शुक्रबार, चैत्र १६, २०८०

स्याउ नटिप्न कृषि कार्यालयको आग्रह

जुम्ला,१५ श्रावण । स्याउको टिप्ने सिजन नभएसम्म अर्थात भदौको पहिलो हप्तासम्ममा स्याउ नटिप्न जुम्लाका स्याउ किसानहरुलाई जिल्ला कृषि बिकास कार्यालय जुम्लाले आग्रह गरेको छ । यो समयमा स्याउको रस नभरिएको अर्थात गुलियोपना नबढेकाले स्याउ टिपेर निर्यात नर्गन कृषकहरुलाई आफुहरुले अनुरोध गरिरहेको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका निमित्त बरिष्ठ कृषि बिकास अधिकृत बिष्णुबहादुर महतले बताए । apple
सामान्यतया ११ देखी १४ डिग्री सेल्सियस गुलियो भईसकेपछि मात्र स्याउ टिप्नको लागि परिपक्व भयो भन्ने बुझ्नुपर्दछ । यो समयमा टिपेको स्याउको स्वाद धेरै नहुने र यसबाट क्षणिक रुपमा मात्र आम्दानी लिन सकिने भएको हुनाले यस्तो किसिमको स्याउ नटिप्न अनुरोध गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाले जनाएको हो । यता जिल्ला कृषि बिकास कार्यालय जुम्लाले यो बर्षबाट स्याउ निर्यात गर्नेहरुका लागि स्याउ निर्यात सिफारिसको व्यवस्था गरेको पनि जनाएको छ । जिल्लामा उत्पादन भएको स्याउ केही व्यापारीहरुबाट श्रावणको दोस्रो हप्तामै स्याउ बिक्रीका लागि जिल्ला बाहिर लैजान लागेकोले स्याउ परिपक्व र राम्रो पाक्न नपाउने टिपेर विक्री गर्दा गुणस्तर राम्रो नभई जिल्लाको पहिचानमा नकरात्मक असर पर्ने भएकोले स्याउको निर्यात रोकिएको र सिफारिसको व्यवस्था गरिएको कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए । बाहिर स्याउ निर्यातको लागि सिफारिस पत्रको व्यवस्था गरिएको र कर्णाली राजमार्गका प्रहरी चौकीहरुमा सिफारिस बिनाको स्याउ निर्यात गर्न नदिन आग्रह पनि गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाले जनाएको छ । – श्याम विसी 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७२