिर्भर नै छौैं भन्दा केही फरक पर्दन् । सरकारले दूध उत्पादन बृद्धि गर्नका लागि किसानहरुलाई अनुदान दिने देखि पशुपालनमा आकर्षण गर्ने काम पनि गरेको छ । विदेशबाट फर्केका युवाहरुको लगानी पनि यसमा नै थपिएको छ । यसले धेरै नै प्रभावकारी भएको छ हामी आत्मनिर्भर छौं ।
० तर दूध उत्पादन गर्ने किसान उचित मूल्य पाउँदैनन् उद्योगीहरु मात्र मोटाए भन्छन् त ?
यसमा सत्यता छैन किन भने विगत दशबर्षदेखि मूल्य बृद्धिको अवस्थामा मूल्य बृद्धिको ६९ प्रतिशत किसानको र त्यसको ३१ प्रतिशतमात्र उद्योगले पाउने गर्दछन् । जसरी किसानहरुको दूध उत्पादनमा लागत बढ्दै गईरहेको छ त्यसैगरी उद्योगीहरुको पनि लागत बढ्दै गएको छ । उद्योगीहरुमात्र मोटाए भन्ने कुरा सरासर गतल नै छ ।
० दूधमा बेला बेलामा कोलिफर्मको चर्चा हुन्छ अनि फेरि सेलाउँछ दूधमा अझै पनि कोलिफार्म छ होइन ?
यहाँको पत्रिका मार्फत के जानकारी गराउँ भने कोलिफार्म भनेको दुई प्रकारको हुन्छ  । एउटा फिकल अर्को ननफिकल । हामीले अध्ययन गर्दाखेरी कोलिफर्म हाम्रो मुलुकमा मात्र होइन कुनै पनि मुलुकमा शुन्यमा झार्न सकिँदैन । कोलिफर्मलाई शुन्य पाँच दिन वा दश दिन ल्याउन सकिएला तर बर्षदिन नै ल्याउन सकिँदैन । विकसित मुलुकका सरकारले पनि ०देखि १० प्रतिशतको कोलिफर्मर्ला लचकताको आधारमा राखेको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डको आधारमा कोलिफर्मलाई राखिनु पर्दछ । – – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, साउन २४, २०७२