शनिबार, बैशाख ८, २०८१

मोवाईलमा कृषि सूचना किसान दङ्ग

काठमाडौं । खेतमा लगाएको बाली उठाउन नपाउँदै वर्षाद्ले सखाप पारेका किसानलाई सरकारले एसएमएस सेवाबाट सघाउन थालेको छ । किसानको मोबाइलमा पानी पर्ने वेला भएको सन्देश दिएर बाली उठाउन सचेत गर्न थालिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।kisan-660x330
यति मात्रै होइन, किसानलाई बाली लगाउने समय, रोग, मल, बीउ, मौसमलगायतबारे एसएमएसबाट अग्रिम जानकारी दिन थालिएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिए । यसका लागि ‘कृषि इन्फो’ नामबाट सन्देश पठाउन थालिएको छ । किसानले बुझ्ने गरी नेपाली भाषामा सन्देश पठाउने गरेको ठाकुरले बताए ।
मन्त्रालय मातहतको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले कृषि व्यवस्थापन सूचना प्रणालीमार्फत सेवा सञ्चालन गरेको हो । आयोजनाका सञ्चार व्यवस्थापक चिरञ्जीवी रिजालले हाल देशैभरका किसानको मोबाइल नम्बर स्थानीय कृषि सेवा केन्द्रबाट संकलन गरिरहेको बताए ।
‘कृषि सेवा केन्द्रलगायत अन्य माध्यमबाट किसानको मोबाइल नम्बर संकलन गर्ने काम भइरहेको छ,’ रिजालले भने, ‘त्यसपछि किसानलाई आवश्यकताअनुसारको सन्देश (एसएमएस) पठाउनेछौँ ।’
धेरै किसानलाई समेट्न मन्त्रालयले प्रत्येक कृषि सेवा केन्द्रलाई दुईदेखि पाँच हजार किसानको मोबाइल नम्बर संकलन गरेर पठाउन निर्देशन दिइरहेको छ ।
एसएमएसबाट प्रत्येक जिल्लामा लाग्ने फरक बालीबारे किसानलाई जानकारी दिने उनले बताए । ‘प्रत्येक जिल्लाअनुसार किसानको तथ्यांक राखिरहेका छौँ,’ उनले भने, ‘त्यसपछि जिल्लामा लाग्ने बालीबारे जानकारी दिन्छौँ ।’ कुन क्षेत्रमा कुन बाली लगाउने, बालीमा मल कति छर्ने, रोग, किराको संक्रमणबारे कसरी बचाउनेलगायतका सन्देश किसानको मोबाइलमा पठाउने व्यवस्था गरिएको उनले बताए ।
‘धनकुटाका किसानलाई पठाएको सूचना गुल्मीमा पठाउँदैनौँ, प्रत्येक जिल्लाका किसानलाई फरक–फरक सन्देश पठाउँछौँ,’ उनले भने, ‘प्रत्येक जिल्लामा फरक बाली उत्पादन हुने र उत्पादन विधि फरक हुने भएकाले सोहीअनुसारको सन्देश पनि फरक पठाउने गरेका छौँ ।’
तर, किसानले एसएमएसबाट आफ्नो जिज्ञासा राख्ने व्यवस्था छैन । प्रत्येक जिल्लामा पैसा नलाग्ने कल सेन्टर राख्न सुरु गरिएको र त्यहीँबाट जिज्ञासा मेटाउने व्यवस्था मिलाइएको छ । मौसमी र बेमौसमी बाली लगाउने समय भएपछि मन्त्रालय आफैँले उत्पादन राम्रो गर्न सकिनेबारे सन्देश पठाउने तथा विभिन्न सञ्चारमाध्यमबाट किसानका गुनासो संकलन गरी समाधानयुक्त सन्देश पठाउने व्यवस्था मिलाएको रिजालले बताए ।
सन्देश पठाउन सजिलो हुने गरी मन्त्रालयसँगको सहकार्यमा नेपाल टेलिकमले बेग्लै ‘किसान सिम’ जारी गर्ने तयारी गरिरहेको छ । टेलिकम प्रवक्ता प्रतिभा वैद्यले किसान सिम जारी गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् । ‘किसान सिम जारी गर्ने विषय प्रक्रियामा छ,’ उनले भनिन् ।
त्यसपछि किसानलाई बेग्लै किसान सिम नि:शुल्क उपलब्ध गराउने मन्त्रालयको तयारी छ । त्यस्तै, हाल सञ्चालनमै रहेको सिमलाई समेत किसान सिममा परिणत गर्न सकिने व्यवस्था पनि मिलाउन लागिएको मन्त्रालयले जनाएको छ ।
कृषि एप पनि
कृषि विकास मन्त्रालय मातहतको कृषि सूचना व्यवस्थापन प्रणालीले ‘हाम्रो कृषि’ एप सञ्चालनको तयारी थालेको छ । एपमा किसानले मौसमको जानकारी, कृषि र प्रविधि, कृषि कार्यालय सम्पर्क नम्बर, सफलताका कथालगायत जानकारी राखिने प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । त्यस्तै, खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहनलगायत सबै बालीका बारेमा प्रश्न–उत्तर शैलीमा जानकारी राखिएको पनि उनले बताए ।
विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायतामा निर्माण गरिएको एपबाट स्मार्टफोन भएका किसानले मात्रै सेवा लिन सक्नेछन् । एकपटक डाउनलोड गरेपछि एपबाट विनाइन्टरनेट पनि सेवा लिन सकिनेछ । ‘किसानले सधैँभर इन्टरनेट प्रयोग गर्न सक्दैनन्, त्यसैले इन्टरनेट भएका स्थानमा पुगेर एप एकपटक डाउनलोड गरेर राखेपछि विनाइन्टरनेट पुन: प्रयोग गर्न सकिने व्यवस्था मिलाएका छौँ,’ ठाकुरले भने । एपमा कृषि पेसासम्बन्धी पर्याप्त सैद्धान्तिक ज्ञान राखिएको उनले बताए । -अजित अधिकारी

प्रकाशित मिति: मङ्लबार, साउन ५, २०७२