बिहिबार, बैशाख १३, २०८१

झापाका पशुपालक किसानलाई एक करोड अनुदान

झापा, २३ श्रावण । बढ्दै गईरहेको पशुपालन व्यवसाय पूर्वाञ्चलको झापामा पनि फस्टाउँदै गएको छ । सरकारले किसानको आयआर्जनमा वृद्धि गर्नका लागि व्यवसायिक पशुपालन लाग्नेहरुलाईसरकारी अनुदान रकम समेत उपलब्ध गराउन थालेसँगै झापामा पनि पशुपालन व्यवसाय फस्टाउँदै गएको हो ।
जिल्ला पशु विकास कार्यालय झापाका अनुसार जिल्लामा व्यावसायिक गाई पाल्ने किसानको सङ्ख्या बढिरहेको छ । झापामा ६२ वटा व्यवसायिक फार्म सञ्चालन गरेर गाईपालन गरिएको छ ।
जिल्लामा व्यावसायिक गाईपालन गर्ने फार्म कमैले मात्र दर्ता गराए पनि यहाँका किसानले यस आवमा दुई लाख ५२ हजार २४८ वटा गाई पालेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आव झापामा दुई लाख ४२ हजार ४८ वटा गाई पालिएको थियो ।
सरकारले झापाका पशुपालक किसानका लागि आव ०७१÷७२ मा रु एक करोड अनुदान रकम उपलब्ध गराएको बताइएको छ । यो रकम नियमित कार्यक्रम अन्तर्गतको बजेट भएको जिल्ला पशु विकास अधिकृत विनय श्रेष्ठले बताए ।
उनका अनुसार आव ०७१÷७२ मा युवा लक्षित कार्यक्रमअन्तर्गत रु ३८ लाख, पशु आहार राष्ट्रिय अभियानमार्फत रु चार लाख, मासु पसल सुधारका लागि रु पाँच लाख, डेरी पसल सुधारका लागि रु पाँच लाख किसानलाई अनुदान दिइएको छ । त्यस्तै चारवटा व्यावसायिक पशुपालन फर्मका लागि रु १०÷१० लाख अनुदान दिइएको बताइएको छ ।
झापामा आव ०७१÷७२ मा १० वटा बङ्गुर फार्म थपिएका छन् भने व्यावसायिक उद्यमका रूपमा बाख्रापालनका लागि आठवटा फार्म स्थापना भएको जिल्ला पशु विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७२